कित्ताकाट खुले अर्थतन्त्र चलायमान हुने, घरजग्गाको कारोबार २.१७ प्रतिशतले बढ्ने

0
Shares

सरकारले घरजग्गाको कारोबार बढाउन भन्दै जग्गाको कित्ताकाटलाई खुला गर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयले चालु आर्थिक वर्षमा घरजग्गाको कारोबार २.१७ प्रतिशतले बढ्ने अनुमान गरिएको हो ।

मन्त्रिपरिषदको बैंशाख ५ गते बसेको बैठकले घरजग्गाको कारोबारलाई गति दिन कित्ताकाटको व्यवस्था सहज बनाउँदै भु–उपयोग नियमावली २०७९ स्वीकृत गर्यो । तर, मन्त्रिपरिषदले स्वीकृत गरेको उक्त नियमावली उपर थप सुधार आवश्यक भन्दै मन्त्रिपरिषदको आर्थिक तथा पुर्वाधार समितिमा पठाइयो । त्यसले जग्गाको कित्ताकाट खुल्ने प्रक्रियालाई केही पर धकेलिएको छ । समितिको सुझाब अनुसार भुमि व्यवस्था मन्त्रालयले पुन मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्र जग्गाको कित्ताकाट तथा कारोबारमा सुधार आउनेछ ।

जग्गाको कित्ता नखुलेको अवस्थामा पनि गत आर्थिक वर्षमा भन्दा चालु आवको घरजग्गको कारोबारको वृद्धिदरमा सुधार आएको छ । गत आवमा करिब ठप्प जस्तै रहेको अवस्थामा घरजग्गाको कारोबार १.६३ प्रतिशतले बढेको थियो । त्यसैगरी अघिल्लो आवमा घरजग्गाको कारोबार २.७७ प्रतिशतले बढेको थियो ।

घरजग्गा कारोवारको सेवा अन्तर्गत मुख्यरूपमा जग्गा जमिनको खरिद बिक्री, जग्गा जमिन भाडामा लगाउने, अन्य घरजग्गा कारोवारका सेवा दिने तथा आफ्नै घरवाट उपलब्ध आवास सेवाहरू पर्दछन् । घर जग्गाको कारोवारमा मन्दी आएको भए तापनी निजी आवास तथा भाडाका क्रियाकलापहरुमा भएको बढ़ोत्तरीले गत वर्षको तुलनामा कारोबार बढेको हो ।

सम्पत्तिको मूल्यमा मात्र उच्च वृद्धि भएकाले आयात अस्वभाविक उच्च हुन गई अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब पर्न गयो । विदेशी विनिमय सञ्चिति पनि उच्च दरमा घट्न गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्नका लागि घरजग्गा र सेयर बजारको कारोबारमा केही कडाई गर्यो । त्यसले गर्दा पनि घरजग्गको कारोबारमा सुस्तता आएको थियो।

घरजग्गाको कारोबारमा करिब ठप्प जस्तै भएपछि त्यसको असर समग्र अर्थतन्त्रमा समेत देखिन थाल्यो । बैंक वित्तीय संस्थाबाट प्रबाह हुने अधिक कर्जा घरजग्गामा लगानी भयो । सरकारले जग्गाको कित्ताकाटका रोक्नुका साथै केन्द्रीय बैंकले पनि घरजग्गाको लगानीको जोखिम भारित १५० प्रतिशत कायम गर्यो।

त्यसैगरी व्यक्तिगत कर्जाहरुमा समेत कडाइ गरेपछि त्यसको असर घरजग्गा कारोबारमा पर्न गएको हो । घरजग्गाको कारोबार नहुने, कर्जाको ब्याज उच्च हुने तथा कर्जा चुक्ता गर्न समेत समस्या हुने अवस्थाले समग्र अर्थतन्त्रमा नै असर गरेपछि सरकारले कित्ता खुलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय पनि तत्काल कार्यान्वयन हुन नसक्दा घरजग्गाको कारोबारले गति लिन सकेको छैन।

राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार चालु आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा घरजग्गा कारोबारको योगदान ८.३७ प्रतिशत योगदान रहने अनुमान छ । त्यसैगरी चालु आवमा यस क्षेत्रको कारोबार पनि २.१७ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । आगामी दिनमा सरकारले कित्ताकाट खुलाएको खण्डमा घरजग्गाको कारोबार वृद्धि झनै बढ्ने निश्चित छ।

घरजग्गा, पुर्वाधार निर्माण तथा अटो व्यवसायमा आएको गिरावटले समग्र आर्थिक वृद्धि नै सुस्त हुन पुगेको छ । कार्यालयका अनुसार चालु आवको आर्थिक वृद्धि उपभोग मूल्यमा १.८६ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरेको छ । जग्गाको कित्ताकाट खुले हाल नकारात्मक हरेका क्षेत्रमा पनि सकारात्मक सुधार हुने उच्च सम्भाजना छ । त्यसले समग्र अर्थतन्त्रलाई गति प्रदान गर्दै आर्थिक वृद्धिमा समेत मद्दत पु्रयाउने घरजग्गा व्यवसायीहरु विश्वस्त छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।