महानगरपालिकाले किन बन्द गर्यो कान्तिपुर हिसान शैक्षिक मेला ? आयोजकको भागमभाग, प्रदर्शक अलपत्र


काठमाण्डौं महानगरपालिकाले राजधानीको भृकुटीमण्डपमा सुरु भएको कान्तिपुर हिसान शैक्षिक मेला बन्द गरेको छ । नियम विपरितका कामहरु गरिएको भन्दै महानगरले बिहीबार मेला सुरु भएको केही बेरमा बन्द गरेको हो ।

महानगर प्रहरीले बिहीबार मेला बन्द गराएपछि आयोजकहरु सम्पर्क बिहीन भएका छन् । आयोजकहरु सम्पर्क बिहीन भएपछि मेलामा सहभागिता जनाएका प्रदर्शकहरु अलपत्र परेका छन् ।

महानगर प्रहरीले प्रर्दशनीस्थलमा पुगेर विद्यार्थीहरुको तथ्यांक संकलन गरेको भन्दै मेलास्थल पूर्ण रुपमा बन्द गरि शील समेत गरेको हो । अहिले मेलास्थलबाट सबै अवलोकनकर्ता तथा प्रदर्शकरुलाई बाहिर निकालिएको छ भने मेलास्थलको बाहिर सुरक्षा गार्ड बसेका छन् ।

महानगरले कलेजले लिने शुल्कका सम्बन्धमा विद्यार्थीहरुलाई प्रचार प्रसार गरेको र यस्तो काम गर्न नपाइने भन्दै महानगर प्रहरीले मेला बन्द गरेको मेलाका एक सहभागी प्रदर्शकले नोटबजारलाई जानकारी दिए । “तपाईहरुले विद्यार्थीको डाटा जम्मा गर्ने अनि मेलामा विद्यार्थीलाई कलेज शुल्कको प्रचार प्रसार गर्नुभयो, यस्तो गर्न पाइँदैन, तत्काल मेला बन्द गर्नुस् भनेर सबैलाई प्रदर्शनीस्थलबाट बाहिर निकालियो,” उनले भने, “मेला तत्काल बन्द नगरे बल प्रयोग हुने भनेपछि सबै बाहिर निस्किए ।”

मेला बन्द भएसँगै मेलाका आयोजकहरुको भागमभाग भएको छ । मेलामा सहभागि भएका प्रदर्शकहरु अलपत्र परेका छन् । “मेला बन्द गरेपछि भएको के हो, अब के हुन्छ भनेर जानकारी गराउनुपर्नेमा आयोजकहरु सम्पर्कमा आएका छैनन्, हामी के गर्ने भनेर अन्यौलमा छौं,” मेलाका अर्का एक सहभागि प्रदर्शकले भने । “भोलि मेला के हुन्छ, हामीले मेलामा गरेको लगानी के हुन्छ भन्ने सम्बन्धमा आयोजकले सहजीकरण गर्नुपर्नेमा सम्पर्कविहीन भएपछि समस्यामा परियो,” उनले भने ।

अहिले मेलास्थलमा आयोजकका कोही प्रतिनिधि छैनन् । सबै अवलोकनकर्ताहरुलाई बाहिर निकालिएको छ । प्रदर्शकहरु भने आयोजक सम्पर्कविहीन भएको भन्दै आक्रोशित बनेका छन् ।

उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान) ले जेठ ३२ गतेदेखि असार ३ गतेसम्म मेला आयोजना गरेको हो । प्रकृयागत अनुमति लिनुका साथै पाठ्यक्रमका सम्बन्धमा मात्र जानकारी गराउने गरि मेला सञ्चालन गर्न महानगरले भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।