बैंकिङ प्रणालीबाट प्रवाह भएको कर्जा दुरुपयोग गरी अनुत्पादक क्षेत्रमा भएको अधिक लगानी अहिलेको मुख्य समस्या रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार ऋणीले कर्जा लिँदा उल्लेख गरेको उद्देश्य विपरित घरजग्गा र सेयर बजारमा लगानी गरेपछि बैंकिङ क्षेत्रको खराब कर्जा बढेको हो ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा गरेको स्थलगत निरिक्षण अनुसार ओभर फाइनान्सिङ र आर्थिक गतिविधिमा आएको सुस्तता अहिलेको बैंकिङ क्षेत्रको मूख्य समस्याको रुपमा रहेको औंल्याएको हो । पछिल्लो समयमा बैंकहरुबाट विशेष गरी अनुत्पादक क्षेत्रमा अधिक कर्जा लगानी, कोरोना महामारीपछिको आर्थिक गतिविधिमा आएको सुस्तता, निर्माण क्षेत्रको सुस्तता, ओभरफाइनान्सीङ, कर्जा लिने क्रममा उल्लेख गरेको प्रयोग भन्दा विपरित प्रयोग बढ्नु, ब्याजदरमा बढोत्तरी लगायतले ऋणीको कर्जा भुक्तानी गर्ने क्षमता कमजोर बनाएको केन्द्रीय बैंकको निरीक्षणले औल्याएको हो । ऋणीको कर्जा भूक्तान गर्ने क्षमतामा आएको ह्रासले बैंकिङ खराब कर्जा बढेको राष्ट्र बैंकको ठहर छ ।
बैंकहरुले चालु पुँजीका लागि आवश्यकता भन्दा धेरै कर्जा लगानी गरेको केन्द्रीय बैंकको अनुगमनमा देखिएको छ । “चाहिने भन्दा धेरै चालु पुँजी कर्जा प्रबाह भएको भेटिएको हो,” स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख छ,“उक्त ओभर फाइनान्सीङका कारण जुन उद्देश्यका लागि कर्जा लिइएको हो त्यो भन्दा अन्य शिर्षकमा जस्तै रियल स्टेट, सेयर बजारमा लगानी हुन गयो । त्यसैले ऋणीको कर्जा भुक्तानीको सीमा कमजोर भयो । त्यसले खराब कर्जा बढायो ।”
बैंकिङ क्षेत्रमा ओभर फाइनान्सीङको समस्या बढदै गएपछि केन्द्रीय बैंकले चालु पुँजी कर्जा मागर्दशन २०७९ जारी गरिसकेको अवस्था छ । त्यसका साथै कर्जाको दुरुपयोगलाइ नियन्त्रण गर्न समेत उक्त मागर्दशनले काम गर्ने केन्द्रीय बैंकको दाबी छ । त्यसका साथै मागर्दशनको प्रभावकारी कार्यान्वयनपछि ओभरफाइनान्सिङ, कर्जाको दुरुपयोग जस्ता समस्याहरु न्यूनिकरण हुने केन्द्रीय बैंकले जनाएको छ ।
पछिल्ला केही वर्षमा जोखिमयुक्त सम्पत्तिको उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै केन्द्रीय बैंकले खराब कर्जाको बढ्दो अनुपात र केही कर्जाहरुमा गरीएको जोखिम व्यवस्थाले पुँजी प्रयाप्तता अनुपातमा दवाव परेको जनाएको छ । विशेषगरी बैंकहरुको टियर वान क्यापिटलमा दबाब परेको छ । केही बैंकको टियर वान क्यापिटल नियामकीय सीमाको नजिक पुगेको छ भने कतिपयको न्यूनतम क्यापिटल कन्जभेरसन बफरको सीमा भन्दा तल आएपछि लाभांश वितरणमा रोक लगाएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रको अस्थिर तरलताको अवस्थालाई पनि केन्द्रीय बैंकले समस्याको रुपमा लिएको छ । नेपाली बैंकिङ क्षेत्रमा तरलता संकुचनको समस्या नियमित घट्ने क्रम जस्तो भएको छ । गत वर्ष बैंकिङ क्षेत्रले चरम तरलता अभावको समस्या भोग्नु परेको राष्ट्र बैंकले जनाएको छ । तरलताको समस्या अझै पनि पुर्ण रुपमा सहज हुन सकेको अवस्था छैन ।
