करको विवाद मिलेसँगै नेप्सेमा ५३ अंकको बाउन्स ब्याक, सम्पत्ति साढे ७७ अर्बले थपियो

0
Shares

व्यक्तिगत लगानीकर्ताले तिरेको पाँच र साढे सात प्रतिशतको पुँजीगत लाभकर नै अन्तिम करको रुपमा मान्न अर्थ मन्त्रालय तयार भई लगानीकर्तासँग सम्मझदारी भएसँगै आइतबार सेयर बजारमा ५३ अंकको बाउन्स ब्याक भएको छ ।

आज अर्थमन्त्रालयमा भएको लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से परिसूचकमा उछाल छाएको हो । यसअघि बिहीबार आन्तरिक राजश्व विभागले व्यक्तिगत आयकर नलाग्ने सूचना प्रकाशन गरेपछि कर विवादपछि घटेको १०९ अंकको नेप्सेमा १६.५५ अंकको सुधार आएको थियो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.८४ प्रतिशत अर्थात ५३.०३ अंक बढेर १९१९.३७ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ९.४९ अंक बढेर ३६५.१० बिन्दुमा पुगेको छ । आइतबार फ्लोट इण्डेक्स ३.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक बढेको छ ।

आज २७० वटा क्रिप्ट कारोबारमा आउँदा २४४ वटा उकालो लागेको छ भने १७ वटाको घटेको छ । ९ वटाको मूल्य भने स्थीर रहेको छ । सूचक बढेपनि सबै ब्रोकर कार्यालयमा लगानीकर्ताको आन्दोलनका कारण तालाबन्दी लगाएपछि पहिलो एक घण्टा कारोबार बन्दजस्तै थियो । सरकारसँगको सम्झौतापछि मात्र नेप्सेमा बढेपनि कारोबार भने अपेक्षित नभएको हो । आज ४५ लाख ५७ हजार कित्ता १६९ कित्ता सेयर ३१ हजार २५२ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँको कारोबार भएको छ ।

आइतबारको बजारमा प्रुडेन्सियलसँग मर्जरपश्चात आजैदेखि कारोबार खुला भएको आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागको छ । कम्पनीको सेयरमूल्य ३७.०८ रुपैयाँ बढेर ४०७.९० रुपैयाँ पुगेको छ ।

त्यसैगरी सामुदायिक लघुवित्तको ९.८७ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१को इकाईमूल्य ९.८०, सोल्टी होटलको ९.६२, तारागाउँ रिजेन्सी होटलको ९.६२ र महुली लघुवित्तको सेयरमूल्य ९.१० प्रतिशतले बढेको छ । ओरियन्टल होटल, मेरो माइक्रोफाइनान्सको ८ प्रतिशतभन्दा बढीले सेयरमूल्य बढेको छ ।

उता आईसिएफसी डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक १.९७ प्रतिशतले घटेको बजारमा लक्ष्मी इक्वीटी फन्डको इकाईमूल्य १.९३, बिओके डिबेञ्चर २०८६ को मूल्य १.९१, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८६ को मूल्य १.४२ र एनआईबिएल समृद्धि फन्ड २ को इकाईमूल्य १.२१ प्रतिशतले घटेको छ ।

कुल एक अर्ब ६५ करोडको सेयर कारोबार भएको आइतबारको बजारमा शिवम् सिमेन्टको सेयरमूल्य ६.३१ प््रतिशत बढेर १५ करोड ८१ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको ३ लाख ३० हजार ५४३ कित्ता सेयर १ हजार ४८५ वटा संख्यामा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको ८ करोड १३ लाख, चिलिमे जलविद्युत ६ करोड ५५ लाख, एनआईसी एशिया बैंकको ६ करोड २१ लाख र सानिमा माई हाइड्रोपावरको ४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भयो ।

आज कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.३७ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा ४.५४ प्रतिशत, जलविद्युत ३.९३, व्यापार ३.८४, जीवन बीमा ३.६३, विकास बैंक ३.४७, वित्त ३.४४, उत्पादन तथा प्रशोधनमुलक ३.३० र अन्य ३.२० प्रतिशतले बढेको छ ।

आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण २८ खर्ब २ अर्ब ७ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार कुल बजार पुँजीकरण २७ खर्ब २४ अर्ब ६५ लाख रुपैयाँ रहेको थियो । नेप्से बाउन्स ब्याक भएसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति आइतबार एकैदिन ७७ अर्ब ४२ करोड रुपैयाँले वृद्धि भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।