धितोपत्र बजारलाई स्वच्छ बनाउन इन्साइडर ट्रेडिङको अनुसन्धानलाई तीव्रता दिन्छौं : अध्यक्ष हमाल

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बजारलाई स्वच्छ बनाउन धितोपत्र सम्बन्धी कसूर उपर अनुसन्धान कार्यलाई तिव्रता दिने बताएका छन् ।

बोर्डको ३१ औं वार्षिकत्वसको अवसरमा अध्यक्ष हमालले धितोपत्र बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने क्रममा धितोपत्र सम्बन्धी कसूर उपर अनुसन्धान कार्यलाई तिव्रता दिइएको जानकारी दिए । यसका लागि उनले बोर्डबाट क्यानडाको टोरोन्टो सेन्टरसँग सम्झौता गरी कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।

समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता क्रमशः जनशक्ति सबलीकरण, नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगलाई जोड दिने बोर्डको नीति रहेको अध्यक्ष हमालले बताए ।

हमालले भने, ‘बुक बिल्डिंग प्रणाली, ऋणपत्र बजार र धितोपत्र प्रत्याभूतिसम्बन्धी कार्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यदिशामा बोर्ड अगाडि बढेको छ । समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार कार्य बोर्डको भावी प्राथमिकता रहेको छ।’

देशमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै लगानीकर्ताको हकहित संरक्षण तथा बजार सहभागीहरूको तालिम तथा प्रमाणिकरणका लागि क्यापिटल मार्केट इन्ष्टिच्यूट स्थापना गर्न बोर्डले अध्ययन गरिरहेको पनि उनले जानकारी दिए । साथै, ऋणपत्र बजारको सन्तुलित एवं उचित विकास तथा संचालन व्यवस्थाका लागि इन्टरनेशनल फाइनान्स कोपर्रेशसन तथा विश्व बैंक सँगको आपसी समन्वय तथा सहकार्यमा द्रुतरूपमा कार्य अगाडि बढाईएको उनले बताए ।

समीक्षा वर्षमा बोर्डबाट वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षण व्यवस्था गरिएकोमा यसका बहुआयामिक तथा सकारात्मक प्रभावहरू देखिन थालेको हमालको दाबी छ ।

पुँजी बजारमा अनुमतिपत्र प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित एवं पारदर्शी बनाइ धितोपत्र बजार, वस्तु विनिमय बजार तथा धितोपत्र व्यवसायीलाई अनुमति पत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढेका छन् । धितोपत्र दलाल तथा व्यपारीले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न कानुनी व्यवस्था समेत गरिएको उनले बताए ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिने प्रकृयामा संख्या तोक्ने पद्धति हटाई पहिलोपटक तोकिएको मापदण्ड पुरा गरेको संस्थाहरूलाई निश्चित समयावधि भित्र खुला प्रणाली मार्फत कार्यका आधारमा वर्गीकरण गरी अनुमतिपत्र प्रदान गरिएको उनको दाबी छ । यसबाट बजार थप स्वच्छ, पारदर्शी, प्रतिष्पर्धी र गुणस्तरीय बनी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि हुनुका साथै नेपालको धितोपत्र बजारमा नयाँ आयाम थपिने हमालले बताए ।

यस्तै, नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायको प्रवर्द्धन गर्ने हेतुले अनुमति प्रकृयालाई छिटो छरितो बनाई विशिष्टकृत लगानी कोषलाई अनुमतिपत्र प्रदान गरिएको उनले बताए ।

बोर्डले प्राइभेट ईक्विटी भेन्चर क्यापिटलको इकोसिस्टम निर्माणका लागि एसएमई प्लेटफर्मको विशेष कानूनी व्यवस्थाको तयारी गरी मन्त्रीपरिषदमा स्वीकृतिका लागि पेश गरिएको जानकारी दिए । त्यसैगरी, मर्जर तथा एक्विजिशन सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरिएको, धितोपत्रको सार्वजनिक निष्काशनको आस्वा प्रणालीमा लाग्ने सेवा शुल्कलाई समायोजन गरी बजारलाई लगानीकर्तामैत्री बनाइएको उनले बताए ।

वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी गतिविधिलाई सघनताकासाथ सञ्चालन गर्न र धितोपत्र व्यवसायीमा व्यवसायिकता अभिवृद्धि, तालिम र प्रमाणिकरणसम्बन्धी कार्यक्रम सञ्चालनका लागि बोर्डमा नयाँ संगठनात्मक संरचना लागू गरिएको पनि उनले बताए ।

धितोपत्र बजार र वस्तु विनिमय बजारको प्रभावकारी नियमन र विकास गर्दै नेपाल सरकारले आवधिक योजना, रणनीति तथा वार्षिक नीति तथा कार्यक्रममा तय गरेका लक्ष्य निर्धारित समय सीमामा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै बजारको नियमन, विकास तथा सुधारका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियमन निकायहरू,अन्तर्राष्ट्रिय संस्था तथा बजार सम्बद्ध पक्षहरू सबैबाट निरन्तर सहयोगको अपेक्षा रहेको उनको भनाई छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।