प्रिमियम र मर्जरमा राज्यले कर लिनुपर्ने व्याख्या भए छुट नलिई तिर्नै पर्छ: अर्थमन्त्री महत

0
Shares

सेयर प्रिमियमको आम्दानीबाट लाभांश वितरण गर्दा तथा मर्जरमा भएको लाभमा तिर्नुपर्ने आयकरमा ब्याज तथा शुल्क छुट दिएर सम्बन्धित कम्पनीहरुलाई सहुलियत दिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उनले अदालतले तिर्न पर्ने ब्याख्या गरेको खण्डमा अहिलेको छुट नलिइ पनि कम्पनीहरुले उक्त कर तिर्नै पर्ने बताएका हुन ।

अर्थमन्त्री महतले मर्जरको लाभ तथा सेयर प्रिमियम आम्दानीबाट लाभांस वितरण गर्दाको करका सम्बन्धमा आर्थिक विधेयकमा गरिएको सम्बोधन सामान्य विषय भएको जिकिर गरेका छन् । कुनै कानुन संशोधन नगरी विद्यमान व्यवस्था अनुसार कर तिर्नेलाई व्याज तथा जरिवाना छुट मात्र गरिएको उनले प्रष्ट पारेका हुन् ।

सोमबार राजधानीमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री महतले बजेटले विद्यमान कानुन अनुसार मर्जरको लाभ तथा सेयर प्रिमियमबाट लाभांस वितरण गर्दा लाग्ने कर दाखिला गर्न करदाता कम्पनीहरुको हितमा उक्त व्यवस्था गरेको बताए । विषयलाई तोडमेड गरि नकरात्मक विचार नराख्न सम्बन्धित संस्था र तिनका प्रतिनिधिलाई आग्रह गर्दै मन्त्री महतले चित्त नबुझेको खण्डमा अदालत जाने बाटो खुल्ला रहेको बताए ।

“मर्जर र प्रिमियमको करका सम्बन्धमा मैले आर्थिक विधेयक मार्फत कुनै कानुन संशोधन गरेको छ ? अहिले आएर कर लगाउने भनिएको छ ? कानुनी रुपमा यो विषयमा पहिले जे थियो, अहिले पनि त्यही अवस्थामा छ,” मन्त्री महतले भने,“ महालेखा परिक्षकको कार्यालयले यस्तो शीर्षकमा उठाउनुपर्ने कर किन नउठाएको ? बेरुजु भयो भनेर प्रश्न गरेकोपछि हामीले कर तिर्न बाँकी हुनेहरुलाई सहुलियत लिएर बक्यौता कर तिर्नुहोस् भनेको मात्र हो ।”

यस सन्दर्भमा आफुलाई ब्याज र शुल्क मिनाह नगर्ने बिकल्प पनि रहेको बताउदै मन्त्री महतले भने,“झन हामीले शुल्क व्याजमा छुट तथा मिनाहा गरेका छौं, यो त सकरात्मक विषय हो ।” उनले यस विषयलाई गलत रुपमा व्याख्या नगर्न समेत सम्बन्धित पक्षहरुलाई आग्रह गरेका ।

“ब्याज तथा जरिवाना छुट नदिइकन पनि त्यस्तो कर राज्यले लिनुपर्ने नै हो भनेर व्याख्या गर्दा छुट नलिइ पनि कर त तिर्नै पर्छ होला नि ?” मन्त्री महतले थपे, “यसमा चित्त नबुझ्नेहरु अदालत जान सक्नुहुन्छ, किनभने कानुनको व्याख्या गर्ने अदालतले नै हो ।”

अर्थमन्त्री महतले सेयर बजारमा साना र सोझा लगानीकर्ताहरुलाई फसाएर ठूला लगानीकर्ताले हरेक उतारचढावमा लाभ लिइरहेकोतर्फ समेत पनि गराएका छन् । “यो करको विषयमा गलत हल्ला फैलाएर बजार तल झरेका बेला धेरै सोझा र साना अर्डिनरी लगानीकर्ताले बेचेको सेयर कसले किन्यो ? यसको पनि त खोजी हुन पर्छ होला ?” अर्थमन्त्री महतले भने ।

कर छल्न सिकाउने नै लेखापरीक्षक, सरकारी राजश्व घटाई आफ्नो आम्दानी बढाउन चार्टर्ड एकाउन्टेन्ट

मर्जरको लाभ र प्रिमियममा लाग्ने करलाई लेखापरीक्षक तथा उच्च अधिकारीले नै बनाएका थिए जटिल

मन्त्री महतले करको दरमा सोचे अनुसार नतिजा नआउँदा केही व्यवसायीहरु रिसाएको आरोप लगाएका उनले त्यस्तै सञ्जालबाट बजेट लेख्ने क्रममा तेस्रो व्यक्तिलाई सहभागि गराइएको हल्ला फैलाइएको आरोप लगाए । बजेट अघि मन्त्रालय जान नपाएकाहरुबाट यस्तो प्रचार भएको उनको आरोप थियो ।
आफूमाथि लागेको आरोपको पुष्टि गर्न चुनौती दिँदै मन्त्री महतले भने, “आरोपको पुष्टि गर्न सबै राजस्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन ।”

आफुले इमान्दार भएर काम गरिरहेको भन्दै मन्त्री महतले इमान्दार व्यक्तीलाई बढी लखेट्ने गरिएको र आफुलाई पनि त्यस्तै गर्न खोजिएको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।