एफवान सफ्टले ६ महिनामा गर्यो ६ अर्ब बढी सञ्चालन आम्दानी


नेपालको पहिलो फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनलले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६४ करोड सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनाको तथ्यांकसँग गत आवको तथ्यांकलाई तुलना गर्दा गत आवको तुलनामा चालु आवमा कम्पनीको आम्दानी २१.७९ प्रतिशतले घट्ने देखिन्छ ।

अघिल्लो आवको तुलनामा कम्पनीको आम्दानीका साथै अन्य वित्तीय सूचकांकमा समेत गिरावट आएको छ । ह्रासकट्टी, अर्मोटाइजेनी, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा गत आवमा कुल सञ्चालन आम्दानीको १.६ प्रतिशत रहेको थियो भने चालु आवमा सो नाफा १.५ प्रतिशत रहेको छ ।

सन् २००४ को मार्च महिनाबाट सञ्चालनमा आएको कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुको मोबाइल बैंकिङ प्रणाली र इन्टरनेट बैंकिङ प्रणालीको विकास गर्दै आएको छ । फिनटेक क्षेत्रमा एफवान सफ्टका विविध भगिनी संस्थाहरु समेत सञ्चालनमा छन् । कम्पनीले नेपालमा अधिक प्रयोग गरिने डिजिटल वालेट इ–सेवा, इ–सेवा मनी ट्रान्सफर लगायतका डिजिटल वालेट र भुक्तानी सेवा प्रदायक फोनपे पेमेन्ट सर्भिस सञ्चालन गर्दै आएको छ ।

कम्पनीमा अधिकतम सेयर हिस्सा विश्वास ढकालको छ । ३५ प्रतिशत सेयर हिस्सा भएका उनी कम्पनीका अध्यक्ष हुन् ।

कम्पनीले ७७ करोड १२ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ४५ करोड १२ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले ट्रिपल बी प्लस रेटिङ गरेको छ भने ३२ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए२ रेटिङ गरेको छ । ट्रिपल बी प्लस रेटिङले कम्पनीलाई कर्जा दिँदा जोखिम नरहने जनाउँछ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज तिर्न सक्ने क्षमता कुल ऋणको २.९ गुणा रहेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीले भारी मात्रामा लगानीकर्ताहरुलाई लाभांश वितरण गरेको थियो । जसका कारण स्वस्थकर वृद्धि भइरहेको कम्पनीको वित्तीय सूचकांक प्रभावित भएका हुन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।