मुलुकका २७ भन्सार नाकाबाट आयात हुँदा ८ वटाबाट निर्यात शून्य


चालु आर्थिक वर्षको ११ महिनामा २७ वटा भन्सार नाकाबाट आयात हुँदा ८ वटा नाकाको निर्यात शून्य भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २७ वटा नाकाबाट आयात हुँदा १९ वटा नाकाबाट मात्र निर्यात भएको देखिएको हो ।

विभागका अनुसार भद्रपुर, जनकपुर, महेशपुर, राजविराज, सिराहा, सुनसरी, थाडी, त्रिवेणी भन्सार नाकाहरुबाट निर्यात शून्य भएको हो । यस्तै सती, गौर र गौतमबुद्ध विमानस्थल र तातोपनीबाट पनि थोरै मात्रामा मात्र निर्यात भएको छ ।

यस्तै चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा पाँच भन्सार नाकाबाट धेरै आयात भएको देखिएको छ । वीरगन्ज, भैरहवा, वीरगञ्ज ड्राइपोर्ट, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै आयात भएको विभागले जनाएको छ ।

गत साउनदेखि जेठसम्म २७ नाकाबाट कुल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको छ । जसमा वीरगञ्ज नाकाबाट सबैभन्दा धेरै आयात भएको छ । वीरगञ्ज नाकाबाट मात्रै ५ खर्ब ४३ अर्ब ३८ करोड ५५ लाख १२ हजार रुपैयाँको आयात भएको छ । यो कुल आयातको ३६.६९ प्रतिशत हो ।

वीरगञ्ज नाकापछि सबैभन्दा धेरै आयात हुने दोस्रो नाका भैरहवा रहेको छ । भैरहवाबाट २ खर्ब २२ अर्ब ७६ करोड १६ लाख ९४ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यो कुल आयातको १५.०४ प्रतिशत हो । यी दुई नाकाबाट मात्रै ५१.७३ प्रतिशतको वस्तु तथा सामान आयात भएको छ ।

भैरहवापछि सबैभन्दा धेरै आयात हुने अर्को नाका वीरगञ्जको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) हो । उक्त ड्राइपोर्टबाट १ खर्ब ८७ अर्ब ७२ करोड ४३ लाख २८ हजार रुपैयाँ बराबारको सामान आयात भएको छ । यो कुल आयातको १२.६८ प्रतिशत हो । ड्राइपोर्टपछि सबैभन्दा धेरै आयात हुने नाका विराटनगर हो । विराटनगरबाट ११ महिनाको अवधिमा १ खर्ब ७१ अर्ब ८८ करोड २८ लाख ३० हजार रुपैयाँको वस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ११.६१ प्रतिशत हो ।

यस्तै विराटनगरपछि सबैभन्दा बढी आयात हुनेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । विमानस्थलबाट आठ महिनाको अवधिमा १ खर्ब ४४ खर्ब ३४ करोड १० लाख ८९ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । यो कुल आयातको ९.७५ प्रतिशत हो । विभागका अनुसार कुल २७ वटा नाकामध्ये ८५.७७ प्रतिशत आयात उल्लेखित ५ वटा नाकाबाट मात्र भएको छ । आयतको तुलनामा निर्यात न्यून हुँदा ११ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

विराटनगर नाकाबाट सबैभन्दा धेरै निर्यात

चालु आर्थिक वर्षको ११ महिना अवधिमा चार वटा नाकाबाट सबैभन्दा बढी निर्यात भएको छ ।

जसमध्ये सबैभन्दा धेरै विराटनगर नाकाबाट निर्यात भएको छ । विराटनगरबाट कुल निर्यातको २५.२५ प्रतिशत अर्थात ३६ अर्ब २५ करोड १७ लाख ९५ हजार रुपैयाँको निर्यात भएको छ ।

यस्तै सबैभन्दा बढी निर्यात हुनेको दोस्रो स्थानमा वीरगञ्ज नाका रहेको छ । वीरगञ्जबाट कुल निर्यातको २३.९८ प्रतिशत अर्थात ३४ अर्ब ४३ करोड ४० लाख ६८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । वीरगञ्जपछि सबैभन्दा बढी निर्यात हुने तेस्रो स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो नाकाबाट कुल निर्यातको २२.०३ प्रतिशत अर्थात ३१ अर्ब ६३ करोड ५१ लाख ६४ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

चौथो स्थानमा रहेको मेची भन्सार नाकाबाट ११ महिनाको अवधिमा कुल निर्यातको १३.९७ प्रतिशत अर्थात २० अर्ब ५ करोड ९५ लाख ५० हजार रुपैयाँको निर्यात भएको छ । पाँचौं धेरै निर्यात भएको भैरहवा नाकाबाट जेठसम्म ९ अर्ब ६० करोड ३३ लाख ६० हजार रुपैयाँ बराबरको वस्तु आयत भएको हो । यो नाकाले कुल निर्यातको ६.६९ प्रतिशत हिस्सा ओगटेको छ ।

जेठसम्म २७ नाकाबाट कुल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।