सञ्चिति र नेटवर्थ नकारात्मक भएका होटलहरुको सेयर मूल्यमा अस्वभाविक चलखेल, ४८% ले बढ्यो इन्डेक्स

0
Shares

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि मात्रै होटल समुहको परिसूचक ४८.२८ प्रतिशतले बढेको छ । बजेटलाई देखाउँदै सेयर कारोबारीले सञ्चिति नाेक्सानी र अंकित मूल्यभन्दा कम प्रतिसेयर नेटवर्थ भएका होटलहरुको सेयर मूल्यमा अस्वभाविक चलखेल गरेको भेटिएको हो ।

यो अवधिमा बजार परिसूचक मापक नेप्से र बाँकी सबै समुहको इन्डेक्समा सामान्य वृद्धि हुँदा होटल इन्डेक्समा भने उच्च वृद्धि भएको छ । बजेटपछिको पहिलो दिन जेठ १६ गते ३८०१ बिन्दुमा रहेको होटल इन्डेक्स असार ७ गते बिहीबारसम्म आइपुग्दा १८३५ अंकले वृद्धि भएर ५६३६ बिन्दुमा बन्द हुन पुगेको छ ।

कोरोना महामारीको अवधिमा भन्दा पर्यटन व्यवसायममा केही सुधार आएको भएपनि पुर्ववत अवस्थामा भने फर्किसकेको छैन । अहिले पनि पर्यटन क्षेत्रको पुनरुत्थान ६० प्रतिशत हाराहारीमा मात्र भएको छ । कोभिड माहामारीबाट संकटग्रस्त बनेको यस क्षेत्रलाई सरकार तथा नेपाल राष्ट्र बैंकले राहत प्रदान गरेपछि केही सुधार आएको हो । यद्यपी हिजोको आज ठूलो परितर्वन नदेखिएपनि बजारमा कारोबारीहरुले भने तिनै क्षेत्रमा सूचीकृत भएका कम्पनीहरुको सेयर मूल्य उच्च रुपमा बढाएका छन् । सञ्चित नोक्सानी रहेको र प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा कम रहेको होटलको मूल्य समेत उच्च रुपमा वृद्धि गरिएको छ ।

वित्तीय विवरणका आधारमा धेरै होटलको अवस्था औषतभन्दा माथि देखिँदैन जसले हाेटलहरूकाे मूल्य वृद्दिलाइ साथ दिन सकाेस् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सोल्टीको वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५९ पैसा तथा प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ ७१ पैसा छ । यस्तै तारागाउँ रिजेन्सीको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८८ पैसा तथा प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६९ पैसा र ओरियन्टल होटलको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९ पैसा तथा प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी कालिञ्चोक दर्शन लिमिटेडेको वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा तथा प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा, चन्द्रागिरी हिल्सको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा तथा प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ९३ पैसा छ । भर्खरै दोस्रो बजारमा कारोबार खुलेको सिटि होटलले वित्तीय विवरण प्रकाशन भएको छैन । आईपीओ निष्कासन गर्न प्रकाशित गरेको आह्वानपत्र अनुसार चालु आवको दोस्रो त्रैमासम्ममा सिटि होटलको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ४ पैसा छ । चालु आवको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा ऋणात्मक हुँदा प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ५५ पैसा रहने प्रक्षेपण छ ।

यस्तै सञ्चित जगेडा कोषका आधारमा हेर्दा सोल्टीको १ अर्ब ३ करोड, तारागाउँ रिजेन्सीको ५१ करोड ४९ लाख, ओरियन्टल होटलको ९३ करोड १५ लाख सञ्चित छ । कालिञ्चोक दर्शन १ करोड ७२ लाख सञ्चित जगेडा नोक्सानीमा रहँदा चन्द्रागिरी हिल्स ३० करोड ७९ लाख रहँदा सिटि होटलको सञ्चित जगेडा नोक्सानी चालु आवको अन्त्यसम्म १७ करोड ५७ लाख पुग्ने प्रक्षेपण छ ।

