ठूला लगानीकर्ता नै पुँजी बजारका भिलेन, कर्नरिङ, मूल्य चलखेलदेखि नीतिगत लबिङसम्मको ठेक्का

0
Shares

सेयर बजारको अस्थिरताको मुख्य कारकको रुपमा लगानीकर्ताका नाइकेहरु नै देखिएका छन् । बजार आफ्नो गतिमा चल्न खोज्यो कि लगानीकर्ताका विभिन्न गुट र उपगुटको स्वार्थ केन्द्रित चलखेल सुरु हुने गरेको छ ।

सरकारी संयन्त्रले बजारलाई नियन्त्रण गर्न खोजेको आरोप लगाउने लगानीकर्ताहरु नै स्वतन्त्र गतिमा चल्न नदिन सक्रिय हुने गरेका छन् । बजार एउटा लयमा चलिरहेका बेला लगानीकर्ताको ठेक्का केन्द्रित गतिविधिले बजारलाई निरन्तर अस्थिर बनाउँदै आएको छ ।

पछिल्लो पटक मात्र सेयर बजारमा गरेको लगानीबाट हुने आम्दानीमा लाग्ने करको विषयलाई लिएर लगानीकर्ताका विभिन्न खेमामा रहेका नाइकेहरुले फरक फरक किसिमको अभियान चलाए । केहीले त ब्रोकर कम्पनीको कार्यालयमा पुगेर तालाबन्दी नै ठोके । जसका कारण आम लगानीकर्ताको मनोबल खस्कियो र बजार तल्लो विन्दुमा ओर्लियो । कर फिर्ताको मुद्धामा सक्रिय रहेको एउटा झुण्ड आन्तरिक राजश्व विभागतिर गयो भने ब्रोकर कम्पनीमा तालाबन्दी गर्ने अर्को झुण्ड वार्ताका लागि अर्थमन्त्रालय पुग्यो । आन्दोलनको वातावरण बनाएर बजारमा त्रास फैलाएका झुण्डवाला लगानीकर्ताले साना लगानीकर्ताको सेयर सस्तो मूल्यमा खरिद गरे ।

सोही सन्दर्भलाई जोड्दै अर्थमन्त्री प्रकाशशरण महतले एक सार्वजनिक कार्यक्रममा ५६ लाख लगानीकर्ताको नाममा चलखेल गर्ने र आन्दोलन चर्काएर आम लगानीकर्ताको मनोबल कमजोर बनाउँदै सीमित लगानीकर्ताले फाइदा उठाएको बताएका थिए । उनले यस सन्दर्भमा आर्थिक वर्ष २०८०/८१ को बजेट आएपछि बजारमा सेयर खरिद गर्ने लगानीकर्ताको कारोबार उपर धितोपत्र बोर्डले छानबिन गर्न आवश्यक रहेको समेत औंल्याएका थिए ।

करका विषयमा अनावश्यक दबाब दिएको महसुस गरेका उनले त्यस्ता सबै लगानीकर्ता र कारोबारको छानबिन गर्नुपर्ने भन्दै चेतावनी समेत दिएका थिए । “अनावश्यक विषयलाई मुद्धा बनाइ उत्कर्षमा पुर्याएर बजार तल ल्याउने अनि सस्तोमा सेयर किन्नेहरुको पहिचान किन नगर्ने ?” अर्थमन्त्री महतको प्रश्न थियो ।

अर्थमन्त्री महतले भनेजस्तै प्राथमिक बजार, दोस्रो बजार अनि बजार सम्बन्धि नीति नियमलाई ठेक्का अनुसार चलाउन खोज्ने, आफ्नो स्वार्थको दायरामा ल्याउन खोज्ने प्रवृत्ति निरन्तर चलिरहेको छ । जसका कारण हरेक पटक आउने अस्वभाविक उतारचढावमा सामान्य अनि थोरै रकम हाल्ने लगानीकर्ताले गुमाउँदै आउनु परेको छ । बजारमा हुने चलखेललाई आंकलन गर्न नसक्ने उनीहरुले बजार बढ्ने आशामा सेयर किन्छन् । त्यही समयमा लगानीकर्ताका नाइकेहरुको सक्रियता बढ्छ अनि अल्पकालीन रुपमा बजार घट्छ र त्रासमा साना लगानीकर्ताहरुले सेयर बेच्छन् । यसरी बिक्री भएको सेयर खरिद गर्नेहरु तिनै सीमित संख्याका नाइके लगानीकर्ताहरु हुन्छन् ।

