सातौं चितवन अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु

0
Shares

सातौं चितवन अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा शुरू भएको छ ।

औद्योगिक प्रदर्शनीको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । समारोहमा मन्त्री रिजालले स्वदेशी लघु, घरेलु उद्योगलाई प्रवर्द्धनका लागि औद्योगिक प्रदर्शनी पनि महत्वपूर्ण माध्यम बनेको बताए। “यस्ता प्रदर्शनीले साँच्चै स्वदेशी उद्योगको प्रवर्द्धनमा टेवा पुग्छ” उनले भने, “प्रदर्शनीको माध्यमबाट उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्दछ ।”

औद्योगिक उत्पादनमा महत्वपूर्ण योगदान गर्ने प्रविधिहरुको अवलोकन गर्न विदेशी प्रदर्शनीमा जानुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उनले प्रदर्शनीका माध्यमबाट स्वदेशी र विदेशी उद्योगीहरुबीच प्रत्यक्ष भेटघाट तथा छलफल गरी औद्योगिक अनुभव तथा ज्ञान आदान प्रदानबाट लाभ लिन उद्योगीहरुलाई आग्रह गरे । मन्त्री रिजालले यस्ता प्रदर्शनीहरुको माध्यमबाट सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने बताए । प्रदर्शनीमा रहेका प्रविधिहरुको अनुशरण गरेर स्वदेशी उत्पादन वृद्धिका लागि उद्यमीलाई प्रेरणा दिने समेत बताए ।

प्रदर्शनी बारे जानकारी गराउँदै औद्योगिक प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले मागमा आएको उच्च संकुचनका बाबजुद आर्थिक गतिविधिलाई चलायमान बनाउने, उत्पादन बृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको बताए । प्रदर्शनीमा स्वदेशी सहित भारतका उद्योग तथा प्रविधिहरु रहेको उनले जानकारी गराए । उनले प्रदर्शनीमा स्वदेशी उद्योगीहरुलाई विभिन्न निकायको प्रवर्द्धन सहयोगमार्फत पूर्ण तथा आँशिक छुट सहितको स्टलहरु उपलब्ध गराईएको समेत बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा देखिएको संकुचनका कारण उद्यमशिलतामा सुस्तता छाएको वर्तमान अवस्थामा चितवन उद्योग संघले प्रदर्शनीको माध्यमबाट प्रेरणा जगाई अर्थतन्त्रलाई चलायमान बनाउने कोशिस स्वरुप प्रदर्शनीको आयोजना गरेकोमा प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरे । उनले अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्नुहुँदै निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न सरकारलाई आग्रह गरे । आगामी बजेट तथा मौद्रिक नीतिमार्फत निजी क्षेत्रको समस्या सम्बोधन हुने विश्वास आफुहरुको रहेको समेत उनले बताए।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अर्थतन्त्रमा सिथिलता छाई उद्यमशिलता नै पलायन हुन लागेको अवस्थामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीहरुलाई एउटै छानामुनी ल्याई आयोजना गरिएको यो प्रदर्शनीको माध्यमबाट उद्यमशिलतालाई जीवन्त राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले लाखौं रुपैयाँ खर्च गरेर प्रविधि अवलोकनको लागि विदेशीनु पर्ने अवस्थाको अन्त्य गर्नको लागि प्रदर्शनीको ठूलो योगदान रहेको समेत बताए।

प्रदर्शनीको दोश्रो दिन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट “वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर”का विषय र नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिने र गोष्ठी तथा सेमिनारमा औद्योगिक समस्या र समाधानका विषयमा केन्द्रीत भई सञ्चालन हुने हुँदा दिगो उद्यमशिलताको लागि सहयोगी हुने आयोजकको विश्वास छ ।

स्वदेशी लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको लागि आवश्यक मेशिन तथा प्रविधि र औद्योगिक उत्पादन एवं अन्य सेवामूलक समेत गरी ११० ओटा स्टल राखिएको छ । प्रदर्शनी बैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।