थ्रीस्टार हाइड्रोपावरको आईपीओ निष्कासन, कस्तो छ कम्पनी ?


थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६ करोड १३ लाख १६ हजार २०० रूपैयाँ बराबरको ६ लाख १३ हजार १६२ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रूपैयाँको १५ प्रतिशतले हुन आउने ७ लाख ३८ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको छ । यसमध्ये सर्वसाधारणमा जारी सेयरको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ ।

बाँकी रहेको ६ लाख ६४ हजार ८७५ कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता सेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ७७५ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । यसरी बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट माग गरिएको हो ।

लगानीकर्ताले हाइड्रोपावरको आईपीओमा आजदेखि असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि कम्पनीले गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरुको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कहाँबाट दिन सकिन्छ आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

कस्तो छ थ्रीस्टार हाइड्रोपावर ?

कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ चारदोबाटो भक्तपुरमा रहेको छ । कम्पनीले खोटाङमा रहेको साप्सुप खोलामा ६.६० मेगावाट क्षमताको थ्रीस्टार हाइड्रोपावर लिमिटेडको प्रर्वद्धन गरिरहेको छ । यस जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रतिमेगावाट २१ करोड ६ लाख रूपैयाँका दरले १ अर्ब ३९ करोड रूपैयाँ रहेको छ ।

विसं २०७८ पुस २३ गतेदेखि ब्यापारिक रुपमा विद्युत उत्पादन गर्दै आएको यस आयोजनाको गरिएको साधारण लगानी फिर्ता हुने अवधि ६.२२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.४३ वर्ष लाग्ने कम्पनीले जनाएको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष २ महिना बाँकी रहेको छ । पिकिङ्ग रन अफ रिभर प्रकृतिको यस आयोजनाबाट ३९ हजार १६० मेगावाट क्षमता विद्युत शक्ति उत्पादन हुनेछ ।

वित्तीय अवस्थामा कम्पनीको अवस्था निकै कमजोर नै देखिएको छ । गत आव २०७८\७९ मा कम्पनीको सञ्चित जगेडा नोक्सानी ५ करोड २९ लाख ९२ हजार रहेको कम्पनी चालु आवको पुस मसान्तसम्म ४ करोड ५८ लाख ८३ हजार रुपैयाँमा पुगिसकेको छ । चालु आवको अन्त्यसम्ममा कम्पनीको कम्पनीको सञ्चित जगेडा नोक्सानी ३८ लाख ४९ हजारमा खुम्चाउने कम्पनीको आंकलन ६ महिनामा देखिएको साढे ४ करोड बढीको जगेडा नोक्सानीसँग मेल खाने देखिँदैन । यस्तै कम्पनीले आव २०८०\८१ मा ५ करोड ६० लाख र आव २०८१\८२ मा १२ करोड ७५ लाख रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

चालु आवको ६ महिनामा कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ९ पैसा र वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा रहेको छ । गत आवमा कम्पनीको इपीएस १० रुपैयाँ २२ पैसा ऋणात्मक थियो । कम्पनीले चालु आवमा ९ रुपैयाँ ८८ पैसा, आव २०८०\८१ मा १२ रुपैयाँ १७ पैसा र आव २०८१\८२ मा १४ रुपैयाँ ५१ पैसा पु–याउने आंकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।