संघ र महासंघले गलत गर्ने सहकारीलाई कारबाही गर्न सघाउनुपर्छः सचिव रेग्मी

0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीलाई संघ र महासंघले गलत काम गर्ने सहकारीहरुको संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्नुपर्ने बताएका छन् ।

थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको उनले बताए । सचिव रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको उल्लेख गरे ।

बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मी भने, ‘गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिन आग्रह गर्दछु । मन्त्रालय नियमन र सहजकर्ताको भूमिकामा रहन तयार छ ।’

आन्तरिक सुशासनका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन अभियान्ता स्वंयम तयार हुनुपर्ने उनको भनाई छ । ‘बाहिरबाट समस्या समाधान गर्न खोजियो भने निष्र्कषमा पुगिँदैन’, उनले भने, ‘समस्या समाधानको लागि भित्रैबाट पहल सुरु गरौं ।’ सचिव रेग्मीले थपे, ‘सहकारीमा समस्या आयो भनेर डराउनु पर्दैन । सहकारीको समस्या समाधान हुन्छ । सबै सहकारी समस्यामा छैनन् ।’ धेरै जस्तो शहरमा रहेका बचत तथा ऋण सहकारी क्षेत्रमा समस्या भएको उनले जनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बचत कर्ताको रकम फिर्ता गर्दैन भन्ने सहकारी सञ्चालनलाई सहकारी ऐनको १२५ दफा बमोजिम कारबाही गर्ने बताएका छन् । उनले सहकारीहरु सहकारीको मूल्य मान्यता र सिद्धान्त बाहिर गएर काम गर्दा समस्या आएको बताए । उनले अहिले सहकारीमा आएको समस्या कोभिडका कारणले मात्र नभएर सहकारी सञ्चालकले बचत कर्ताको पैसा आफु खुशी लगानी गरेको हुँदा आएको उल्लेख गरे । ‘कोभिडका कारण छिटो समस्या आएको हो’, उनले भने, ‘सहकारीले नियम भन्दा बाहिर रहेर काम गरेका हुँदा एक पटक समस्या आउने अवस्था रहेको थियो । सहकारीका ठूलो वित्तीय कारोबार हुने भएकाले विभागबाट अनुगमन गरी समस्या समाधान गर्न सक्दैन ।’

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गलत काम गर्ने सहकारी कारबाहीको भागिदार हुनुपर्ने बताए । उनले समयमा ऐन कानुन प्रभावकारी कार्यान्वयन भएको भए अहिलेको जस्तो समस्या नआउने दाबी गरे । विषम परिस्थितीका कारण केही संस्था समस्यामा रहेका तिनलाई बचाउन सहयोग गर्न आग्रह गरिएको उनको भनाई छ ।

‘बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढेका कारण सहकारीको पैसा बैंकमा जाँदा पनि समस्या भयो’, कँडेलले भने, ‘स्वःचालित तरिकाले ब्याजदर निर्धारण गर्नुपर्छ ।’ सरकारले ऋण असुली न्यायाधीकरण ल्याएको भए कर्जा उठाउन सहज हुने दाबी उनको छ । अध्यक्ष कँडेलले सरकारसँग महासंघले गरेको माग पूरा नभए पुनः आन्दोलन जाने बताए ।

यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अभियानको ट्रयाकमा आएका सहकारीकै नियमन गर्न नसकेको अवस्थामा ट्रयाक बाहिर भएकालाई नियमन गर्न झन् समस्या भएको बताएका छन् । ‘बचत ऋणको कारोबार गर्ने ८ हजार सहकारी ट्रयाकमा छन् र ८ हजारभन्दा बढी ट्रयाक बाहिर छन्’, उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।