मौद्रिक समीक्षाले नसमेटेका माग बजेटले सम्बोधन गर्ने व्यवसायीको अपेक्षा, प्राधिकरणले अघोषित लोडसेडिङ्ग गरेको गुनासो

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी बजेट र मौद्रिक नीतिबाट व्यवसायीहरुले उठाएका अधिकांश एजेण्डा सम्बोधन गर्नुपर्ने माग गरेका छन ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) ले महासंघको ५७ औं वार्षिक साधारणसभाबाट निर्वाचित सम्पुर्ण कार्यकारिणी समिति सदश्यहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले महासंघले अर्थतन्त्रका विषयमा उठाएका मागलाई सरकार तथा नेपाल राष्ट्र बैंकले केहि मात्रामा संबोधन गरे पनि अझै महासंघका कैंयौं माग पुरा नगरेको गुनासो गरे ।

मौद्रिक नीति समिक्षाबाट महासंघका केहि मागहरु सम्बोधन भएको तर अब आगामी बजेटबाट आफुहरुका अधिकांश एजेण्डा सम्बोधन हुनेमा आशावादी रहेको उनको भनाई थियो ।अध्यक्ष ढकालले राष्ट्र बैंकले पुनरकर्जा तथा पुनर्तालिकिकरणका क्रममा एकै पटक कल व्याक नगर्न सुझाव दिए । 

सरकारलाई लगानीको वातावरण बनाउन महासंघले पहल गर्ने ढकालले जानकारी दिए । सरकार र व्यवसायीबिचमा हुँदै आएको आरोप–प्रत्यारोपलाई कमि गर्ने तर्फ महासंघ अगाडी बढ्ने अध्यक्ष ढकालको प्रतिवद्धता थियो । नेपालमा हरेक वर्ष ५ लाख जनशक्तिको तयार हुने तर ति सबै अदक्ष जनशक्ति भएकाले विदेशबाट दक्ष जनशक्ति ल्याउनु पर्ने अवस्था रहेको भन्दै ढकालले दक्ष जनशक्ति उत्पादनमा महासंघले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको ८० प्रतिशत योगदान रहेको भन्दै अध्यक्ष ढकालले करदातालाई सम्मान गर्ने वातावरण बनाउन महासंघले पहल गर्ने बताए ।

महासंघ र मिडिया सोसाइटीबिच सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । ढकालले आफु अध्यक्ष भए सँगै महासंघले ५ वटा मुद्दालाई अगाडी बढाइरहेको जानकारी दिए । अहिलेको आर्थिक मन्दिबाट कसरी बाहिर निष्किएर पुरानो लयमा फर्किने भनेर नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयसँग समन्वय गर्दै अगाडी बढ्ने कार्यदिशा रहेको उनले बताए ।

महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्ने अभियानमा आर्थिक मिडियाहरुले महासंघलाई साथ दिनुपर्ने बताए । आर्थिक मन्दीले चरम रुप लिएको भन्दै श्रेष्ठले नेपाल पनि श्रीलङ्काको लयमा गइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने ‘सरकारले ७ खर्ब राजस्व संकलन गर्दा ११ खर्ब रुपैयाँ खर्च भइसकेको छ । यहि अवस्था लामो समयसम्म रहिरह्यो भने नेपालले विदेशबाट ऋण ल्याएर कर्मचारीको तलब भत्ता खुवाउनु पर्छ । यहि हिसावमा अगाडी बढ्यो भने विदेशी ऋणको भार थपिदै जाने र श्रीलङ्का बन्न भर छैन ।’

पछिल्लो समयको आर्थिक मन्दीलाई लिएर नेपाल राष्ट्र बैंक मौद्रिक नीतिले कुनै सम्बोधन नगरेको आरोप पनि उनले लगाए । अर्थमन्त्रीले मौद्रिक नीति मार्फत व्यवसायीका समस्या समाधान हुने बताइरहँदा गभर्नरले त्यस्तो सम्भव छैन भन्दै जवाफ लगाउन थालेको प्रति पनि उनले दुःखेसो पोखे । उनले भने ‘औद्योगिक क्षेत्र, निर्माण क्षेत्र, व्यवसायिक क्षेत्र सबै ऋणात्मक रहेको भन्दै श्रेष्ठले नेपाल सरकार र राष्ट्र बैंकले मिलेर कर्जा पुनर्तालिकिकरण गर्नेदेखि लिएर देखिने गरि व्याजदर घटाउन पहल गर्नु पर्छ ।’

नेपालमा पूँजीको अभाव रहेको भन्दै श्रेष्ठले विदेशबाट पूँजी ल्याउन सरकारले पहल गर्नु पर्ने श्रेष्ठको सुझाव दिए । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको भन्दै छिटो भन्दा छिटो लोडसेडिङको घोषणा उनले अनुरोध पनि गरे ।

कार्यक्रमलाई संबोधन गर्दै जिल्ला नगर तर्फका उपाध्यक्ष सुरकृष्ण बैद्यले व्यवसायी र मिडिया मिलेर अगाडी बढेमा सरकार सँग लविङ गर्न सजिलो हुने बताए । अर्का बस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले मौद्रिक नीतिको समिक्षाले अहिलेको संकटपुर्ण अर्थतन्त्रलाई संबोधन गर्न नसकेको आरोप लगाए। उनले आगामी बजेटबाट निजी क्षेत्रका मागहरु सम्बोधन हुने अपेक्षा आफुहरुले गरेको पनि बताए।

एसोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले व्यवसायीहरु कठिन मोडमा उभिइरहेको भन्दै आगामी बजेट तथा मौद्रिक नीतिबाट निजी क्षेत्रले राहत पाउने अपेक्षा राखिन् । उनले वर्किङ क्यापिटलको २५ प्रतिशतको स्ल्याबले व्यवसायीहरुलाई ठुलो असर पुर्याएको भन्दै यसलाई तत्काल हटाउन सरकार समक्ष आग्रह गरिन् । महासंघका कोषाध्यक्ष निरक केसीले व्यवसायीहरु हतोत्साहित भएको भन्दै त्यसतर्फ सबैले सोच्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक सञ्चार माध्यमले व्यवसायीको आवाजलाई सरकार समक्ष पुर्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । व्यवसायीहरुलाई सञ्चार माध्यमबाट टाढिने भन्दा पनि सूचना उपलब्ध गराएर सहकार्य गर्न उनले अनुरोध गरे ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल(इम्शन)ले नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, पदाधिकारी र सम्पुर्ण कार्यकारिणी समिति सदश्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

इम्शनले राजधानीमा एक कार्यक्रमको आयोजना गरि महासंघको नयाँ नेतृत्वलाई सम्मान तथा बधाई ज्ञापन गर्दै सहकार्यका लागि आव्हान गरेको हो । इम्शन आर्थिक मिडियाका लगानीकर्ताहरुको साझा संस्था हो, जसमा २२ वटा आर्थिक मिडियाहरु सदस्य रहेका छन् ।

सम्मान तथा बधाई कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।