अन्तराष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष श्रेष्ठ, “सामाजिक सुरक्षामा लगानी बढाऔं”


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले सभापति श्रेष्ठले सूचना प्रविधिको बढ्दो प्रयोग, कामगर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आएको बताएकी छिन् । यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उनको भनाई थियो ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११ औ सम्मेलनलाई जेनेभामा नेपालको रोजगारदाताका तर्फबाट सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नु पर्ने आवश्यकतामा जोड दिएकी हुन् ।

परिषद् सभापति श्रेष्ठले नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरू लागू भइरहेको जानकारी सम्मेलनलाई गराएकी थिइन् । “नयाँ श्रम ऐनका प्रावधानहरू सबै कामदारहरूका लागि लागू हुनेछन् र यसले राम्रो कामको अवस्था सुधार गर्न, मर्यादित रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,” सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले भनिन् ।

बाल श्रम उन्मूलन र डिसेन्ट वर्क कन्ट्री प्रोग्राममा राष्ट्रिय गुरु योजना विकास गर्न महासंघ परामर्श प्रक्रियामा सक्रिय रूपमा संलग्न भैरहेको जानकारी गराउंदै श्रेष्ठले सबै प्रकारका बालश्रम उन्मूलनका लागि रोजगारदाता संगठनले सबै सरोकारवालाहरूसँग नजिकबाट काम गरिरहेको जानकारी दिएकी हुन् ।

सभापति श्रेष्ठले नीतिगत सुधार, सीप विकास, पेशागत सुरक्षामा महासंघको मुख्य जोड रहेको र सोही अनुसार कार्यक्रम पनि भैरहेको जानकारी गराएकी थिइन् । नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति तथा कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रीत रहेको उनको भनाई थियो ।

कोभिड–१९ महामारीको पीडा सम्पूर्ण विश्वलेनै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताएकी थिइन् । महामारिले विकास प्रक्रियालाई नै पछाडि धकेलिदिएको र आर्थिक मन्दीको झट्काको सामना विश्वले गर्नुपरेको उनको भनाई थियो ।

नेपालमा, कोभिड महामारीबाट भएको नोक्सानीको छिट्टै रिकभरीको अपेक्षा गर्दै गर्दा पुनः अर्थतन्त्रमा आएका केही आन्तरिक चुनौतीका कारण आर्थिक गतिविधि सुस्त भएको र अपेक्षित रुपमा अर्थतन्त्र विस्तार हुन नसकेको उनको भनाई थियो ।

विभिन्न चुनौतीहरुका बाबजुद पनि नेपालको निजी क्षेत्र व्यापार वृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको अभिवृद्धि, साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन र व्यवसायको औपचारिकीकरण गर्न प्रतिबद्ध रहेको श्रेष्ठले बताएकी थिइन् ।

१७६ भन्दा वढी मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ सम्मेलन जून ५ देखि सुरु भएको हो । सम्मेलन जुन १६ सम्म चल्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।