सूर्योदय र महुली लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्दै एनआईसी एशिया बैंक


एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय लघुवित्तको १ लाख ८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५ हजार १८३ कित्ता सेयर पनि बिक्री गर्ने भएको छ ।

बैंकले यस अघि ३५ दिने सूचना मार्फत दुवै लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्री गर्न खाजेको भए पनि संस्थापकले सेयर खरिद नगरेपछि सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार दुवै लघुवित्तका संस्थापक सेयरधनीले पनि उक्त सेयर खरिद गर्न सक्नेछन् । सूर्योदयको प्रतिकित्ता सेयर न्युनतम २३७ रुपैयाँ र महुलीको प्रतित्तिा २६४ रुपैयाको दरमा खरिद गर्नका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा आवेदन दिन बैंकले आग्रह गरेको छ ।

दुवै लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले जेठ १६ गतेदेखि जेठ २३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन फारम एनआईसी एशिया क्यापिटल लिमिटेडको कर्पोरेट कार्यालय, थापाथलीका साथै शाखा कार्यालयहरु विराटनगर, मोरङ्ग, वीरगंजको महेन्द्रपुल, पोखराको श्रवणपथ, बुटवलको हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतबाट पाउन सकिने छ । आवेदन फारमको शुल्क १०० रुपैयाँ लाग्ने छ ।

बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको सेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । 

सेयर खरीदको लागि बोलकबोल गर्दा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण सेयर संख्याको लागि आवेदन दिन सकिनेछ । तर सेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।