यस्तो कारोबारको तथ्यांक निकालेर सार्वजनिक गर्ने मात्र नभई धितोपत्र बोर्डले कारवाहीको दायरामा ल्याउनुपर्ने विषयमा अर्थमन्त्री महतले भनेका छन्, “हरेक पटक बखेडा निकालेर बजार घटाउनेहरुको छानबिन गरेर आम लगानीकर्ताको संरक्षण गर्नुपर्ने अवस्था आईसकेको छ ।”

अर्थमन्त्री महतले उठान गरेको यो विषय अहिले आम लगानीकर्ताका लागि पेचिलो बनिरहेको छ । सधैँ बजार घट्दा सेयर बेच्नुपर्ने अनि बढ्दा किन्नुपर्ने नियतिमा परेका आम लगानीकर्ताको संरक्षणका लागि पनि भित्री कारोबार, कर्नरिङका साथै अन्य किसिमका चलखेललाई सुक्ष्म रुपमा निगरानी गर्नुपर्ने अवस्था बनेको छ ।

पुँजी बजारमा सिमित व्यक्तिको स्वार्थमा काम हुने गरेको धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. सुरविर पौड्यालले बताए । स्वार्थ समुह लगानीकर्ताको नाममा संगठन बनाएर वा नीतिगत चलखेल गरेर बजारलाई आफू अनुकुल चलाउन सक्रिय रहने गरेको उनको बुझाई छ । “ सीमित व्यक्तिलाई फाइदा पुग्ने गरी जुन सरकार आए पनि विचौलिया नै हाबी भएको अवस्था छ,” पौड्यालले भने, “स्वार्थ समुहसँग टक्कर लिएर काम गर्न खोज्यो भने धितोपत्र बोर्डको नेतृत्वलाई टिक्नै गाह्रो छ ।”

अन्तर्राष्ट्रिय रुपमा नै पुँजी बजारलाई कालो धनलाइ बैध बनाउने माध्यमको रुपमा प्रयोग गरिने उनको बुझाइ छ । “नेपालको सन्दर्भमा कुरा गर्दा धितोपत्र बजारलाई अधिकांशले प्रयोग गर्ने भनेको भ्रष्टाचार गरेको पैसालाई निर्मलिकरण गर्न हो,” उनले थपे । पछिल्लो समयमा धितोपत्र बजारलाई भीडले निर्देशित गर्दै आएको हुनाले आगामी दिनमा यसको नतिजा कस्तो हुन्छ भनेर आंकलन पनि गर्न नसकिने नेपाल स्टक ब्रोकर एसोशिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिँजापतिले बताए । “बजारलाई नीतिले निर्देशित गर्न पर्नेमा भीडबाट नियन्त्रण गर्ने अवस्था बनेको छ,” उनले भने,“ धितोपत्र बजारमा लगानीकर्ताका नाममा बनाइने झुण्डहरुको खुले आम प्रपञ्च चलिरहेको छ, देख्दै उदेक लाग्छ ।”

“नेपाल राष्ट्र बैंकका गर्भनरले निक्षेपकर्ताको संघ संगठन बनाउन लगाउने र तीनै संंघ संगठनको पछि लागेर हिँडे बैंकिङ क्षेत्रको अवस्था कस्तो हुन्छ ? पुँजी बजारको अहिलेको अवस्था त्यस्तै छ,” उनले थपे । सरकार तथा नियामक सहित सबैको ध्यान नै पुँजी बजारमा ठेक्का लिने साना लगानीकर्ता फसाउने खेल भैरहेको गुनासो उनको छ ।

तर, सेयर लगानीकर्ताका संघ संगठन बजारका अस्वभाविक गतिविधि संलग्न नरहेको दाबी नेपाल इन्भेष्टर्स फोरका अध्यक्ष तुलसीराम ढकालको छ । लगानीकर्ता संघ संगठन फरक–फरक भएपनि सबैको उद्देश्य धितोपत्र बजारको विकास र लगानीकर्ताको हितमा काम गर्ने रहेको ढकालको भनाई छ । “लगानीकर्ताका संघ संगठन बजारका गलत गतिविधी प्रबद्र्धन गर्न सक्रिय भए भन्ने कुरा गलत हो,”ढकालले भने, “लगानीकर्ताका संगठनले समग्र बजार र लगानीकर्ताको हितमा काम गर्दै आएको विषयलाई नजरअन्दाज गर्न मिल्दैन ।”

