सडक पूर्वाधार सुधारका लागि एडिबीको ३९ अर्ब ऋण सहायता

0
Shares

एशियन डेभलपमेन्ट बैंक (एडिबी) ले नेपालमा सडक पूर्वाधार विकासका लागि साढे ३९ अर्ब नेपाली रुपैयाँ (३०० मिलियन डलर) ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

हाल २ लेनमा सञ्चालन हुँदै आएको काकडभिट्टा–लौकही सडकको क्षमता विस्तार गरी ४ लेन बनाउने उद्देश्यले एडिबीले ३९ अर्ब ऋण सहयोग स्वीकृत गरेको हो।

काकडभिट्टा–लौकही सडक निर्माण भएसँगै नेपाललाई भारत र बाङ्लादेशसँग व्यापार गर्न सहजीकरण हुने अपेक्षा गरिएको छ ।

९५ किलोमिटर दूरीको यो सडक विस्तारका लागि जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण समस्या आउन नदिन थर्मल रेजिसटेन्ट पेभमेन्ट डिजाइन गरिएको छ ।

यसका साथै एडिबीले यो सडक निर्माणका लागि आवश्यक पर्ने प्राविधिक सहायताका लागि करिब १० करोड नेपाली रुपैयाँ (७ लाख ५० हजार डलर) अनुदान सहयोग उपलब्ध गराउने जनाएको छ ।

यस्तो छ सडक विस्तार योजना

पूर्व–पश्चिम महेन्द्र राजमार्ग चार लेन विस्तारअन्तर्गतको यो सडक खण्ड झापाको काँकरभिट्टादेखि सुनसरीको कोशी गाउँपालिकाको लौकहीसम्म कूल लम्बाइ ९६ किलोमिटर रहेको छ । यो सडक एसियन स्ट्यान्डर्ड मापदण्डको बन्नेछ ।

सडकको चौडाइ २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ । सडकको अधिकार क्षेत्र ९राइट अफ वे० केन्द्र भागबाट २५–२५ मिटर हुने छ । आवश्यकता अनुसार सडकखण्डका विभिन्न भागमा साना पुलहरु पनि निर्माण हुने भए पनि ६ वटा ठूला पुलहरु यसमा पर्नेछन् ।

यो सडक खण्ड आयोजना प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्नेछ । यो सडकमा चिया बगान क्षेत्र, कृषि जमिन र वन क्षेत्र समेत पर्दछ । यस सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोशी राजमार्गलाई जोडेको छ ।काँकरभिट्टा–लौकही राजमार्गले ७१ खोलाहरु पार गर्नुपर्नेछ । ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ ।

जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु रहेका छन् । सर्भिस रोड पनि दुवै साइटमा निर्माण गरिनेछ । शहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ ।

जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन् । शहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टि ७.५/७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टि ५.५०/५.५० मिटरको निर्माण गरिनेछ । यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०/६.५० मिटरको रहेको छ । शहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ ।

यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ । यसका लागि भने आयोजनाले ठेक्का आह्वान गरेको छ । यी पुलको लम्बाइ ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ । जसमा निन्दा ब्रिज ३१८ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवा ब्रिज ५८२ मिटर, बक्रा ब्रिज ३१८ र लोहेन्द्रा ब्रिज ३८४ मिटर लम्बाइको हुनेछन् ।

यसैगरी, सडकखण्डमा आकाशे पुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ । १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ । आयोजनाका अनुसार साइट क्लियर भएपछि सन् २०२३ मा ठेकेदारलाई निर्माण कार्यका लागि जिम्मा दिइनेछ । आयोजनाका अनुसार यो सडक विस्तार कार्य २०२६ सम्ममा पूरा भएर सञ्चालनमा आउनेछ ।

यस सडक परियोजनाबाट १२ लाखभन्दा बढी मानिसहरु लाभान्वित हुनेछन् ।सडक विस्तारका क्रममा ३६७ धरधुरीको ३७७ वटा निजी संरचनाहरुलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको छ ।

यस्तै, २६९ वटा सामुदायिक संरचनाहरु, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनाहरुलाई असर गर्नेछ । यसैगरी यस आयोजनामा वन क्षेत्रबाट चार हजार ३५३ र अन्य रोडसाइडबाट आठ हजार १९५ वटा रुख काट्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।