नाडाका सदस्य कम्पनीहरुमा कार्यरत कर्मचारीको क्षमता विकासमा इन्स्योरले सघाउने

0
Shares

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का सदस्य कम्पनीहरुमा कार्यरत कर्मचारी, प्राविधिज्ञहरु लगायत नयाँ कर्मचारी र प्राविधिकहरुलाई दक्ष र सीपयुक्त बनाउनका लागि दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) ले सहयोग गर्ने भएको छ ।

बृहत तालिम सञ्चालनका लागि २०८० साल जेठ ३१ गते बुधबार नाडाको सचिवालय टेकुमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्य विधिवत रुपमा सम्पन्न भएको छ । सम्झौतापत्रमा नाडाको तर्फबाट अध्यक्ष ध्रुव थापा र सो परियोजनाका तर्फबाट इन्स्योरका टीम लिडर रवीन्दवहादुर सिंहले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नाडाका पदाधिकारीहरु, नाडा अन्तर्गत गठीत सीप विकास इकाईका सदस्यहरु तथाका उच्च अधिकारीहरुको उपस्थिति थियो । जसमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति थियो ।

तालीम कार्यलाई अघि बढाउन दुबै संस्थाको सहमतिमा नियम र सर्तहरु समेत तयार गरिएको छ । यसका लागि दुबै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठ्यक्रम तयार गरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने छ । जसका लागि नाडाका सदस्य कम्पनीहरुले आफ्ना आवश्यकता अनुसार कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिन सिफारिस समेत गर्नेछ । जसमा सैद्धान्तिक तथा व्यावहारिक दुबै खालको तालिम समावेश हुनेछ ।

नाडाले आफनो इतिहासमा पहिलो पटक यस किसिमको तालिमहरु सञ्चालन गर्न लागेको हो र नाडाले यसलाई दिर्घकालसम्म संचालन गर्ने उद्धेश्य राखेको छ । यस किसिमको तालिमले अटोमोवाइल क्षेत्रमा सहज रुपमा दक्ष जनशक्ति पूर्ति हुने विश्वास नाडाले लिएको छ । यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालय समेतको व्यवस्था गरिसकेको छ ।

नाडाले यस किसिमका कार्यहरु सुचारु रुपले सञ्चालन गर्न उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष निराकार श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, कपिल शिवाकोटी, बरदान बस्नेत, तथा सोहन श्रेष्ठ सहितको ६ सदस्यीय शीप विकास इकाई समेत गठन गरेको छ ।

नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।