थ्रीस्टार हाइड्रोपावरको असार ५ देखि सवा ६ करोडको आईपीओ खुल्दै, कस्तो छ कम्पनी ?

0
Shares

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आगामी असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६ करोड १३ लाख १६ हजार २०० रूपैयाँ बराबरको ६ लाख १३ हजार १६२ कित्ता सेयर निष्काशन गर्नेछ ।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रूपैयाँको १५ प्रतिशतले हुन आउने ७ लाख ३८ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो । यसमध्ये सर्वसाधारणमा जारी सेयरको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजागारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ । बाँकी रहेको ६ लाख ६४ हजार ८७५ कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता सेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ७७५ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । यसरी बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट माग गरिएको हो ।

कम्पनीले जेठ २८ गते आइतबार मात्रै आयोजना प्रभावित क्षेत्र खोटाङ जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्काशनमा ल्याएको जारी पुँजीको १० प्रतिशतका दरले हुन आउने ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर २ हजार ६०६ जनालाई बाँडफाँड गरेको जनाएको छ ।

थ्रीस्टार हाइड्रोपावरको आईपीओ असार ५ देखि ८ गतेसम्म बिक्री खुल्ला हुनेछ । लगानीकर्ताले आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यद्यपी उच्च मागका कारण गोलप्रथाबाट १० कित्ता सेयर पाउनुपर्ने अवस्था हुँदा १ हजारको आवेदन नै प्रयाप्त हुनेछ ।

आईपीओ निष्काशनको लागि कम्पनीले गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरुको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कस्तो छ थ्रीस्टार हाइड्रोपावर ?

कम्पनीको रजिष्टर्ड कार्यालय भतmपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ चारदोबाटो भक्तपुरमा रहेको छ । कम्पनीले खोटाङमा रहेको साप्सुप खोलामा ६.६० मेगावाट क्षमताको थ्रीस्टार हाइड्रोपावर लिमिटेडको प्रर्वद्धन गरिरहेको छ । यस जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रतिमेगावाट २१ करोड ६ लाख रूपैयाँका दरले १ अर्ब ३९ करोड रूपैयाँ रहेको छ ।

विसं २०७८ पुस २३ गतेदेखि ब्यापारिक रुपमा विद्युत उत्पादन गर्दै आएको यस आयोजनाको गरिएको साधारण लगानी फिर्ता हुने अवधि ६.२२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.४३ वर्ष लाग्ने कम्पनीले जनाएको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष २ बाँकी रहेको छ । पिकिङ्ग रन अफ रिभर प्रकृतिको यस आयोजनाबाट ३९ हजार १६० गिगावाट क्षमता विद्युत शक्ति उत्पादन हुनेछ ।

वित्तीय अवस्थामा कम्पनीको अवस्था निकै कमजोर नै देखिएको छ । गत आव २०७८/७९ मा कम्पनीको सञ्चित जगेडा नोक्सानी ५ करोड २९ लाख ९२ हजार रहेको कम्पनी चालु आवको पुस मसान्तसम्म ४ करोड ५८ लाख ८३ हजार रुपैयाँमा पुगिसकेको छ । चालु आवको अन्त्यसम्ममा कम्पनीको कम्पनीको सञ्चित जगेडा नोक्सानी ३८ लाख ४९ हजारमा खुम्चाउने कम्पनीको आंकलन ६ महिनामा देखिएको साढे ४ करोड बढीको जगेडा नोक्सानीसँग मेल खाने देखिँदैन । यस्तै कम्पनीले आव २०८०/८१ मा ५ करोड ६० लाख र आव २०८१/८२ मा १२ करोड ७५ लाख रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

चालु आवको ६ महिनामा कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ९ पैसा र वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा रहेको छ । गत आवमा कम्पनीको इपीएस १० रुपैयाँ २२ पैसा ऋणात्मक थियो । कम्पनीले चालु आवमा ९ रुपैयाँ ८८ पैसा, आव २०८०/८१ मा १२ रुपैयाँ १७ पैसा र आव २०८१/८२ मा १४ रुपैयाँ ५१ पैसा पु-याउने आंकलन गरेको छ ।

नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी सम्भाव्यता अध्ययनर विस्तृत इन्जिनियरिङ्ग अध्यन गरि निर्माण र सञ्चालन गर्ने हेतुले थ्रीस्टार हाइड्रोपावर लिमिटेड प्रचलित कानून बमोजिम २०७२ साल मंसिर ०६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । विसं २०७४ साल भाद्र ११ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ र विद्युत ऐन, २०४९ अन्तर्गत कम्पनीले कारोबार गर्दै आईरहेको छ ।

कम्पनीले साप्सुप खोला साना जलविद्युत आयोजना निर्माण, उत्पादन तथा सञ्चालन गर्न विद्युत उत्पादनको अनुमति पत्र नेपाल सरकार उर्जा मन्त्रालयबाट २०७४ मंसिर २९ गते प्राप्त गरेको हो । उक्त अनुमतिपत्र बहाल रहने अवधि विसं २१०९ मंसिर २८ गतेसम्म रहनेछ ।

थ्रीस्टार हाइड्रोपावरबाट उत्पादन गरिएको सबै विद्युत शक्ति एकमुष्ठ नेपाल विद्युत प्राधिकरणले खरिद गर्न मन्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७५ साल असार २५ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो । विद्युतको खरीद मूल्य वर्षातका ६ महिनाहरू जेठ १६ गतेदेखि मंसिर १५ गतेसम्मका लागि प्रति किलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा र हिउँदका ६ महिनाहरु मंसिर १६ देखि जेठ १५ गतेसम्मका लागि प्रति किलोवाट घण्टा ९ रुपैयाँ ४० पैसा पिकिङ घण्टा र ८ रुपैयाँ ४० पैसा ननपिकिङ घण्टाको लागि तोकिएको छ । यो खरिद दरको लागि व्यापारिक उत्पादन सुरु भएको मिति २०७८ माघ महिनालाई आधार वर्ष मानिएको छ ।

विद्युत खरिद–बिक्री गर्ने निर्धारित आधार वर्षको दरमा प्रतिवर्ष ३ प्रतिशतका दरले ८ पटकको लागि मूल्य वृद्धि दिइने र ८ वर्ष पश्चात ब्यापारिक उत्पादन भएको वर्षलाई आधार वर्ष मानी साविकको विद्युत खरिद–बिक्री सम्झौताको प्रावधान अनुसार मूल्य वृद्वि समेत गर्दा जुन अवधिमा जुन खरिद दर हुन आउँछ सो खरिद दर विद्युत खरिद–बिक्री सम्झौताको अवधिभर लागू हुनेछ ।

आयोजनाबाट प्राप्त हुने आयमा आयकरको दर आ.व २०८८/८९ सालसम्म शतप्रतिशत कर छुट पाउनेछ भने २०८९ सालदेखि २०९४ सालसम्म ५० प्रतिशत कर छुट व्यवस्था रहेको छ ।

को–को छन् सञ्चालक र आधारभुत सेयरधनी ?

कम्पनीमा हाल ६४ जना संस्थापक शेयरधनीहरु रहेका छन् । यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत–उर्जा क्षेत्र, सामाजिक कार्य र बैदेशिक रोजगार एवं व्यापार र व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समय देखि दख्खल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा कुमार खरेल र अन्य सञ्चालकहरुमा आङ ङिमा शेर्पा, उद्धवराज शिवाकोटी, जेन लामा, आङ तेण्डी लामा, धन बहादुर श्रेष्ठ, सुर्वश शाक्य, विश्व श्रेष्ठ र दुर्गा देवी ढकाल रहेकी छिन् ।

कम्पनीको सञ्चालक समितिको अध्यक्ष ४७ वर्षिय कुमार खरेलले आई.ए. सम्मको अध्ययन गरेका छन् । जलविद्युत निर्माण, सञ्चालन तथा निर्माण व्यवसायको क्षेत्रमा २० वर्ष भन्दा बढिको कार्य अनुभव रहेको खरेल दोलखा कालिन्चोक गाउँपालिका ८ का स्थायी बासिन्दा हुन् । उनीसँग आयोजनाको ३ लाख ४७ हजार २३५ कित्ता सेयर रहेको छ ।

