आर्थिक वर्ष सकिन एक महिना रहँदा बजेट खर्च साढे ६५ प्रतिशत, संशोधित लक्ष्य पनि पूरा नहुने संकेत

0
Shares

चालु आर्थिक वर्ष २०७९/८० को एघार महिना पूरा हुँदा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ६५.५६ प्रतिशत मात्र भएकोे छ । हालसम्म संशोधित अनुमानको ७८.१४ प्रतिशत मात्र बजेट खर्च भएको छ । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०८० जेठ ३२ गते विहीबारसम्म ११ खर्ब ७६ अर्ब ६ करोड ५७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो । चालु आवका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

सरकारको अहिलेसम्मको खर्चको अवस्था हेर्दा बजेट खर्चको संशोधित लक्ष्य समेत पूरा नहुने देखिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका थिए । जुन चालु आवको कुल बजेटको ८३ प्रतिशत हुन आउँछ । संशोधित लक्ष्य पूरा हुन पनि अबको एक महिनामा ३ खर्ब २८ अर्ब ९३ करोड बजेट खर्च गर्नुपर्ने हुन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब ६ करोड ५७ लाख रुपैयाँ बजेट खर्च भएकोमा चालुतर्फ ८ खर्ब ७७ अर्ब ३९ करोड अर्थात ७४.१५ प्रतिशत, पुँजीगततर्फ १ खर्ब ५३ अर्ब ८ करोड अर्थात ४०.२४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ४५ अर्ब ५८ करोड रुपैयाँ अर्थात् ६३.२४ प्रतिशत बराबर मात्रै खर्च भएको छ ।

अर्थमन्त्रीले प्रस्तुत गरेको संशोधित अनुमान अनुसार चालु आवको अन्त्यसम्ममा कुल सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड अर्थात विनियोजनको ८३.९० प्रतिशत हुने संशोधित अनुमान छ ।

कुल सरकारी खर्च मध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड अर्थात विनियोजनको ८८.१८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड अर्थात विनियोजनको ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २ खर्ब ३ अर्ब २६ करोड अर्थात विनियोजनको ८८.२९ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको छ।

चालु आवको एघार महिनाको अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५९.६४ प्रतिशत अर्थात ८ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ बराबर देखिएको छ । चालु आवका लागि सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर सकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा चालु आर्थिक वर्ष राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ८४ करोड अर्ब हुने संशोधित अनुमान गरेको छ। यो लक्ष्यको तुलनामा ८४ प्रतिशत हो भने गत वर्षको तुलनामा ५.९५ प्रतिशतले कम हो।

खासगरी आयात नियन्त्रण गर्न लिइएको नीति, आर्थिक गतिविधिमा आएको शिथिलता लगायतका विविध कारणले राजस्व परिचालन कमजोर रहन गएको अर्थमन्त्रीको भनाई छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको एघार महिनामा ८ खर्ब ३६ अर्ब ८५ करोड राजश्व संकलन भएको छ । संकलित राजस्वमध्ये कर राजस्वतर्फ ७ खर्ब ५९ अर्ब, गैरकर राजस्वतर्फ ७७ अर्ब ८५ करोड र वैदेशिक अनुदानतर्फ ४ अर्ब ८० करोड रुपैयाँ बराबर संकलन भएको छ । यही अवधिमा अन्य प्राप्ति शीर्षकको राजस्व ३८ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।

सरकारले चालु आवमा वैदेशिक अनुदानतर्फ ३८ अर्ब ४६ करोड र वैदेशिक ऋणतर्फ १ खर्ब ७० अर्ब ५४ करोड परिचालन हुने संशोधित अनुमान गरेको छ। त्यस्तै चालु आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन २ खर्ब ५६ अर्ब हुने संशोधित अनुमान सार्वजनिक गरेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।