निजी क्षेत्रको कर्जा नियन्त्रण नगरे अर्थतन्त्र मै समस्या आउँछ: राष्ट्र बैंक

0
Shares

अर्थतन्त्रमा देखिने असन्तुलनको मुख्य कारक निजी क्षेत्रमा प्रबाह हुने कर्जा देखिएको छ । निजी क्षेत्रमा प्रबाह भएको कर्जा रियल स्टेट र सेयर बजारमा जाँदा अर्थतन्त्र मै समस्या आउने गरेको राष्ट्र बैंकले औल्याएको हो ।

निजी क्षेत्रको कर्जा उत्पादनमूलक क्षेत्रमा नभई सम्पत्तिको मूल्य बढाउन प्रयोग हुँदा अर्थतन्त्रका सबै सूचकहरुमा असर गर्ने गरेको देखिएको छ । निजी क्षेत्रले बैंक वित्तीय संस्थाबाट कर्जा लिएर सम्पत्तिको मूल्य बढाउनमा परिचालन गर्दा मूल्य वृद्धि, उच्च आयात, विदेशी विनिमय सञ्चितिमा समेत असर गर्ने जनाएको हो।

कोरोना महामारी पछिको उदाहरण हेर्दा पनि केन्द्रीय बैंकको अध्ययनको निष्कर्ष सही ठहरीन्छ । कोरोना महामारीपछि आर्थिक गतिविधि बढाउन कर्जा लगानीमा सहज बनाउदै विस्तारकारी मौद्रिक नीतिको अबलम्बन भयो । केन्द्रीय बैंकले कोरोना महामारीको असर न्यूनीकरण गर्न ल्याएको कर्जा नीतिले जग्गा र सेयरको मूल्य अत्याधिक बढायो । सम्पत्तिको मूल्यमा आएको उच्च सुधारले उपभोग समेत बढ्न गयो । उपभोग बढेसंगै आयात पनि उच्च हुन पुग्यो । उच्च आयातका कारण विदेशी मु्रदा सञ्चितिमा समेत दबाब सृजना भयो । त्यससंगै मूल्य वृद्धि समेत बढ्यो । मूल्य वृद्धि बढेपछि त्यसलाई नियन्त्रण गर्न भन्दै ब्याजदर समेत बढ्यो ।

गत आर्थिक वर्ष १९ खर्ब २० अर्ब रुपैयाँ बरावरको आयात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा निजी क्षेत्रको कर्जा प्रबाह २६.३ प्रीतशतले बढेको थियो । आव २०७८/०७९ मा भने निजी क्षेत्रको कर्जा विस्तार १३.३ प्रतिशतले बढेको थियो । अघिल्लो आवमा उच्च दरमा बढेको निजी क्षेत्र तर्फको कर्जाले गत आवमा १९ खर्बसम्मको आयात प्रोत्साहन गर्यो ।

उच्च आयातका कारण १२ महिनासम्मका लागि आयात गर्न पुग्ने विदेशी विनिमय सञ्चिति घटेर ६ महिनामा झरेको थियो । त्यसैगरी मूल्य वृद्धि पनि दोहोरो अंकमा पुगेको थियो । साथै ब्याजदर पनि १३ प्रीतशतसम्म पुगेको थियो । त्यतिमात्र नभइ धितोपत्र बजार सूचक पनि हालसम्मकै उच्च ३ हजार २ सय विन्दु सम्म पुगेको थियो ।

केन्द्रीय बैंकल निजी क्षेत्रको कर्जा लगानी र अर्थतन्त्रका सूचकहरुको अवस्थालाई लिएर अध्ययन गरेको छ । सो अध्ययन अनुसार पनि निजी क्षेत्रमा कर्जा लगानी विस्तार हुँदा आयात बढ्ने, अर्थतन्त्रको बाह्य क्षेत्र प्रभावित हुने, मूल्य वृद्धि हुने गरेको देखिन्छ । साथै बैंक वित्तीय संस्थाले लगानी गर्ने कर्जा मध्ये धेरै टर्म, व्यक्तिगत र ओभरड्राफ्ट प्रकृतिको रहेको देखिएको हो ।

बैंक वित्तीय संस्थाको कुल कर्जामा ओभरड्राफ्टको हिस्सा मात्र करिब २५ प्रतिशत रहेको छ । यस्तो कर्जा कुन क्षेत्रमा लगानी भएको छ र हुन्छ भन्ने जानकारी हुदैन । त्यसले गर्दा पनि सम्पत्तिको मूल्य बढाउन मद्दत गरेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ ।

बैंक वित्तीय संस्थाले आक्रामक रुपमा निजी क्षेत्रको कर्जा विस्तार गर्दा अर्थतन्त्र मै समस्या आउने अध्ययनले स्पष्ट पारेको छ । अध्ययन अनुसार रियल स्टेटको बुम, सेयर बजारको बुम, मूल्य वृद्धि, उच्च आयात, विदेशी मुद्राको सञ्चितिमा दबाबमा पु्रयाउनुमा महत्वपुर्ण भुमिका खेल्दै आएको स्पष्ट भएको हो । उच्च कर्जा प्रबाहले अर्थतन्त्र विगार्ने सम्बन्ध समेत स्थापिति भएको अध्ययनले देखाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।