ऋणपत्रबाट ५ अर्बको स्रोत संकलन गर्दै कुमारी बैंक, दश वर्षसम्म वार्षिक १०% ब्याज दिने

0
Shares

कुमारी बैंकले दीर्घकालीन लगानीको स्रोत संकलनका लागि वार्षिक १० प्रतिशत ब्याजदर दिएर दश वर्षका लागि ५ अर्ब रुपैयाँ उठाउने भएको छ ।

बैंकले ‘केबिएलएम डिबेञ्चर २०९०’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।जसमा लगानीकर्ताले १० वर्षसम्म वार्षिक १० प्रतिशतकादरले ब्याज भुक्तानी पाउनेछन् । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने गर्दछ ।

बैंकले सर्वसाधारणमा प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरका ५० लाख ऋणपत्र बेच्ने भएको हो । ऋणपत्र निष्कासन गर्नका लागि बैंकले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ३१ गते सेबोनमा निवेदन दिएको हो ।

सेबोनबाट स्वीकृती पाएपछि बैंकले कुल ५० लाख कित्तामध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकले लगानीयोग्य रकमको अभाव हुने समस्या झेलिरहनुभन्दा ऋणपत्र मार्फत निश्चित ब्याजदरमा रकम उठाएर लगानी गर्न चाहेको हो ।पूँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिबेञ्चर निष्कासनले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

बैंकको ऋणपत्र निष्कास तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

ऋणपत्रका खरिदका फाइदा

कम्पनीको शिलमोहोर लागेको लिखित प्रतिज्ञापत्र नै ऋणपत्र हो ।

लगानीकर्तालाई साँवा भुक्तानी हुने मिति, ब्याज भुक्तानी दर, प्रकृया तथा प्रत्येक ऋणपत्रको अंकित मूल्य पनि उल्लेख गरिएको हुन्छ ।

कुनै पनि कम्पनीले ऋण पूँजी उठाउन चाहेमा सो कम्पनीको जारी पूँजी चुँक्ता भएको हुनुपर्ने व्यवस्था छ ।

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले तोकिएको समयमा तोकिएको ब्याज भुक्तानी पाउने भएकाले बैंक निक्षेपमा भइरहने ब्याजदर परिवर्तनको जोखिमबाट लगानीकर्ता मुक्त हुन्छन् । जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्र लगानीको उत्तम विकल्प मान्न सकिन्छ ।

साधारण सेयर तथा अग्राधिकार सेयरधनीलाई लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गएपनि लगानीकर्ताले ब्याज प्राप्त गरी नै रहन्छन् । कम्पनी नोक्सानमा गयो भन्दैमा लगानीकर्ताले ब्याज नपाउने भन्ने हुँदैन । त्यसैले पनि ऋणपात्रको लगानी सुरक्षित मानिन्छ ।

यदि कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर समयमा प्राप्त गर्न असमर्थ भएमा ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले कम्पनीलाई खारेजीमा पठाउन कारवाही समेत चलाउन सक्ने व्यवस्था हुन्छ । शेयर बजारमा ऋणपत्रमा भन्दा जोखिम हुन्छ । त्यसैले शेयर बजारमा जोखिम देख्ने लगानीकर्ताले ऋणपात्रमा लगानी गर्न आकर्षित भएका हुन्छन् । त्यसैले जोखिम उठाउन नखोज्ने लगानीकर्ताहरुले ऋणपत्रमा लगानी गर्नु उत्तम मानिन्छ ।

ऋणपत्रका लगानीकर्ताले ऋणपत्र जारी गर्ने कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मताधिकार भने हुँदैन । ऋणपत्रको ब्याजदर पहिले नै निर्धारित हुन्छ । त्यसैले कम्पनीले धेरै नाफा कमाउँदा पनि लगानीकर्ताहरुको नाफामा थप दाबी गर्ने अधिकार हुँदैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।