अन्नपूर्ण केबलकारले संस्थापक र सर्वसाधारणबाट ६५ करोड उठाउँदै

0
Shares

अन्नपूर्ण केवलकार लिमिटेडले संस्थापक सेयरधनी तथा सर्वसाधारणबाट ६५ करोड रुपैयाँ उठाउने भएको छ ।

कम्पनीले संस्थापक सेयरधनीलाई ३४ करोड रुपैयाँ बराबरको हकप्रद तथा सर्वसाधरणलाई ३१ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गरेर उक्त रकम संकलन गर्न लागेको हो ।

कम्पनीको गत वैशाख २९ गते सम्पन्न विशेष साधारणसभाले संस्थापक सेयरधनीलाई १०० रुपैयाँ अकिंत दरको ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको गत जेठ ८ गते बसेको संचालक समितको बैठकले संस्थापक सेयरधनीहरुलाई रकम जम्मा गर्न आवेदन समेत खुला गरेको छ । कम्पनीका संस्थापक सेयरधनीहरुले ९० कित्ता बराबर ३४ कित्ता अर्थात ३७.७७ प्रतिशतको अनुपातमा हकप्रद सेयर वापतको रकम थप गर्नुपर्नेछ ।

कम्पनीले संस्थापक सेयरधनीलाई ३४ करोड बराबरको हकप्रद बिक्री गरेपछि सर्वसाधरणलाई ३१ करोड बराबरको ३१ लाख कित्ता आईपीओ जारी गर्ने जनाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

हाल केबलकारमा संस्थापक सेयरधनीहरुको ९० करोड लगानी छ । ३४ करोडको हकप्रद बिक्री पश्चात संस्थापकहरुको लगानी १ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी, जापानी लगानीकर्ता तथा केही स्थानीयहरु संस्थापक सेयरधनी रहेका छन ।

सर्वसाधरणलाई ३१ करोडको सेयर बिक्री गरेपश्चात कम्पनीको चुक्तापुँजी एक अर्ब ५५ करोड पुग्नेछ । जसमा संस्थापकको ८० प्रतिशत तथा सर्वसाधरणको २० प्रतिशत लगानी हुनेछ ।

आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको छ । केवलकारको माथिल्लो स्टेशन सराङकोटमा कम्पनीले पञ्चमुखे गणेशको मूर्ति ,भ्यू टावर, मूर्तिसहित अन्य संरचना निमार्णको प्रक्रियामा छ ।

२०७८ साल फागुनदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरदेखि सराङकोट डाडासम्मको २.३ किलोमिटर दूरीमा केवलकार संचालन गर्दै आएको छ । केबलकारले क्याबिनसहित १८ वटा गोन्डोला मार्फत दु्रत गतिको सेवा कम्पनीले प्रदान गर्दै आएको छ। पर्यटकीय सहर पोखरामा सञ्चालनमा रहेको केवलकार आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणमा रहेको छ ।

अन्नपूर्ण केवलकार १ अर्ब ९७ करोड लगानीमा निर्माण भएको हो । कोभिड–१९ का कारण निर्माण सामाग्रीको मूल्यमा भएको वृद्धि तथा जग्गा अधिग्रहणका क्रममा जग्गाको मूल्य बढ्दै जादा परियोजना सम्पन्न हुँदा सम्म लागत १२० प्रतिशतले बढ्न पुगेको थियो । परियोजनाको सुरुवातमा ८९ करोड ६० लाख लागत अनुमान गरिएको थियो । केवलकार निर्माणको लागि कम्पनीले बैंकसँग एक अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो ।

हिमालको सबैभन्दा नजिक रहेको केवलकार नेपालकै पहिलो हो । त्यतिमात्रै नभएर नेपालमा सञ्चालनमा रहेका केवलकारमध्ये विदेशी लगानी रहेको पनि यो पहिलो र एक हो । केवलकार चढेर सराङकोटबाट सूर्योदय, सुर्यास्त तथा हिमालको दृष्य हेर्न सकिन्छ। विश्वकै पर्यटकीय सूचीमा रहेको पर्यटकीय नगरी पोखराको अन्नपूर्ण केवलकारबाट तीन किसिमका दृश्यावलोकन गर्न सकिनेछ । सूर्योदय, सूर्यास्त, हिम शृङ्खलासहित तालको समेत एकै स्थानबाट अवलोकन गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।