अजोड युनाइटेडको एकीकृत कारोबार जेठ १४ देखि, श्रवण रावललाई प्रमुख कार्यकारीको जिम्मेवारी


अजोड र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै अन्य प्रकृया पूरा गरी जेठ १४ देखि एकीकृत कारोबार सुरु गर्न लागिएको दुबै कम्पनीले जनाएका छन् ।

यसअघि जेठ २१ देखि एकीकृत करोबार सुरु गर्ने योजना बनाएका कम्पनीले सेयर रुपान्तरणको प्रकृया छिट्टै पूरा भएको भन्दै जेठ १४ देखि कारोबार सुरु गर्ने भएका हुन् । दुबै कम्पनीको साधारण सभाले अनुमोदन गरे अनुसार अजोड युनाइटेड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।

“कम्पनी रजिष्ट्रारको कार्यालयतर्फका कामहरु छिटो पूरा भएकाले जेठ १४ देखि नै एकीकृत कारोबार सुरु गर्ने निणर्य भएको छ,” मर्जर समितिले भनेको छ ।

साथै संयुक्त मर्जर समितिले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रवण रावललाई नियुक्त गर्न सिफारिस गरेको छ । एकीकृत कारोबार सुरु भएपछि मात्र रावललाई औपचारिक रुपमा प्रमुख कार्यकारीको रुपमा नियुक्त गर्ने तयारी गरिएको छ ।

साविकको प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा आईजिआई प्रुडेन्सियलमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रावललाई कम्पनी व्यवस्थापनको जिम्मेवारी दिन प्रस्ताव गरिएको र सोही अनुसार निणर्य हुने मर्जर समितिका एक सदस्यले जानकारी दिए ।

रावल २०७८ पुस २० गते प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रावल आईजीसँगको मर्जरपछि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।   प्रुडेन्सियल आउनु अघि रावल साविकको सगरमाथा इन्स्योरेन्समा आबद्ध थिए ।

यता नेपाल धितोपत्र बोर्डले पनि युनाइटेड र अजोड इन्स्योरेन्सलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा अजोड इन्स्योरेन्स लिमिटेडको चल/अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको १००ः८२.५० कित्ताको सेयर स्वाप रेसियो कायम गर्ने गरी गाभ्ने /गाभिने प्रस्ताव दुवै कम्पनीको साधारण सभाबाट पारित भएको थियो । जस अनुसार युनाइटेडका सेयरधनीको सेयर स्वामित्व यथावत रहनेछ भने अजोड इन्स्योरेन्सका सेयरधनीले मर्जर पश्चात बन्ने कम्पनीको १०० कित्ता बराबर ८२.५० कित्ता सेयर प्राप्त गर्नेछन् ।

यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स एक आपसमा गाभिएपछि कम्पनीको केन्द्रीय कार्यालय बागमती प्रदेश काठमाण्डौ महानगरपालिका वडा नं. ११, सुन्धारा, काठमाण्डौंमा रहने प्रस्ताव पनि यस अघिको साधारण सभाले अनुमोदन गरिसकेको छ । दुई कम्पनीबीच पुस २६ गते डीडीएको आधारमा स्वाप रेसयिो तय हुनेगरी मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको थियाे । सम्झौता लगत्तै बीमा प्राधिकरणले दुई संस्थालाई मर्जरमा जानका लागि पुस २९ गते शैद्दान्तिक सहमति दिएको थियो ।

दुबै संस्थाका साविक सञ्चालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेता पनि मर्जर सम्पन्न भई साबिक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक/विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव दुबै कम्पनीले साधारण सभाबाट पारित गरेका थिए । यद्यपी सञ्चालक समितिमा भने दुई संस्थाबाट क कसले प्रतिनिधित्व गर्ने भन्ने अझै निक्र्यौल भईसकेको छैन ।

अहिले युनाइटेडको अध्यक्षमा रविभक्त श्रेष्ठ र अजोडको अध्यक्षमा आजाद श्रेष्ठ छन् । युनाइटेडका सञ्चालकहरुमा प्रियंका श्रेष्ठ, प्रणव कुमार दास, विल्सन मान रञ्जित र रविन्द्रराज पन्त रहेका छन् । उता अजोडको सञ्चालकमा राम बहादुर गुरुङ, चिरञ्जिवी द्वा, सृजना सुवेदी, पानुदत्त पौडेल र विष्णु प्रसाद नेपाल छन् । उल्लेखित अनुहारहरुबाट नै सञ्चालक समितिको अध्यक्ष तथा ५ जना सञ्चालकहरु आगामी साधारण सभासम्मका लागि चयन गर्न दुवै कम्पनीका सञ्चालक तथा मर्जर समितिले छलफललाई तिब्र बनाएका छन् ।

हाल यूनाइटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रुपैयाँ तथा अजोडको १ अर्ब रुपैयाँ छ । १०० बराबर ८२.५ को अनुपातमा मर्जर पुरा भएपछि नयाँ कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ पुग्नेछ ।

२०७९ असार ३२ गते प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स १०० बराबर ७० को अनुपातमा एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । उक्त मर्जर सम्झौतालाई बीमा प्राधिकरणले गत भदौ १ गते नै शैद्दान्तिक सहमति दिएको थियो । तर गत पुस २६ गते एकाएक दुई कम्पनीले सहमतिमा बीमा प्राधिकरण पुगेर मर्जर तोड्ने सम्झौता गरेका थिए । सोही दिन अजोडले यूनाइटेडसँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।