राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँड


राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड सम्पन्न गरेको छ । बिहिबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले ४२ लाख भन्दा बढी रकम प्राप्त गरेको बैंकले जनाएको छ ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ/संस्थाहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १८ करोड ५५ लाख १२ हजार ६ रुपैयाँ १५ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको बैंकले जनाएको छ ।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १५ हजार ४७४ सहकारी संघ/संस्थाहरु को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् ।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ४२ लाख ७ हजार ७ सय २७ रुपैयाँ तथा कर्जा तर्फ ११ लाख ४८ हजार ४ सय ९८ रपैयाँ सम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बताए ।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ७३३ रहेका छन् । हाल बैंकमा १६ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।

यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई आर्थिक वर्ष २०७८/०७९ को लागि बैंकको १९औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पुस १८ गते वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।