अर्थतन्त्र मन्दीमा भएकाले लयमा फर्काउने गरी बजेट आउनुपर्छ: पूर्व अर्थमन्त्री पौडेल

0
Shares

पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र मन्दीमा गएको बताएका छन् । उनले गत आर्थिक वर्षका सुरुका २ त्रैमासको तुलनामा चालु आवको तिनै त्रैमासको कुल ग्राहस्थ उत्पादनको वृद्धि ऋणात्मक भएकाले अर्थतन्त्रमा मन्दी आएको बताएका हुन् ।

अर्थतन्त्र मन्दीमा हुँदा पनि सरकारले त्यसलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिएको पूर्व मन्त्री पौडेलको बुझाई छ । एक आर्थिक वर्षका एकपछि अर्को गरी दुई त्रैमासमा अघिल्लो वर्षका तिनै त्रैमासको तुलनामा निरन्तर कुल ग्राहस्थ उत्पादन ऋणात्मक भएको खण्डमा त्यसलाइ मन्दी भनिन्छ । सो अनुसार पौडेलले गरेको दाबी केही हदसम्म सही पनि देखिन्छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षका पहिलो र दोस्रो त्रैमासको कुल ग्राहस्थ उत्पादमा गत आवको पहिलो र दोस्रो त्रैमासको तुलनामा ऋणत्मक रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कुल ग्राहस्थ उत्पादन ०.४ प्रतिशतले ऋणात्मक रहेको तथ्य कार्यालयले दिएको पौडेलले बताए ।

त्यसैगरी उनले गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ०.७३ प्रीतशतले ऋणात्मक रहेको कार्यालयले जनाएको बताए । दुई त्रैमासमा कुल ग्राहस्थ उत्पादन निरन्तर ऋणात्मक भएकाले अर्थतन्त्र मन्दीमा रहेको पुष्टि हुने बताउँदै पौडेलले भने,“यो सच्चाइलाई आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकताले वेवास्ता गरेको छ ।”

सरकारले अर्थतन्त्र कहाँ नेर छ भनेर तथ्याङ्क बाहिर ल्याउनुपर्ने पौडेलको भनाई छ । सरकारले अहिलेको अर्थतन्त्रका चुनौतीहरुलाई के छन् भनेर टेबुलमा राख्न सक्नुपर्ने उनले बताए । सरकारले अर्थतन्त्रका तथ्याङ्कहरुलाइै केलाइ तथ्यले बोलेका कुरा स्वीकार गर्दै अघि बढ्न सक्नुपर्ने पौडेलले सुझाए ।

बजेटका सिद्धान्त र प्राथमिकता अध्ययन गर्दा अर्थतन्त्रका समस्या र चुनौती प्रति सरकार बेखबर रहेको उनको बुझाई छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको छ भन्ने तथ्य ल्याएको बताउँदै उनले भने,“अर्थतन्त्र मन्दीमा गएको छ भन्ने कुरा हामी ढाक्छौं कि स्वीकार गरेर थप बिग्रन नदिने र लयमा फर्काउने संकल्पका साथ अघि बढ्छ भन्ने हो ।”

अर्थतन्त्र मन्दीमा गएको स्वीकार गर्दै त्यसलाई सामना गर्ने अठोटका साथ बजेट प्रस्तुत हुनुपर्ने उनले सुझाए । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा ८ प्रतिशत आर्थिक वृद्धि दाबी गरिएको थियो । तर, राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वृद्धि २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ । “सरकारी निकायबाट हुने अनुमान कति हावादरी हुन्छ भन्ने कुराको यो एक नमुना हो,” उनले थपे ।

हाल कुल ग्राहस्थ उत्पादनको ६.४१ प्रतिशत मात्र बचत रहेको बताउँदै उनले भने,“कुल ग्राहस्थ उत्पादनको ९३.५९ प्रतिशत उपभोगमै सकिने गरेको छ । प्रतिव्यक्ति आय पनि १४ सय अमेरिकी डलरको हाराहारी छ । मूल्य वृद्धि ७.४४ प्रतिशत भन्दा बढी छ । निर्यात ३० प्रतिशतभन्दा धेरैले घटेको छ । यसल अर्थतन्त्रको अवस्था के भन्ने स्पष्ट हुन्छ ।”

लक्ष्यको तुलनामा ५० प्रतिशत मात्र राजस्व संकलन भएकाले निकै संवेदशील हुनुपर्ने अवस्था रहेको उनको भनाई छ । चालु आवको हालसम्म संकलन भएको राजस्व गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले थोरै छ । चालु आवको आजको मितिसम्मको राजस्व ७०८ अर्ब संकलन भएको छ । गत आवको सोही अवधिमा ८१७ अर्ब संकलन भएको थियो । चालु आवको राजस्व परिचालन गत वर्षको मात्र नभई अघिल्लो वर्षको भन्दा पनि थोरै छ । अर्थतन्त्रका सूचकहरुलाइ हेर्दा चौतर्फी रुपमा संकट उन्मूख रहेको उनको बुझाइ छ ।

चालु आवको हालसम्म भएको खर्च गत आवको सोही अवधिको तुलनामा भन्दा १९ प्रतिशतले धेरै छ । संघीय सञ्चित कोष २ सय अर्बले ऋणात्मक छ । पुँजी निर्माणसग सम्बन्धित वस्तुहरुको आयात समेत रोकेको कारणले गर्दा पैठारी घटेको उनको तर्क छ ।

निजी क्षेत्रमा प्रवाह भएको कर्जा ७६ प्रतिशतले घटेको छ । राजश्वले साधारण खर्च धान्न नसक्ने अवस्था छ । उत्पादन, रोजगारी माग आपूर्ति आयात निर्यात सबैतर्फ भारी मात्रामा गिरावट आएको हुनाले अर्थतन्त्र प्रति गम्भिर हुनुपर्ने उनको सुझाव छ ।

अर्थतन्त्रमा देखिएका समस्याहरुका कारण निजी क्षेत्र पनि निकै ठुले त्रासमा बाचीरहेको उनको भनाइ छ । लघुवित्त र सहकारी क्षेत्रमा देखिएका समस्या विकराल बनेका हुनाले अर्थतन्त्रमा थप चुनौती देखिएको उनको भनाई छ ।

त्यसैले आर्थिक मन्दीको अवस्थालाई सुधार नगरेमा आर्थिक संकट र असफल राष्ट्र तर्फ जाने जोखिम बढेको उनको भनाइ छ । बजेटका सिद्धान्त र प्रथामिकता पनि सोही अनुसार अर्थतन्त्र सामान्य अवस्थामा नभए अनुसार नै तोकिनुपर्ने उनको सुझाव छ । तर, सरकारले सो अनुसार स्वीकार नगरेको पौडेलले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।