दश महिनामा करिब २ खर्ब लगानीका २४८ उद्योग दर्ता, वैशाखमा साढे ११ अर्बका ३१ थपिए

0
Shares

चालू आर्थिक वर्ष २०७९/८० को दश महिना अर्थात साउनदेखि वैशाख मसान्तसम्ममा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका २४८ उद्योग दर्ता भएका छन । यी उद्योगमा १ खर्ब ९२ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ ।

साउनदेखि वैशासम्म दर्ता भएका कुल उद्योग–परियोजनामध्ये ५६ वटा ठूला, ६२ वटा मझौला र १३० वटा साना गरी कुल २४८ रहेका छन् । जसमध्ये पछिल्लो महिना वैशाखमा मात्रै ११ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता सहित ३१ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । वैशाखमा दर्ता भएकामध्ये ३ वटा ठूला, २ वटा मझौला र २६ वटा साना रहेको विभागले जनाएको छ ।

वैशाख मसान्तसम्म दर्ता भएका २४८ मध्ये उत्पादनमूलक उद्योग ९८ वटा, पर्यटनमूलक ४४ वटा, उर्जा तथा जलविद्युत सम्बन्धी ३९ वटा, सेवामा आधारित ४७ वटा, सूचना प्रविधिमा आधारित ९ वटा, कृषिमा आधारित ६ वटा, खानी उद्योग ४ वटा, र पुर्वाधारमा आधारित एउटा उद्योग दर्ता भएका हुन् । जसमध्ये वैशाखमा उत्पादनमूलक उद्योग १७ वटा, सेवामा आधारित १० वटा, पर्यटनमूलक ३ वटा, सूचना प्रविधिमा आधारित एउटा गरी कुल ३१ उद्योग दर्ता भएका हो ।

पछिल्लो समय अन्तरिक तथा बाह्य कारणले समग्र अर्थतन्त्रमा चरम मन्दी छाउँदा स्वदेशी तथा विदेशी लगानीमा समेत असर परेको छ । बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो ब्याजदर, तरलता अभाव, मूल्यवृद्धि र उभोक्ताको मागमा आएको गिरावट जस्ता कारणहरुबाट स्वदेशी लगानीकर्ता समेत लगानीका लागि उत्त्सहित नरहेका उद्योग विभागले जनाएको छ ।

दश महिनामा दर्ता भएका उद्योगले १८ हजार ५२४ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । यस अवधिमा प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गर्ने उद्योग तथा परियोजनाको संख्या ६९ रहेको छ । चैतमा मात्रै ६ उद्योगले आइई गरेका छन् ।

यस्तै, यस अवधिमा उद्योग विभागले २१९ वटा विदेशी लगानीका परियोजना स्वीकृत गरेको जनाएको छ । यी परियोजनामा २९ अर्ब ७४ करोड १ लाख ४३ हजार रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । उद्योग विभागका अनुसार प्रस्तावित विदेशी लगानीका उद्योग–परियोजना सञ्चालनमा आउँदा १२ हजार १७१ जनाले रोजगारी पाउने उल्लेख छ ।

वैशाखमा १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको विदेशी लगानीका २८ परियोजना स्वीकृत गरेको जनाएको छ । जसमा १ हजार २७२ जनाले रोजगारी पाउने जनाइएको छ ।

चालु आवको १० महिनाको अवधिमा उद्योग विभागमा ६ वटा प्याटेन्ट दर्ता भएको छ । यस्तै, १८ वटा डिजाइन दर्ता भएका छन् भने २ हजार ४२७ ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ । पछिल्लो नौं महिनामा ट्रेडमार्क सम्बन्धी मुद्दामा ८२ व्यक्ति–संस्था कारबाहीमा परेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।