राजनीति, अर्थनीति र कुटनीतिको पहिलो लक्ष्य आर्थिक विकास नै हुनुपर्छः विनोद चौधरी

0
Shares

नेपाली कांग्रसका सांसद विनोद चौधरीले राजनीति, अर्थनीति र कुटनीतिको पहिलो लक्ष्य आर्थिक विकास नै हुनुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलका क्रममा संघीय संसदमा ब्यक्त आफ्नो धारणा राख्दै उनले आर्थिक विकास नभएकै कारणले नै नेपाली नागरिक राजनीतिप्रति बेखुसी रहेको बताए । राजनीतिको केन्द्रभागमा आर्थिक विकास र आम नागरिकको जीवनसँग जोडिएका एजेण्डाहरू रहनुपर्ने उनको धारणा छ ।

देश आर्थिक विकासको द्रुत गतिको प्रतिक्षामा रहेकाले आर्थिक विकास र नागरिकको जीवनस्तर परिवर्तनसँग जोडिन नसकेको राजनीति जनताबाट टाढा बन्दै जाने बताए । बजेटले आम नेपाली नागरिकलाई यही सन्देश दिने र सोही अनुसार विकास बजेटको दिशा तय हुनुपर्ने उनले बताए ।चौधरीले भने, “मैले भन्दै आएको छु– बजेटको संरचनागत परिवर्तन हुनुपर्छ । विकास बजेटको अंश सबैभन्दा धेरै हुनुपर्छ र चालू खर्च निर्मम रुपमा कटौती गरिनुपर्छ ।”

तलब, भत्ता सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण, प्रशासनिक खर्च लगायतको साधारण खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्न कुल बजेटको ७३. १० प्रतिशत विनियोजन गर्नु परेको भन्दै उनले ठूलो हिस्सा यसरी छुट्टयाउनु पर्दा विकास कार्यका लागि स्रोत व्यवस्थापनमा चाप परेको बताए । सरकारले अगामी आवका लागि करिब १२ खर्ब ८० अर्ब २५ करोड रुपैयाँ तलब, भत्ता सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण, प्रशासनिक खर्च लगायतमा छुट्टाएको छ ।

उनले भने, “आगामी वर्षको बजेटमा चालू खर्चको अंश ६५.२० प्रतिशत र पुँजीगत बजेटको अंश १७.२५ प्रतिशत छ । अर्थात हामी १७ रुपैयाँको विकास गर्नका लागि ६५ रुपैयाँ खर्च गर्ने तयारीमा छौँ । यो भनेको सरासर देश आर्थिक विकासको द्रुत गतिमा अगाडि बढ्न सक्दैन भन्ने कुराको आत्मस्विकारोक्ती हो। ”

धेरै वर्षदेखि बाटो विराएको हाम्रो राजनीति, अर्थनीति र कुटनीतिको उपजका कारण अहिलेको अवस्था आएको उनले बताए । अहिले देशले वार्षिक रुपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा ब्याजभन्दा हाम्रो विकास बजेटको अंश सानो हुन थालेको उल्लेख गरे । बजेटमा साँवा ब्याज भुक्तानीका लागि (वित्तिय व्यवस्थातर्फ) १७.५५ प्रतिशत र विकास कार्यक्रमका लागि (पुँजीगततर्फ) १७.२५ प्रतिशत बजेट विनियोजन भएको छ । यो हाम्रो अर्थतन्त्रका लागि अर्को गम्भिर सूचक रहेको बुझ्नुपर्ने उनले बताए । आगामी वर्षहरूमा यो झनै फराकिलो भएर जाने उनको भनाई छ ।

देशको समग्र अर्थतन्त्रको ट्रान्सफरमेसनका लागि अत्यन्तै फराकिलो सोच लिनुपर्ने बताउँदै उनले अर्थतन्त्रलार्ई अर्को तहमा (नेक्स्ट लेभल)मा पु¥याउनका लागि जलविद्युत्को निर्यात र पर्यटन प्रवद्र्धनको दुईवटा विकल्प मात्र नेपालसँग रहेको बताए । भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्न चाहेको सार्वजनिक घोषणा गरेपनि नेपालको अवस्था त्सअनुसारको नरहेको उनको भनाई थियो ।

उनले भने, “ अब हामीले सोच्नुपर्छ– के हामी १० बर्षमा भारतलाई १० हजार मेगावाट विद्युत् बेच्न सक्ने हैसियतमा पुग्नेछौँ ? त्यसका लागि अहिले हामी कुन कुन परियोजनामा काम गर्दैछौँ? यो दुनियाँमा उत्पादनहरूले बजार खोजिरहेका हुन्छन् तर हामीसँग यस्तो चिज छ जसलाई बजारले खोजिरहेको छ तर हामीले दिन सकिरहेका छैनौँ ।”

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।