प्राथमिक बजारमा ‘ओभरसब्स्क्राइब’ को ठेक्का

प्राथमिक निष्काशनमा निष्काशनकर्ता कम्पनीले थाप्ने पासोलाई सघाउने काम लगानीकर्ताका नाइके तथा ठूला भनिएका लगानीकर्ताहरुबाट नै हुने गरेको छ । पछिल्लो पटक घोराही सिमेन्टको साधारण सेयर निष्काशनमा तिनै लगानीकर्ताहरुले निष्काशनकर्ता कम्पनीबाट फर्जी आवेदन दिने ठेक्का लिए । फलस्वरुप कम्पनीको आईपीओको तथ्यांकले ओभरसब्स्क्राइब भयो । तर, वास्तविकतामा कम्पनीको सेयर पूर्ण रुपमा बिक्री हुन सकेन । जसका कारण कृतिम आकर्षणको पछि लागेर आम लगानीकर्ताले धेरै वा थोरै कमाउने आशमा घोराहीको आईपीओमा लगानी खन्याए ।

यो प्रकरणको ठेक्का लिनेहरुको खुलासा भएसँगै आम लगानीकर्ताले पनि प्राथमिक निष्काशनका दौरान हुने चलखेल बुझ्ने मौका पाएका छन् । कम्पनीको नियोजित योजनालाई पूरा गर्न ठेक्का लिएका दर्जन बढी लगानीकर्ताहरुको नाम अहिले विभिन्न सञ्चार माध्यमका साथै सामाजिक सञ्जालमा छरपस्ट छ ।

यसभन्दा अघि सार्वजनिक निष्काशन गरेको नेपाल रिपब्लिक मिडियाको वित्तीय अवस्था अत्यन्तै कमजोर हुँदा पनि ओभर सब्स्क्राइब भयो । यसमा पनि चलखेल भएन भन्न सकिने अवस्था छैन । यसरी प्रतिफल नै दिन नसक्ने कम्पनीको सेयरमा आम लगानीकर्ताको ठूलो लगानी फस्ने अवस्थामा नियामक निकाय समेत किन चुपचाप बस्यो ? बोर्डले सेयर निष्काशन प्रकृयामा सहमति दिएर मौन बस्ने र अन्तिम समयमा यस्ता विषय बाहिर आएपछि कार्वाही प्रकृया अघि बढाउनुले उसको भूमिकामा पनि प्रश्न चिन्ह खडा भएको छ ।

केही समय अघि सर्वोत्तम सिमेन्टको बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्न लाग्दा भएको मिलिभगत पनि लुकेको विषय होइन । उक्त प्रकरणमा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना, नेपाल स्टक एक्सचेन्ज(नेप्से) का प्रमुख चन्द्रसिंह साउद, धितोपत्र बोर्डका तत्कालीन सञ्चालक चन्द्र ढकाले पद गुमाउनु परेको थियो ।

यसका अलावा विगतमा प्रिमियम मूल्यमा निष्काशन भएका अधिकांश कम्पनीहरुको प्राथमिक निष्काशन विवादमा परेका छन् । हरेक पटकको विवाद र अन्यौलतामा लगानीकर्ताका नाइकेहरुको सक्रियता नै मुख्य कारक बनेको थियो । यसका अलावा आयोजना प्रभावितलाई छुट्याइएको सेयरमा फर्जी आवेदन दिनेहरुको जमात पनि बजारमा उत्तिकै सक्रिय छ । यो तथ्यलाई पनि नजिकबाट केलाउने हो भने अनाधिकृत रुपमा अर्काको नामबाट सेयर भर्नेहरुको खुलासा गर्न कुनै समस्या देखिँदैन । यसमा पनि ठूला भनिएका र नाइके लगानीकर्ताहरुको नै प्रमुख भूमिका रहँदै आएको छ ।

यस्ता विषयमा अधिकांश बिक्री प्रबन्धक तथा धितोपत्र बोर्डलाई जानकारी छ । तर, बोर्डले आयोजना प्रभावित र स्थानीयको हिस्सामा गर्ने अनाधिकृत लगानीलाई अहिलेसम्म हेर्न सकिरहेको छैन । बोर्डले चाहने हो भने यस्ता काममा सक्रिय हुने नाइके लगानीकर्ताहरुलाई कारबाही गर्न सक्ने अवस्था छ । प्राथमिक निष्काशनका क्रममा संगठित भएर लगानीकर्ताका नाइके तथा ठूला भनिएकाहरुले कम्पनीको पक्षपोषण गर्ने ठेक्का लिने, आफ्नो स्वार्थसिद्दीका लागि अनाधिकृत रुपमा गर्ने लगानी फस्टाउँदा साना र आम लगानीकर्तालाई समाप्त पार्ने काम हुँदै आएको स्पष्ट छ ।