बिहीबारको कारोबारपछि नेप्सेमा सूचीकृत रहेका सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल, सिटि, कालिञ्चोक दर्शन र चन्द्रागिरी हिल्स सबैको मूल्य आकासिएको छ । बिहीबार १० रुपैयाँ अंकित मूल्य रहेको सोल्टी होटलको मूल्य ९.०७ प्रतिशत बढेर ५१३ रुपैयाँ ३० पैसा पुगेको छ । यस्तै १०० रुपैयाँ अंकित मूल्य रहेको तारागाउँ रिजेन्सी होटलको १० प्रतिशत बढेर ७९१ रुपैयाँ, ओरियन्टल होटलको १० प्रतिशत बढेर ७९७ रुपैयाँ ५० पेसा, सिटि होटलको ९.९८ प्रतिशत बढेर २८७ रुपैयाँ ५० पैसा, कालिञ्चोक दर्शनको १० प्रतिशत बढेर १०२३ रुपैयाँ र चन्द्रागिरी हिल्सको ६.११ प्रतिशतले बढेर १३२० रुपैयाँ पुगेको छ ।

Hotels Price
Jestha 14 Ashad 7 Change %
Soaltee Hotel Limited 301.00 513.30 70.53
Taragaon Regency Hotels  600.10 792.00 31.98
Oriental Hotel Limited 640.00 797.50 24.61
Kalinchowk Darshan Limited 774.00 1023.00 32.17
Chandragiri Hills Limited 1136.00 1320.00 16.20
City Hotel Limited  122.20 287.50 135.27

 

वित्तीय अवस्था र कम्पनीको सेयरमूल्यको वृद्धिदर हेर्दा अस्वभाविक देखिएको हो । दोस्रो बजारमा भर्खरै कारोबारमा आएको सिटि होटलको सेयरमूल्य सर्वाधिक १३५ प्रतिशतले बढ्दा सोल्टीको ७०, कालिञ्चोक दर्शन ३२, तारागाउँ रिजेन्सी ३१, ओरियन्टल होटल २४ र चन्द्रागिरि हिल्सको १६ प्रतिशतभन्दा बढीले बढेको छ । यस आधारमा हेर्दा सञ्चित जगेडा नोक्सानीमा रहेका सिटि होटल, कालिञ्चोक दर्शन र चन्द्रागिरि हिल्सको मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । सिटि होटलको भने जेठ २८ गते आइतबारदेखि मात्र धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको थियो ।

समीक्षा अवधिमा नेप्से ५.८६ प्रतिशतले बढ्दा होटल समुह भने ४८.२८ प्रतिशतले वृद्धि भएको हो । जेठ १४ गते १९४१ दशमलव ७४ बिन्दुमा रहेको नेप्से ११३ दशमलव ७९ अंकले बढेर २०५५ दशमलव ५३ अंकमा पुगेको छ । यता होटल भने १८३५ अंकले बढेर ५६३६ बिन्दुमा पुगेको छ ।

जेठ १४ र असार ७ गतेको अन्तरालमा निर्जीवन बीमा १७.७९ प्रतिशतले बढ्दा ब्यापार १७.०५ प्रतिशत, जीवन बीमा १५.४१, लगानी १०.४०, उत्पादनमुलक १०.२२, अन्य १०.१५ प्रतिशतले बढेको छ । यस्तै फाइनान्स ६.९९, विकास बैंक इन्डेक्स ६.७८, लघुवित्त ४.१५, जलविद्युत ३.५८, म्युचुअल फन्ड १.४४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकिङ्ग इन्डेक्स भने ०.०३ प्रतिशत घटेको छ । यस आधारमा होटल ४८ प्रतिशतभन्दा बढी बढ्नुले पनि सो इन्डेक्समा कारोबारीहरुको तीब्र चलखेलाई पुष्टि गर्दछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।