बैंकिङ प्रणालीमा पैसा थुप्रियो, रिभर्स रिपो मार्फत १० अर्ब खिच्दै राष्ट्र बैंक

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार सञ्चालनका लागि बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले रिभर्स रिपो मार्फत बिहीबार १० अर्ब रुपैयाँ खिचको हो । अहिले वित्तीय प्रणालीमा ४० अर्ब बढी अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ । १० अर्बको रिभर्स रिपो जारी गरेपछि अधिक तरलताको स्थिति ३२ अर्ब रहनेछ ।

अहिलेको अवस्थामा अन्तर बैंक ब्याजदर चार प्रतिशत हाराहारीमा झरेको छ । रेमिट्यानस आप्रवाहमा देखिएको निरन्तरको सुधार तथा कर्जा प्रवाहको दरमा आएको कमीले वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति आएकाले रिभर्स रिपो जारी गरिएको राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नीतिगत ब्याजदरभन्दा २ प्रतिशत विन्दुले अन्तरबैक ब्याजदर तल माथि हुदा रिपो तथा रिभर्स रिपो मार्फत तरलता बैकिङ प्रणालीमा पठाउने र खिच्ने बताएको थियो ।

नीतिगत ब्याजदर ७ प्रतशत रहेको अवस्थामा अन्तरबैक ब्याजदर ५ प्रतिशतभन्दा तल झरेपछि रिभर्स रिपो जारी गर्नुपर्नेमा ४ प्रतिशतबाट पनि तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता खिच्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक वित्तीय संस्थाहरुमा कुल निक्षेप ५५ खर्ब ६७ अर्ब भन्दा धेरै रहेको छ । असार ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५६ अर्ब कर्जा लगानी गरेका छन ।

राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरुमा ४९ खर्ब ११ अर्ब तथा अन्य वित्तीय संस्थामा ६ खर्ब ५६ अर्ब निक्षेप रहेको छ भने यस अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब ९९ अर्ब कर्जा प्रवाह गर्दा अन्य वित्तीय संस्थाले ५ खर्ब ५७ अर्ब कर्जा परिचालन गरेका छन ।

बैंकहरुमा निक्षेप थपिने तथा कर्जा प्रवाहको दर घट्दा कर्जा निक्षेप अनुपात ८४ प्रतिशत भन्दा तल झरेको छ । अहिले यस्तो अनुपात ८३.९९ प्रतिशत छ । यस्तै अधिक तरलताले अन्तर बैंक ब्याजदर घटेर ४.०१ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानी योग्य पूँजी (तरलता) अत्याधिक भएपछि असार ७ गते बिहीबार एक साता अवधिको लागि १० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको हो । रिपोमा सहभागी हुन चाहने बैंकहरुले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

रिभर्स रिपो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ । ब्याजदर निर्धारण भने निक्षेप संकलन उपकरण मार्फत् बोलकबोल प्रक्रियाबाट हुनेछ । वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्न लागेको हो ।

बजारमा अधिक तरलता हुँदा ब्याजदरमा अस्वभाविक उतार–चढाव आउने जोखिम हुन्छ । वित्तीय प्रणालीमा देखिएको उच्च तरलताले आगामी दिनमा बैंक वित्तीय संस्थाको ब्याजदर अझै घट्न सक्ने देखिन्छ । तरलता धेरै हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रशोचन गर्ने गर्दछ भने कमी हुँदा राष्ट्र बैंकले उपकरणबाट तरलता समेत प्रवाह गर्दै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।