यस्तै अर्का सञ्चालकमा रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर–२ की ६६ वर्षिया आङ ङिमा शेर्पा छिन् । निर्माण व्यावसाय क्षेत्रमा ३० वर्षभन्दा बढिको कार्य अनुभव रहेको उनीसँग आयोजनाको ६ लाख ५७ हजार २८० कित्ता सेयर रहेको छ । उनले आई.ए. सम्मको अध्ययन गरेकी छिन् ।

आयोजनामा बि.ई सिभिल ईन्जिनियरिङ विभिन्न व्यापार व्यावसाय तथा सामाजिक सेवामा ३५ वर्ष भन्दा बढिको कार्य अनुभव रहेको ६५ वर्षिया उद्धवराज शिवाकोटी सञ्चालक छन् । भक्तपुर मध्यपुर, नगरपालिका–४ का स्थायी बासिन्दा शिवाकोटीसँग ४ लाख ९० हजार कित्ता सेयर रहेको छ ।  यस्तै अर्को सञ्चालकमा राजनिति संकायमा स्नाकोतर गरेका ३३ वर्षिय जेन लामा रहेका छन् । जलविद्युत निर्माण, संचालन तथा राजनिति क्षेत्रमा १० वर्ष भन्दा बढिको कार्य अनुभव रहेका लामा काभ्रे तेमाल गाउँपालिका वडा नम्बर ७ स्थायी बासिन्दा हुन् । उनीसँग २ लाख ४१ हजार ७१० कित्ता सेयर रहेको छ।

रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा आङ तेण्डी लामाले वाणिज्य संकायमा स्नातक गरेका छन् । ५५ वर्षिय उनीसँग चालिस वर्ष भन्दा बढि व्यवसाय तथा सामाजिक सेवामा समर्पित रहेको अनुभव छ । उनले आयोजनाको ७४ हजार ७६० कित्ता सेयर धारण गरेका छन् । धन बहादुर श्रेष्ठ हाइड्रोपावरका अर्का सञ्चालक हुन् । विभिन्न व्यापार व्यावसाय क्षेत्रमा ३५ वर्ष भन्दा बढिको कार्य अनुभव रहेका श्रेष्ठ काठमाण्डौं महानगरपालिका २१ का स्थायी बासिन्दा हुन् । आई.एस्सी.सम्मका शैक्षिक अनुभव रहेको ५२ वर्षिय उनले अयोजनामा २ लाख ९३ हजार ९४९ कित्ता सेयर लगानी गरेका छन् ।

यस्तै ललितपुर महानगरपालिका १७ का ४५ वर्षिय सञ्चालक सुवर्ण शाक्यले आयोजनामा १ लाख ३४ हजार ८२५ कित्ता सेयर धारण गरेका छन् । विभिन्न व्यावसाय, तथा सामाजिक कार्यमा २० वर्ष भन्दा बढिको कार्य अनुभव छ भने वाणिज्य संकायमा स्नातक गरेका छन् । काठमाण्डौ महानगपालिका ३४ का विश्व श्रेष्ठ स्वतन्त्र सञ्चालक रहेका छन् । हाइड्रोपावर इन्जिनियरिङमा एमएससी गरेका ५१ वर्षिया श्रेष्ठसँग जलविद्युत निर्माण, सञ्चालन क्षेत्रमा परामर्श सेवा कार्यमा अनुभव २५ वर्षको रहेको छ ।

महिला सञ्चालक दुर्गा देवी ढकाल काभ्रे होकसे गाविस ३ की स्थायी बासिन्दा हुन् । ४३ वर्षिया ढकालले आयोजनाको १२ हजार कित्ता सेयर धारण गरेकी छिन् । व्यापार र वैदेशिक रोजगारमा अनुभव रहेको उनीसँग एसएलसी सम्मको मात्र शैक्षिक योग्यता छ ।

यस्तै आयोजनाका अन्य आधारभुत सेयरधनीमा रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर २ का पेम्बा छिरिङ लामासँग १ लाख ५१ हजार ३५५ कित्ता, काभ्रे बनेपा ६ का आनन्द प्रसाद मानन्धरसँग १ लाख ६८ हजार २५ कित्ता, काठमाण्डौं महानगरपालिका ६ का युटन लामासँग ७५ हजार र खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिकाका बासिन्दा बुद्ध कुमार कार्मीसँग आयोजनाको ५५ हजार कित्ता सेयर लगानी रहेको छ ।

कम्पनीका दुई संस्थापक/सञ्चालकहरु आङ ङिमा शेर्पा र पेम्वा छिरिङ लामा २०७६ भदौ १३ मा कालोसूचीमा समावेश भई २०७६ फागुन २३ मा कालोसूचीबाट हटेको कम्पनीले जनाएको छ ।

व्यवस्थापकीय जिम्मेवारीमा को छन् ?

कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा भक्तपुर मध्यपुर ठिमी न.पा.– १४ का कर्मराज तामाङ वाणिज्य संकायमा स्नातक गरेका कर्मराज तामाङ्ग रहेका छन् । उनलाई वार्षिक ५ लाख २० हजार पारिश्रमिक पाउने गरी २०७९ चैत २२ गते प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो । उनीसँग जलविद्युत आयोजना, निर्माण व्यावसाय तथा परामर्श सेवामा आवद्घ भएको तथा लेखा क्षेत्रमा १० वर्ष भन्दा बढिको कार्य अनुभव छ ।

यस्तै इलेक्ट्रिकल जलविद्युत क्षेत्रमा १ वर्ष ५ महिना बढिको कार्य अनुभव रहेको इन्जिनियर मिलन न्यौपाने प्लान्ट इन्चार्ज रहेका छन् । उनलाई विसं २०७९ बैशाख १ देखि नियुक्त गरिएको हो । आर्थिक वर्ष २०७८÷०७९ ३ महिनामा न्यौपानेलाई १ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

साढे ९२ करोड कर्जा भुक्तानी गर्न बाँकी

आयोजना निर्माणका लागि कम्पनीले हिमालयन बैंकबाट ४९ करोड र राष्ट्रिय वाणिज्य बैंकबाट ४४ करोड ७५ लाख रुपैयाँ गरी कुल ९३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकलाई १ करोड २० लाख र हिमालयन बैंकलाई ३ लाख गरी कुल १ करोड २३ लाख रुपैयाँ कर्जा चुक्ता गरेको छ भने ९२ करोड ५२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीले आ.व २०७८/७९ देखि विद्युत उत्पादन गरेको हुँदा आगामी वर्षका लागि थप कर्जा नलिने योजना रहेको छ । बैंकबाट लिएको कर्जा १२ वर्षमा भुतmानी गर्ने लक्ष्य राखिएको छ ।

आ.व.२०७८/७९ को वार्षिक साधारण सभाको निर्णय बमोजिम सेयरको सार्वजनिक निश्काशनका लागी छुट्याइएको रकम समयमा नै जारी हुन नसकेको कारणबाट आयोजना सम्पन्न गर्न अपुग रकम प्रवद्र्धकहरुबाट सापटी लिइएको र सो सापटी रकम फिर्ता गर्न उपयोग गरिने जनाएको कम्पनीले जनाएको छ ।

प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

कम्पनीले सर्वसाधारणतर्फ जारी गर्ने १२ लाख ३१ हजार २५० कित्ता सेयरको धितोपत्र प्रत्याभूति प्रभु क्यापिटल लिमिटेड कमलादीले गरेको छ । उक्त सेयरको प्रत्याभूति सम्झौता २०७९ चैत २७ गते देखि ४ महिनासम्म बहाल रहने उल्लेख छ ।

प्रत्याभूती गरिएको सेयर पूर्ण वा आंशिक रुपमा बिक्री नभएमा कम्पनीले सेयर वापतको रकम माग गरेको बखत प्रत्याभूतीकर्ताले रकम भुक्तानी गरी खरिद गरी लिनेछ । साथै कम्पनीले समेत सेयर वापतको रकम प्राप्त गरे पश्चात उक्त सेयरको स्वामित्व यथाशीघ्र प्रत्याभूतिकर्ता लाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

कम्पनीमा संस्थापक सेयरधनीहरुले जारी पुँजीको ७५ प्रतिशत अर्थात ३६ करोड ९३ लाख ७५ हजार रुपेयाँ भुक्तानी गरेका छन् । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ करोड ९२ लाख ५० हजार र सर्वसाधारणहरु (वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानीकोष र कर्मचारीहरुसमेत) लाई ७ करोड ३८ लाख ७५ हजार रुपैयाँको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजीमा १२ करोड ३१ लाख २५ हजार रुपैयाँ थप हुनेपछि । आईपीओपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।