बैदेशिक लगानी स्वीकृत ३५ प्रतिशतले घट्यो, स्थानीय औद्योगिक ग्रामलाई १४ करोड अनुदान

0
Shares

चालु आर्थिक वर्षको आठ महिनासम्ममा बैदेशिक लगानीको स्वीकृतीमा ३५.४ प्रतिशतले कमी आएको छ । विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण बैदेशिक लगानी आउने तथा स्वीकृति हुने क्रममा कमी आएको हो ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म उद्योग विभागमा दर्ता भएका १५९ उद्योगमा २० अर्ब ५६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा १४९ उद्योगमा ३१ अर्ब ८३ करोड रुपैयाँ बरावरको विदेशी लगानी स्वीकृत भएको थियो ।

२०७९ फागुनसम्म उद्योग विभागमा दर्ता भएका ५ हजार ६ सय ९२ उद्योगमा ४ खर्ब ३९ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट ३ लाख १ हजार ५ सय ९८ रोजगारी सिर्जना हुने अनुमान सरकारको रहेको छ।

२०७९ फागुनसम्म १० औद्योगिक क्षेत्रभित्र कायम रहेका ६८५ उद्योगमध्ये ६१८ उद्योग सञ्चालनमा रहेका छन् भने ४० निर्माणाधीन र २७ बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा रहेका उद्योगबाट २० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेको सरकारले जनाएको छ ।

ग्रामीण क्षेत्रमा उद्यम सिर्जनामा टेवा पु¥याउन औद्योगिक ग्रामलाई रूपान्तरणकारी आयोजनाको रूपमा अगाडि बढाइएको छ । सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेकोमा २०७९ फागुनसम्म ११३ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भएका छन् । औद्योगिक ग्रामको कुल निर्माण लागतको ४० प्रतिशत वा ३ करोड रुपैयाँ मध्ये जुन रकम कम हुन्छ । सो रकम नेपाल सरकारको तर्फबाट औद्योगिक ग्राम घोषणा भएका स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । सो अनुसार सरकारले २०७९ फागुनसम्म १४ करोड ३० लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको जनाएको छ ।

निर्यातमूलक उद्योगलाई एकै स्थानबाट पूर्वाधार लगायतका सेवा उपलब्ध गराउने उद्देश्यस्वरूप २०७९ फागुनसम्म भैरहवा र सिमरामा विशेष आर्थिक क्षेत्र स्थापना भएको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा २०७९ फागुनसम्म ७ उद्योग सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा १० उद्योगको पूर्वाधार निर्माणको चरणमा रहेको र थप १४ उद्योग स्थापनाको लागि अनुमति प्रदान गरिएको छ ।

२०७९ फागुनसम्म ऊर्जामूलक उद्योगमा सबैभन्दा बढी ५८.४ प्रतिशत लगानी स्वीकृत भएको छ । उत्पादनमूलक उद्योगमा यस्तो स्वीकृति २१.६ प्रतिशत रहेको छ भने सूचना, प्रसारण तथा सञ्चार एवम् खनिज क्षेत्र दुवैमा करिब ०.३ प्रतिशत मात्र रहेको छ ।

आर्थिक वर्ष २०७९/२०९० मा औद्योगिक क्षेत्रको उत्पादन २ प्रतिशतले ऋणात्मक रहने अनुमान छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ५.३ प्रतिशत रहने अनुमान छ । पछिल्लो १० आर्थिक वर्षमा औद्योगिक उत्पादनको वृद्धिदर वार्षिक औषत ३.३ प्रतिशत र कुल गार्हस्थ्य योगदान वार्षिक औसत ५.६ प्रतिशत रहेको छ।

मुलुकको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रलाई सबल र सुदृढ तुल्याउँदै औद्योगिक विकासका लागि एकल विन्दु सेवाको शुरूवात भएको छ । वैदेशिक लगानीलाई सहज बनाउन लगानीको सीमा २ करोड रुपैयाँ हुने गरी पुनरावलोकन भएको छ । गैर आवासीय नेपालीका लागि लगानीको सीमा हटेको छ । नवीनतम ज्ञान, सोँच सीप र क्षमता भएको उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमार्फत शुरुवाती उद्यममा उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जाकोष कार्यविधि, २०७९ स्वीकृत भएको छ ।

२०७९ फागुनसम्म कुल ८ हजार ९ सय ४७ उद्योग दर्ता भएका छन् । उक्त उद्योगमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५.१ प्रतिशत, २३.१ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ । २०७९ फागुनसम्मको कुल प्रस्तावित लगानी २७ खर्ब ८३ अर्ब मध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः ८४.४ प्रतिशत, १० प्रतिशत र ५.६ प्रतिशत रहेको छ ।

चालु आवको फागुनसम्म उद्योग विभागमा १८३ उद्योग दर्ता भई १ खर्ब ५५ अर्बको लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट १२ हजार ७ सय ४८ रोजगारी सिर्जना हुने अनुमान छ । गत आवको सोही अवधिमा २०१ उद्योग दर्ता भई २ खर्ब २८ अर्ब घट करोड लगानी स्वीकृत भएको थियो भने ती उद्योगको सञ्चालनबाट सिर्जना हुनसक्ने रोजगारी अनुमानित १९ हजार ५५ रहेको थियो ।

२०७९ फागुनसम्म दर्ता भएका उद्योगको कुल स्वीकृत लगानी २७ खर्ब ८३ अर्ब रहेको छ । साथै, यस्ता उद्योगको सञ्चालनबाट सिर्जना हुनसक्ने रोजगारी अनुमानित ६ लाख ७० हजार २ सय ५५ छ । २०७९ असारसम्म दर्ता भएका ठूला, मझौला र साना उद्योगको स्वीकृत लगानी २६ खर्ब २७ अर्ब रुपैयाँ र यस्ता उद्योगको सञ्चालनबाट सिर्जना हुने रोजगारी अनुमानित ६ लाख ५७ हजार रहेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।