दोस्रो बजारमा कर्नरिङ तथा सेयर मूल्यमा चलखेल

पछिल्ला दिनको कारोबार अनि बजारमा चलाइएका हल्लाले पारेको असरलाई हेर्ने हो भने होटल सेक्टर अस्वभाविक रुपमा बढेको छ । १० रुपैयाँ अंकित मूल्यको सोल्टी होटलको सेयर मूल्य २५० रुपैयाँबाट छोटो समयमा नै ५०० रूपैयाँ बढी पुर्याइएको छ । यसैको आडमा अन्य समकक्षी होटलहरुको सेयर मूल्य बढाउन लगानीकर्ताका नाइकेहरुको झुण्ड सक्रिय छ । तारागाउँ रिजेन्सीको सेयर मूल्य पनि ४०० नजिक रहेकोमा एकाएक ७०० रुपैयाँभन्दा माथि पुर्याइएको छ । यि दुबै होटलको वित्तीय अवस्था औषतभन्दा माथि छैन र महिना दिनको अवधिमा सेयर मूल्यमा भएको वृद्धिको अनुपातमा होटलले कुनै चमत्कार गरेर देखाएका पनि छैनन् ।

ऋणात्मक अवस्थाबाट धनात्मक बन्न मात्र सकेको अर्को कम्पनी चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पनि झुण्डले उत्तिकै चलखेल गरिरहेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा गएको तर ३० करोडभन्दा धेरै सञ्चित नोक्सानीमा हुँदापनि कम्पनीको सेयर मूल्य ९०० रुपैयाँबाट एकाएक १ हजार ३०० रुपैयाँ नजिक पुर्याउने काम तिनै लगानीकर्ताका नाइकेहरुको झुण्डबाट भईरहेको छ । यस अघि साधारण सेयर निष्काशन गरे लगत्तै यो कम्पनीको सेयर मूल्य ३ हजार रुपैयाँ नजिक पुर्याइएको थियो ।

यस्तै भर्खरै साधारण सेयर निष्काशन गरेको कालिन्चोक दर्शनको प्रतिसेयर आम्दानी ५ रुपैयाँ र नेटवर्थ ९७ रुपैयाँ छ । यस कम्पनीको सेयर मूल्य पनि एक हजार रुपैयाँ माथि पुर्याउने काम पनि संगठित रुपमै भईरहेको छ । चन्द्रागिरी हिल्सको आडमा कालिन्चोक केबलकारको पनि सेयर मूल्य निरन्तर उकालो लगाउने लगानीकर्ताका नाइकेहरुको स्मरणमा नरहेको वा आम लगानीकर्तालाई फसाउन खोजिएको विषय यो पनि हो कि कम्पनी सञ्चित नोक्सानीको अवस्थामा छ ।

सञ्चिति र नेटवर्थ नकारात्मक भएका होटलहरुको सेयर मूल्यमा अस्वभाविक चलखेल, ४८% ले बढ्यो इन्डेक्स

नेटवर्थ ऋणात्मक भएका धेरै जलविद्युत कम्पनीका साथै अन्य कम्पनीको सेयर मूल्यमा पनि लगानीकर्तामा झुण्डले सक्रियता बढाउँदा सेयर मूल्य बढिरहेको छ भने आम लगानीकर्ता जोखिममा परिरहेका छन् ।

केही समय अघि एउटा झुण्डले गोर्खाज फाइनान्सको सेयर मूल्य ३०० रुपैयाँबाट १ हजार ५ सय रुपैयाँसम्म पुर्यायो । झुण्डका साझेदारहरुले योजनाबद्ध रुपमा उक्त मूल्यमा सेयर बिक्री गर्दै जाँदा उच्च मूल्यमा त्यो सेयर किनेका आम लगानीकर्ता अहिले आफ्नो लगानी ५ सय रुपैयाँमा झर्दा टाउकोमा हात लगाएर बस्नु परेको अवस्था छ । नियामक निकायले यस्ता विषयमा आम लगानीकर्तालाई बचाउने अनि कर्नरिङ र मूल्य चलखेल गर्ने नाइके तथा ठूला भनिएका लगानीकर्ता माथि कार्वाही गर्ने कुरा परै जाओस अनुसन्धानसम्म गर्न सकेन ।

