बैंकमा पैसा थुप्रिएपछि थप २० अर्ब खिच्दै राष्ट्र बैंक, अन्तर बैंकदर चार प्रतिशत तल

0
Shares

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट पैसा खिच्न सुरू गरेको छ । गत विहीबार १० अर्ब रुपैयाँ बजारबाट खिचेको राष्ट्र बैंकले आइतबार फेरि २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दैछ।

राष्ट्र बैंकले एक साताको लागि रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो । प्रणालीमा करिव ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । तरलता बढेपछि राष्ट्र बैंकले चालु आर्थिक बर्षमा तेस्रो पटक रिभर्स रिपो जारी गरेको हो।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता धेरै वा थोरै हुँदा दुई उपकरण परचालन गर्छ। तरलता थोरै हुँदा रिपो जारी गरेर बैंकहरूलाई निक्षेप प्रवाह गर्छ भने धेरै हुँदा रिभर्स रिपोमार्फत् पैसा खिच्ने गर्छ ।

बिहीबार केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ बरावरको रिभर्स रिपो निष्काशन गर्दा ९ बैंक तथा वित्तीय संस्थाले ५९ वटा आवेदन मार्फत २६ अर्ब ३३ करोड रुपैयाँ बरावरको आवेदन दिएका थिए । जसको ब्याजदर औसत भारित ब्याजदर ३.०१०९ कायम भएको थियो यसभन्दा अघि सोही अवधिको रिभर्स रिपोको रेट ४.३२९० प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले लगातार रिभर्स रिपो जारी गर्नुले वित्तीय प्रणालीमा अधिक तरलताको समस्या अझै केही समय कायम रहने देखिएको छ । अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा तल आएपछि नेपाल राष्ट्र बैंकले दोस्रोपटक रिभर्स रिपो जारी गरी बजारबाट तरलता उठाएको हो । अहिले अन्तरबैंक ३.६४ प्रतिशत हाराहारी छ।

रिभर्स रिपोको ब्याजदरमा आएको गिरावटले बैंकहरुमा कर्जाको मागमा गिरावट आएकोे देखिन्छ । रिभर्स रिपोमा परेको आवेदनले भने अधिक तरलता रहेको स्पष्ट हुन्छ । रेमिट्यानस आप्रवाहमा देखिएको निरन्तरको सुधार तथा कर्जा प्रवाहको दरमा आएको कमीले वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति आएको हो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नीतिगत ब्याजदरभन्दा २ प्रतिशत विन्दुले अन्तरबैक ब्याजदर तल माथि हुदा रिपो तथा रिभर्स रिपो मार्फत तरलता बैकिङ प्रणालीमा पठाउने र खिच्ने बताएको थियो ।

रिभर्स रिपो जारी हँदा बैंकहरुले प्रतिस्पर्धात्मक ब्याज दरमा केन्द्रीय बैंकलाई रकम उपलब्ध गराउँछन् । केन्द्रीय बैंकले सस्तो ब्याज दरलाई प्राथमिकता दिई बैंकहरुबाट रकम लिने गर्दछ । त्यसैले ब्याज दर जति कम कायम भयो, बैंकहरुसँग उति बढी तरलता रहेको मानिन्छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक वित्तीय संस्थाहरुमा कुल निक्षेप ५५ खर्ब ७१ अर्ब भन्दा धेरै रहेको छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५६ अर्ब कर्जा लगानी गरेका छन ।

राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरुमा ४९ खर्ब १५ अर्ब तथा अन्य वित्तीय संस्थामा ६ खर्ब ५६ अर्ब निक्षेप रहेको छ भने यस अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब ९९ अर्ब कर्जा प्रवाह गर्दा अन्य वित्तीय संस्थाले ५ खर्ब ५७ अर्ब कर्जा परिचालन गरेका छन । बैंकहरुमा निक्षेप थपिने तथा कर्जा प्रवाहको दर घट्दा कर्जा निक्षेप अनुपात ८३.९६ प्रतिशतमा झरेको छ ।

बजारमा अधिक तरलता हुँदा ब्याजदरमा अस्वभाविक उतार–चढाव आउने जोखिम हुन्छ । वित्तीय प्रणालीमा देखिएको उच्च तरलताले आगामी दिनमा बैंक वित्तीय संस्थाको ब्याजदर अझै घट्न सक्ने देखिन्छ । तरलता धेरै हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रशोचन गर्ने गर्दछ भने कमी हुँदा राष्ट्र बैंकले उपकरणबाट तरलता समेत प्रवाह गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकहरूले ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रमसमेत घटिरहेको छ । बैंकहरूले वैशाख १३ गतेयता ओभरनाइट रिपो र जेठ १७ गतेयता एसएलएफ सुविधा लिएका छैनन् । रेमिट्यान्स आप्रवाहमा सुधारले निक्षेप थपिएको छ भने आर्थिक गतिविधिमा आएको सुस्तताले बैंकहरुमा पैसा थुप्रने क्रम बढेको छ । जसले गर्दा ट्रेजरी बिल्स, विकास ऋणपत्र, अन्तरबैंक कारोबारको ब्याजदरहरू लगातार घटिरहेका छन् ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एकपछि अर्को गर्दै रिभर्स रिपो जारी गरेको छ। बिहीबार १० अर्बको रिभर्स रिपो जारी गरेको राष्ट्र बैंकले आइतबार २० अर्बको जारी गर्ने भएको हो। यसअघि असार ७ गते राष्ट्र बैंकले बोलकबोलमार्फत १० अर्ब रुपैयाँ तानेको थियो। यो हिसाबले पछिल्लो सात दिनमै राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।