दोस्रो धेरै बोलिने मैथिली भाषामा राष्ट्र बैंकको वित्तीय सचेतना, ‘ठगिनबाट बच्नुस्’


नेपाल राष्ट्र बैंकले भाषिक समावेशिताका लागि मैथिली भाषामा पनि वित्तीय जानकारी तथा सूचना सार्वजनिक गर्न थालेको छ । सचेतना तथा अन्य जानकारी सम्प्रेषण गर्न नेपाली भाषालाई पहिलो प्राथमिकता दिइँदै आएकोमा राष्ट्र बैंकले मैथिली भाषामा पनि सचेतना सम्बन्धि जानकारीहरु सार्वजनिक गर्न थालेको हो ।

पछिल्लो समय विद्युतीय कारोबार बढ्दै जाँदा सोही माध्यमबाट ठगीका घटना समेत मौलाउन थालेपछि राष्ट्र बैंकले वित्तीय कारोबारका सम्बन्धमा सचेत गराउन थालेको छ । बिहीबार राष्ट्र बैंकले मैथिली भाषमा लक्षित वर्गलाई विद्युतीय कारोबार गर्दा ध्यान दिन समेत गराएको छ ।

जनगणनाको हिसाबले मैथिली भाषा दोस्रो धेरै बोलिने भाषा हो । मैथिली भाषा बोल्ने र नेपाली भाषा नबुझ्नेहरु पनि रहेको अवस्थामा उनीहरुलाई लक्षित गरी सचेतनाको सूचना मैथिली भाषमा सर्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ ।

“हामीले जनगणनाको हिसाबले मैथिली भाषाबाट सूचना प्रकाशित गरेका हौं, आवश्यकता अनुसार अन्य भाषामा पनि वित्तीय सूचना प्रकाशित गर्नेछौं,” राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेलले नोटबजारसँग भने ।

तराईका पूर्वदेखि पश्चिमसम्म मौथिली भाषीको बस्ती धेरै रहेको बताउँदै उनले त्यहाँका बासिन्दाले नेपाली भाषा नबुझ्ने भएकाले मैथिली भाषामा सचेतना सामग्री सम्प्रेषण गरिएको पाेखरेलले जानकारी दिए । नेपालको जनसंख्याको झण्डै १२ प्रतिशतले मैथिली भाषा बोल्ने गरेका छन् ।

पछिल्लो समय अनाधिकृत व्यक्तिहरुले आफू बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भन्दै ग्राहकहरुलाई ठगिरहेको घटना बढेको अवस्थामा विद्युतीय भुक्तानी गर्ने समयमा सतर्क रहन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

आफू बैंक तथा वित्तीय संस्थाको कर्मचारी भएको बताउँदै केही मानिसहरुले ग्राहक पहिचान सम्बन्धी विवरण (केवाइसी) अद्यावधिक गर्न ग्राहकको मोबाइलमा आउने वान टाइम पासवर्ड (ओटिपी) तथा निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज लगायतका विवरण माग्ने गरेको घटना आइरहेका छन् ।

यसरी अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ र कनेक्ट आईपिएस र वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

यस्ता ठगीबाट जोगिनका लागि कुनै पनि परिचित तथा अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्न र नगराउनका लागि राष्ट्र बैंकले अनुरोध गरेको हो ।

साथै कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो घटनाको जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन बैंकले आग्रह गरेको छ ।

यसका साथै, भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरुलाई यस्ता गतिविधिहरुलाई सुक्ष्म रुपमा निगरानी गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।