त्यसै बखत गोर्खाज फाइनान्समा सक्रिय रहेको झुण्डले नेपाल इन्स्योरेन्सको सेयर मूल्य पनि १ हजार ५ सय नजिकसम्म पुर्याई धेरै लगानीकर्तालाई फसाएका थिए । आईसिएफसि फाइनान्स, गुडविल फाइनान्स, एचआईडिसीएल, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, नेपाल फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य र कारोबारमा अस्वभाविक चलखेल गरेको त्यो झुण्डले अहिले कमजोर वित्तीय अवस्था भएका केही जलविद्युत कम्पनीको सेयर मूल्य पनि बढाउन जोडबल गरिरहेको बुझिएकाे छ ।

महङ्गो सेयर भएका र कारोबार योग्य सेयरको संख्या थोरै भएका युनिलिभर, राष्ट्रिय बीमा कम्पनी, साल्ट ट्रेडिङ जस्ता केही कम्पनीको सेयर कर्नरिङ गरी कृतिम आकर्षण देखाएर मूल्य बढाउने काम पनि संगठित रुपमा नै भएको छ । त्यसरी भएको मूल्यवृद्धि टिक्न नसकेको र साधारण लगानीकर्ता नै फसेको विषय कम्पनीको सेयर मूल्यमा आएको गिरावटले पुष्टि गर्छ ।

हकप्रद तथा क्रस होल्डिङको सेयर बेच्ने हल्ला चलाएर अपि पावर, रिडि हाइड्रो, वरुण हाइड्रो, राधी, रुरु, माउण्टेन इनर्जी लगायत कम्पनीको सेयर मूल्य तलबाट उच्च बिन्दुमा पुर्याउने काम कम्पनी सम्बद्ध व्यक्तिका साथै लगानीकर्ताका नाइके तथा ठेक्कावालाहरुबाट नै भएको थियो । यो भीडमा वर्षौंदेखि विवाद र कमजोर वित्तीय अवस्था भएको नेशनल हाइड्रोपावरलाई समेत चलाएर सेयर मूल्य आकाशमा पुर्याउने काम पनि यस्तै झुण्डहरुबाट हुँदा आम लगानीकर्ता अहिलेसम्म फसिरहेका छन् ।

नीति नियम आफु अनुकुल बनाउन आन्दोलन

अर्थमन्त्री प्रकाशरण महतले भनेको अनेक मुद्धा बनाएर बजारमा चलखेल गर्ने लगानीकर्ताका नाइकेहरुको ताजा उदाहरण आगामी आर्थिक वर्षको बजेट हो । बजेट सार्वजनिक भए लगत्तै एक थरी लगानीकर्ताका नाइकेहरुको सक्रियता बजेटमा भएका नकारात्मक विषयलाई चर्चामा ल्याउने अनि आम लगानीकर्ताको मनोबलमा प्रहार गर्नेमा केन्द्रित भयो ।

राष्ट्र बैंकको ४-१२ को नीति होस् वा बैंक वित्तीय संस्थाको मर्जर तथा प्रिमियमको विषयलाई लिएर कोकोहोला मच्चाउने, आन्दोलन गर्नेहरुले पनि आम लगानीकर्ताका लागि नभई आफ्नै स्वार्थसिद्धिमा समय खर्चिएको विषयलाई आम लगानीकर्ताले अहिले बुझ्न थालेका छन् ।

लगानीकर्ताका नेताहरु र ठूला लगानीकर्ताको अनुकुल वातावरण हुनुपर्छ भन्ने विषयको पछिल्लो उदाहरण हो आर्थिक वर्ष २०८०।८१ को बजेट वक्तव्यमा समेटिएको करको विषय । बजेटले सेयर लगानीकर्ताले कारोबारका क्रममा तिरेको पुँजीगत लाभकर अन्तिम कर नहुने विषय बजेटमा आए लगत्तै एकथरी लगानीकर्ताको झुण्डले आन्दोलन सुरु गर्यो र त्यसैको आडमा अर्थ मन्त्रालयसम्मको पहुँच पायो अनि विधेयकलाई थाती राख्दै करका सम्बन्धमा अन्यौलतापूर्ण सम्झौता गर्यो ।

उता अर्को झुण्डले पनि आन्तरिक राजश्व विभाग पुगेर आफुहरुले करका सम्बन्धमा गरिएको व्यवस्थालाई गलत बुझेको स्वीकार गरेर फर्कियो । जतिबेलासम्म बजार उल्टो यात्रामा गइसकेको थियो । लगानीकर्ताका नाइकेको स्वार्थ पूरा गर्ने यो अभ्यासले आम लगानीकर्ताले दोस्रो बजार ओरालो लाग्दा आफ्नो पसिनाको लगानी गुमाउँदा त्यसको फाइदा पनि तिनै नाइके र ठेक्कावालाहरुले लिइरहेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार  १५ : ४१ बजे