वैदेशिक रोजगारीमा रहेका नेपालीले आइएमईबाट सामाजकि सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने


सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताको कार्यान्वयनपछि विदेशस्थित आइएमई काउन्टर तथा साझेदारमार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदानबापतको रकम कोषमा जम्मा गर्न सक्ने भएका छन् ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौं नेपालीलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी सम्झौताअनुसार छिट्टै व्यवस्था मिलाइने जानकारी दिए । कोषले अघि बढाएको वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको प्रवर्धनका लागि समेत सहयोग पुग्ने उनको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक ज्ञवालीले आइएमई तथा यसका साझेदारको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरुलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे ।

सम्झौता हस्ताक्षर समारोहमा कोषका निर्देशक रोशन कोजू र आइएमई लिमिटेडका बिजनेस डेभलपमेन्ट म्यानेजर श्यामकृष्ण खकुरेलको पनि उपस्थिति थियो ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत अर्थात् हाल न्यूनतम् २ हजार २ रुपैयाँ मासिक र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।