विगतको समयमा बैंकहरुले तरलता अभावको समस्याका कारण बैंकहरुले अधिक स्थायी तरलता सुविधाको उपभोग गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ । यो अवधिमा अन्तर बैंक दरपनि उच्च तहमा पुग्यो भने बैंकहरुले निक्षेप आकर्षित गर्न विभिन्न योजनाहरु सञ्चालन गरेपनि ब्याज बढ्यो तर निक्षेप बढ्न सकेन ।
गत वर्षमा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको मुख्य कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब हो । बैंकहरुले प्रवाह गरेको कर्जाको अधिकांश हिस्सा आयातका लागि गयो । आयात उच्च भएपछि विदेशी मुद्रामा समेत उच्च गिरावट आएको केन्द्रीय बैंकको ठहर छ । कोरोना महामारीका कारण पर्यटकको आवागमनमा आएको सुस्तताले समेत विदेशी मुद्रा सञ्चितिको सुधार हुन नसकेको केन्द्रीय बैंकको विश्लेषण छ । त्यसले समेत तरलतामा झनै दबाब थपेको देखिन्छ ।
पछिल्लो केही बर्षमा बैंकहरुको खराब कर्जा र गैर बैंकिङ सम्पत्तिमा समेत वृद्धि भएको केन्द्रीय बैंकको निष्कर्ष छ । ऋणीले समयमा कर्जा तिर्न नसक्ने तथा उठ्न नसकेको व्याजमा आएको वृद्धिले आगामी दिनमा झनै बढ्न सक्ने केन्द्रीय बैंकको अनुमान छ । बैंकिङ क्षेत्रको व्यवसाय र क्षेत्र विस्तार भएसँगै बैंकिङ क्षेत्रमा ठगी पनि बढेको केन्द्रीय बैंकको बुझाइ छ । बैंकका ग्राहक, कर्मचारी, व्यवस्थापन मात्र नभइ सञ्चालक समितिका सदस्यहरुको समेत खराब नियतका कारण पनि ठगी बढेको केन्द्रीय बैंकको ठहर छ । त्यसैगरी कृत्रिम धितो, ग्राहकको निक्षेपको दुरुपयोग, ग्राहकबाट घुसको लेनदेनले पनि बैंकिङ अपराधका घट्नहरु बढेको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकिङ अपराधले व्यक्ति तथा संस्था दुबै पक्षलाई जोखिममा पार्छ । बैंकिङ ठगीमा सहभागी हुने धेरै जसो जेल गएका छन् भने केही अदालतमा मुद्दाको सामना गर्नु परेको छ । त्यसैगरी संस्थागत रुपमा कानुनी र क्रेडिबिलिटी जोखिममा परेको अवस्था छ । बैंकिङ ठगीका कारण केन्द्रीय बैंकले व्यवस्थापन लिने तथा संस्था नै खारेज गर्नेसम्मको कदम चालेको छ । यस्तो समस्याहरुको सम्बोधनका लागि केन्द्रीय बैंकले बैंकहरुलाई जोखिम व्यवस्थापनका लागि निरन्तर उत्प्रेरित गर्दै आएको जनाएको छ ।
कोरोना महामारीपछि प्रविधिमैत्री बैंकिङ कारोबार अस्वभाविक रुपमा बढेको छ । वित्तीय सेवा प्रदायकले डिजिटल बैंकिङलाई सहज र सस्तो बनाएको केन्द्रीय बैंकको बुझाइ छ । डिजिटल बैंकिङको प्रवद्र्धनले अनौपचारिक अर्थतन्त्रलाई समेत निरुत्साहित गरेको केन्द्रीय बैंकले दाबी गरेको छ ।
डिजिटल बैंकिङको सचेतनाको कमीका कारण जोखिम पनि उत्तिकै बढेको राष्ट्र बैंकको निश्कर्ष छ । यसले साइबर क्राइम बढाउनुका साथै प्रविधिको जोखिम र डिजिटल बैंकिङको शाखमा समेत असर गरेको छ । केन्द्रीय बैंकले डिजिटल बैंकिङलाई सुरक्षित र भरपर्दो बनाउनका लागि वित्तीय संस्थालाई निरन्तर रुपमा साइबर सेक्युरिटी, कर्मचारीलाई तालिम तथा सचेतना कार्यक्रमहरुमा लगानी बढाउन प्रेरित गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया