कर्णाली प्रदेशको कर्जा वृद्धि ११.३५%, कर्जा निक्षेप अनुपात ९५ प्रतिशत

0
Shares

कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धि दर ११.३५ प्रतिशत रहेको छ । बैंक वित्तीय संस्थाले निजी क्षेत्रमा प्रबाह गरेको कुल कर्जा वृद्धिदर ३.१ प्रतिशत रहेको अवस्थामा पनि कर्णाली प्रदेशको कर्जा विस्तार दोहोरो अंकमा बढेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ११.३५ प्रतिशतले बढेर ५९ अर्ब ५० करोड ९७ लाख पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा २७.८४ प्रतिशतले बढेर ५३ अर्ब ४४ करोड ६० लाख पुगेको थियो । आव. २०७९/८० को साउन देखि पुस मसान्तमा यस प्रदेशको कर्जा तथा निक्षेप अनुपात ९५.०६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात गत अवधिमा ११३.०७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप, गत आर्थिक वर्षको सोही अवधिको निक्षेपको तुलनामा २६.९४ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५९ करोड २५ लाख पुगेको छ । गत आवको सोही अवधिमा यस्तो निक्षेप १३.५३ प्रतिशतले वृद्धि भई ४९ अर्ब ३० करोड ८० लाख पुगेको थियो ।

चालु आवको पहिलो ६ महिनामा कर्णाली प्रदेशमा बढेको रेमिटयान्स आप्रवाह, बैंकिङ्ग सेवामा आएको बिस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ५१.८८ प्रतिशत रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । कर्णाली प्रदेशको उद्योगहरुको उपयोग क्षमतामा प्रशोधित दुधको उपयोग क्षमता सबैभन्दा बढी ६६.६७ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा कम उपयोग क्षमता जि.आई. तार उद्योगको २२.३५ प्रतिशत रहेको छ ।

त्यसैगरी, जि.आई पाईप, गहँुको पिठो, चिरेको काठ, चामल र प्लाष्टिकका सामान उद्मोगकोे उपयोग क्षमता क्रमश ६७.५० प्रतिशत, ६६.६७ प्रतिशत, ५०.० प्रतिशत, ५०.० प्रतिशत र ४०.० प्रतिशत रहेको छ ।

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार कर्णाली प्रदेशमा जम्मा ३ हजार ५ सय २६ वटा कम्पनी दर्ता भएका छन । जुन अन्य प्रदेशको तुलनामा सवैभन्दा कम अर्थात कुल दर्ता भएका कम्पनीहरुको १.२४ प्रतिशत मात्र हो । यस प्रदेशमा संचालनमा आएका लघु, घरेलु तथा साना उद्योगहरुको संख्या २९ हजार २ सय ४८ छन । ती उद्योगमा एक लाख ३३ हजार ९ सय ६५ रोजगारी सिर्जना भएको अनुमान केन्द्रीय बैंकको छ।

चालु आवको पहिलो ६ महिनामा भारत र तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिने पर्यटकको संख्या क्रमशः ८०.९७ प्रतिशत र ४३.७२ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेशन संख्या २ हजार ५ सय ५५ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५९ प्रतिशतले कम हो । त्यसैगरी, घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व १० करोड ७७ लाख पुगेको छ । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८१.८९ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को कुल गाहस्थ्य उत्पादन ४९ खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँ मध्ये कर्णाली प्रदेशले ४.१ प्रतिशत हिस्सा ओगटेको थियो । आर्थिक वर्ष २०७९/८० मा कुल गाहस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ बरावरको हुने अनुमान गरिएकोमा सबैभन्दा कम ४.१ प्रतिशतको योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा करिब २ खर्ब २१ अर्ब हुने अनुमान केन्द्रीय तथ्याङ विभागको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।