बैशाखमा पनि बैंकहरुको कर्जा ऋणात्मक, ११ अर्ब कर्जा घट्दा १३ अर्बले निक्षेप बढ्यो

0
Shares

चालु आर्थिक वर्षको १० औं महिना अर्थात बैशाखमा बैंकहरुको कर्जा करिब ११ अर्बले घटेको छ । आर्थिक गतिविधिमा आएको सुस्तता तथा महंगो ब्याजदरका कारण कर्जा लिने भन्दा पनि चूक्ता गर्ने बढेपछि बैंशाखमा ऋण लगानी ऋणात्मक भएको हो ।

चालु आवको बैंशाख महिनामा बैंकहरुको १० अर्ब ७६ करोड रुपैयाँले कर्जा घट््दा निक्षेप भने १२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप थपिएको छ। यसभन्दा अघि चालु आवको फागुन अर्थात ८ महिनामा पनि बैंकहरुको कर्जा लगानी ९ अर्ब ४० करोड रुपैयाँले नकारात्मक थियो।

आर्थिक गतिविधिमा सुस्ततासंगै रेमिट्यान्स आप्रबाहमा सुधार आएका कारण बैंकहरुको निक्षेप बढेको हो । चालु आर्थिक वर्षको साउन देखि बैंशाखसम्म वाणिज्य बैंकहरुमा कुल २ खर्ब ९९ अर्ब निक्षेप संकलन गरेका छन भने एक खर्ब २३ अर्ब ७७ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

चालु आवको बैंशाखमा सबैभन्दा धेरै निक्षेप बढाउनेमा नबिल बैंक रहेको छ । बैंकले सो महिनामा ४ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी बैंशाख महिनामा ३ अर्ब भन्दा धेरै निगेप संकलन गर्नेमा कृषि विकास बैंक, नेपाल एसबीआइ बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

बैंशाख महिनामा सबैभन्दा धेरै निक्षेप घट्नेमा एनआइसी एसिया बैंक रहेको छ । सो अवधिमा बैंकको निक्षेप ३ अर्ब २९ करोड रुपैयाँले घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार बैंशाख महिनामा सबैभन्दा धेरै प्रभू बैंकको कर्जा घटेको छ । सो अवधिमा बैंकको कर्जा २ अर्ब ९३ करोड रुपैयाँले घटेको छ । तर, प्राइम कमर्सियल बैंकले भने बैंशाख महिनामा ३ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी बढाएको छ ।

त्यसैगरी जेठ महिनाको पहिलो सातामा बैंकहरुमा १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, कर्जा भने २ अर्बले ऋणात्मक रहेको छ । जेठ ५ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब ५२ अर्ब छ भने कर्जा ४२ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।