निजी क्षेत्रलाई उर्जा व्यापारका लागि बाटो खुल्दै


ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई विद्युत व्यापारका लगि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । बजेटका कारण विद्युत विधेयकमा ढिलाइ भएको बताउँदै मन्त्री बस्नेतले अब विधेयक संसदमा टेबल हुने र निजी क्षेत्रलाई व्यापारको बाटो खोल्ने बताएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उर्जा उत्पादन गरेर मात्र नपुग्ने भन्दै नीजि क्षेत्रलाई उर्जा व्यापारका लागि तयार हुन आग्रह गरेका हुन् ।

इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेपछि विद्युत उत्पादन छोटो समयमै ३ हजार मेगावाट पुगेको र व्यापारको लागि पनि निजी क्षेत्र नआई नहुने अवस्था उत्पन्न भएको बताएका थिए । जवाफमा उर्जामन्त्री बस्नेतले विद्युत व्यापारका लागि निजी क्षेत्रलाई ढोका खोलिने बताएका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमण एउटा ‘ब्रेक थ्रु’ भएको भन्दै मन्त्री बस्नेतले अहिले परिस्थिती धेरै परिवर्तन भइसकेको बताए । “न भारत हिजोको ठाउँमा छ, न नेपाल हिजोको जस्तो छ,” मन्त्री बस्नेतले भने ।

१० हजार मेगावाट विद्युत उत्पादन सम्भव भएको दाबी गर्दै मन्त्री बस्नेतले बुझाइ र परिस्थितिमा ग्याप भए पनि आगामी १० वर्षभित्र १० हजार मात्र नभई २० हजार मेगावाट विद्युत व्यापार गर्ने परिस्थिती बन्ने बताए ।

उत्पादनमा हामी ‘सरप्लस’ भएपछि भारत, बंगलादेश लगायतका मुलुकसँग व्यापारको कुरा सुरु भएको बताएका मन्त्री बस्नेतले त्यसका लागि पूर्वाधार निर्माण ठूलो आवश्यकता भएको बताए । लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था सुधार गर्ने, सेवाप्रवाह चुस्त बनाउने लगायत विषयलाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बताएका उनले उत्पादन मात्र महत्वपुर्ण नहुने बताए । लगानीको वातावरण बनाएर उत्पादन बढाउँदै पुर्बाधार बिस्तार गरी व्यापारमा जोड्ने उनको भनाई थियो ।

सरकारले निर्धारण गरेको लक्ष्य पुरा गर्न नजी क्षेत्रसँग सहकार्य गर्ने बताएका उनले नजी क्षेत्रको समस्या समाधानका लागि पहल गर्ने आश्वासन समेत दिए ।

उत्पादनको दृष्टिबाट पूर्वाधार अभाव जस्तो देखए पनि निर्माणाधीन प्रसारणलाइन र सवस्टेशनहरु सम्पन्न भएपछि फेरि उत्पादनमै फर्किनुपर्ने अवस्था आउने उनको भनाई थियो ।

ऊर्जा मन्त्रालयले ‘विकासको लागि ऊर्जा’ अभियान सुरु गर्न लागेको भन्दै खपत गर्ने क्षमता वृद्धिको अभियानमा सतप्रतिशत विद्युतीकरण, औद्योगिक खपत बढाउने, घरयासी प्रयोजनमा ग्यास विस्थापित गर्ने, सिंचाई, यातायातलगायतका सबै क्षेत्रमा ऊर्जा खपत बढाउने अभियान पनि सुरु गर्न लागेको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।