विदेशी मुद्रा सञ्चिति बढाउने उदेश्यले मात्रै प्रत्यक्ष वैदेशिक लगानीलाई हेरिन नहुने: माउसली

0
Shares

नेपालले वैदेशिक लगानीकर्ताहरूलाई यहाँ आर्जन हुने सम्पत्तिमा अधिकार सुनिश्चित गर्नुपर्ने विश्व बैंकका निजी क्षेत्र सम्बन्धि विज्ञ पिटर माउसलीले बताएका छन् ।

लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा काठमाडौंमा सुरू भएको ‘नेपालका लागि वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३ को दास्रो सत्र अन्तरगतको छलफलमा उनले यस्तो धारणा राखेका हुन् । नेपालमा बाह्यबाट वित्तीय लगानी ल्याउन आवश्यक नीतिगत व्यवस्थामा स्पष्ट पार्दै माउसलीले यस्तो बताएका हुन् ।

उनले भारतमा भित्रिरहेको प्रत्यक्ष वैदेशीक लगानीमध्ये एकद्वार प्रणाली मार्फत् ९० प्रतिशत बराबर भित्रिरहेकोले नेपालमा समेत एकद्धार प्रणालीको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले अहिले पनि नेपालले भित्र्याइरहेको प्रत्यक्ष विदेशी लगानीको तुलनामा बैंक तथा वित्तीय संस्थाले भित्र्याइरहेको बाह्य ऋणको आधार दोब्बर भएको औंल्याएका छन् ।

विदेशी मुद्रा सञ्चिति बढाउने उदेश्यले मात्रै प्रत्यक्ष वैदेशीक लगानीलाई हेरिन नहुनेमा उनको जोड छ । यसले वैदेशिक प्रविधि र विकास समेत भित्र्याउने उनले बताए ।

कार्यक्रममा बोल्दै स्ट्याण्डर्ड चार्टर्ड बैंककी कार्यकारी निर्देशक सोभाना चाउलाले सन् २०२२ मा ऋणपत्र, सेयर लगायतका उपकारणबाट मात्रै दिगो वित्त लगानीको लागि विश्व बजारमा २० खर्ब डलर बराबर पुँजी उठेको बताए । नेपालले वैदेशीक लगानी वा मुलुकभित्रबाटै लगानीको जोहो गर्न पनि स्थानीय स्तरमा ऋणपत्र जारी गर्न पर्ने उनले बताए ।

नेपाल लगभग २०/२५ वर्ष अघिको भारतको अवस्थामै रहेको भन्दै उनले नेपालले अझै लगानी प्राथमिकताको क्षेत्र निर्धारण गर्नुपर्ने देखिएको औंल्याए । उनले वातावरणीय प्रभाव कम गर्ने भन्दा आफूलाई वातावरणमैत्री भन्दै बजारिकरण गरिरहेका संस्था (ग्रीन वासिङ गरिरहेका संस्था) बाट नेपाल बच्नुपर्ने पनि सुझाव दिएकी छिन् ।

वातावरणीय, सामाजिक र सुशासन (इएसजी) सम्बन्धमा यहाँका संस्थाहरूले सार्वजनिक जानकारीहरू प्रवाह गरिरहनु पर्नेमा समेत जोड दिइन् ।

कार्यक्रममा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले नेपाल समेत सन् २०२३ अन्त्यसम्ममा ग्रीन ट्याक्सोनोमीमा जाने बताएका छन् । ग्रीन ट्याक्सोनोमीले वातावरण, समाज र दिगो विकासका आधारमा भित्रने लगानीको औचित्य रहेनरहेको निर्धारण गर्छ । भट्टले राष्ट्र बैंकले केही समयअघि अन्तर्राष्ट्रिय बजारमा यहाँका बैंकहरूले पनि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको जानकारी गराए ।

त्यस्तै, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको ऋणपत्र बजार बिकासको लागि अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकसँग सहायता लिएर काम गरिरहेको जानकारी दिए । धितोपत्र बोर्डले हालै प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल जस्ता वित्तीय उपकरण बजार उपलब्ध हुने गरेर काम गरेको समेत बताए । परम्परागत बैंकिङ उपकरणहरूले यस्ता उपकरणहरूले जस्तो पुँजी संकलनको लागि अवसर नदिने समेत उनले दाबी गरे।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।