बैशाखको विप्रेषण आप्रवाह एक खर्ब २ अर्ब, शोधनान्तर बचत २ खर्ब नाघ्यो

0
Shares

चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै एक खर्ब २ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाहमा सुधार आएसँगै शोधनान्तर बचत समेत २ अर्ब १४ अर्ब रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको दश महिनासम्मको कुल रेमिट्यान्स आप्रवाह १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २३.४० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिसम्मको रेमिट्यान्स आप्रवाह ८ खर्ब १२ अर्ब रुपैयाँ थियो ।

त्यसैगरी चालु आवको बैशाख महिनाको रेमिट्यान्स आप्रवाह चैत महिनासम्मको तुलनामा एक खर्ब २ अर्बले धेरै हो । चैतसम्मको कुल रेमिट्यान्स आप्रवाह ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ भित्रिएको थियो ।

चालु आवको दश महिनामा भित्रिने रेमिट्यान्समा उच्च सुधार संगै आयातमा आएको कमीका कारण शोधनान्तर बचत पनि २ खर्ब १४ अर्ब ६७ कराड रुपैयाँ पुगेको छ । चैत महिनामा यस्तो बचत एक खर्ब ८० अर्ब मात्रै थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४० प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह १.२० प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । चालु आवको बैशाखमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.४ प्रतिशतलेवृद्धि भई ४ लाख २१ हजार २ सय ७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो ।

चालु आवको अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।

चालु आवको बैंशाखसम्म चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।

चालु आवको दश महिनामा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड मात्र आएको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

विसं २०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फेसिलिटी अन्तर्गत दोस्रो किस्ता वापतको ६ अर्ब ८८ करोड प्राप्त भएको छ । चालु आवको बैशाखसम्म शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।