कर छल्न मद्दत गरेपछि पिडब्लुसी अष्ट्रेलियाले ‘विजनेस’ बिक्री गर्दै, साख जोगाउन एलेग्रोसँग सहकार्य

0
Shares

विश्वकै चचिर्त लेखापरीक्षण फर्म प्राइस वाटर हाउस कुपर्स (पिडब्लुसी) ले अष्ट्रेलियन सरकारसँगको काम एलेग्रो फण्डस्लाई बिक्री गर्ने भएको छ । पिडब्लुसीले अष्ट्रेलियाका मल्टिनेशनल कम्पनीहरुलाई कर छली गर्न सहयोग गरेपछि सरकारी लेखापरीक्षणको काम बिक्री गर्ने भएको हो ।

विश्वका चार ठूला अडिट फर्म मध्ये पीडब्लु सी एक हो । अष्ट्रेलिया कर्पोरेट हाउसहरुलाई कर छल्न सघाएको तथ्य बाहिर आएपछि फर्म विवादित बनको थियो । अष्ट्रेलियन सरकारीको काम गर्ने फर्मले कानूनी छिद्रको पहिचान गरी कर्पोरेट कम्पनीलाई कर छली गर्न सिकाएको थियो । उक्त तथ्य बाहिर आएपछि फर्मलाई शाख जोगाउ नै हम्मे हम्मे भएको अवस्था छ ।

पिडब्लुसी ग्लोबलले अष्ट्रेलियन सरकारसँगको कारोबार एलेग्रो फन्डसलाई बिक्री गर्ने तयारी गरेको भएको छ । पिडब्लुसी अष्ट्रेलियाले सरकारसँगको कारोबार एलेग्रो फन्डस्लाई अष्ट्रेलियन एक डलरमा बिक्री भएको छ । पिडब्लुसी अष्ट्रेलियालाई अष्ट्रेलियन फेडरल सरकारले कानुनी परामर्श तथा अडिटका लागि नियुक्त गरेको थियो । पछिल्लो दुई वर्षमा अष्ट्रेलियन फेडरल सरकारले पिडब्लुसीलाई परामर्शकै लागि ५३ करोड ७० लाख अमेरिकी डलर भुक्तानी गरेको छ । जुन पिडब्लुसी अष्ट्रेलियाको कुल आम्दानीको २० प्रतिशत हो ।

अष्ट्रेलियन सरकार मात्रै नभई अष्ट्रेलियन फेडरल पुलिसले समेत पिडब्लुसीलाई कर्पोरेट परामर्शका लागि नियुक्त गरी उसको प्रतिवेदनका आधारमा कर्पोरेट ठगीका मुद्दामा कारबाही गर्दै आएको थियो । यसरी सरकारसँग आवद्ध भएर काम गरेको संस्थाले नै ठूला कम्पनीहरुलाई कर छल्न सहयोग गर्दा अष्ट्रेलियन सरकारलाई १८ करोड अमेरिकी डलर भन्दा बढी कर नोक्सान भएको छ ।

पिडब्लुसी अष्ट्रेलियाले अष्ट्रेलियन सरकारलाई कर्पोरेट नीति निर्माण विशेषतः अन्तर्राष्ट्रिय कर्पोरेट नीति निर्माणमा सहभागी भई मल्टि–नेशनल एन्टी एबोइडेन्स नीति निर्माणमा सहयोग पु¥याएको थियो । सन् २०१४ मा फेसबूक, गुगल, एप्पल जस्ता ठूला मल्टि–नेशनल कम्पनीहरुलाई निश्चित करको घेरामा ल्याउन सरकारले सो नीति निर्माण गरेको थियो ।

पिडब्लुसी अष्ट्रेलियाका तर्फबाट सिनियर पार्टनर पिटर जोन कोलिन्स उक्त नीति निर्माणमा संलग्न थिए । अष्ट्रेलियन फेडरल सरकारसँग नीति निर्माण गर्ने क्रममा पिटर जोन्स कोलिन्सले गोप्यता कायम गर्ने सम्झौता गरेता पनि उनले पीडब्लुसीका ५३ अन्य पार्टनर र १४ ठूला कम्पनीहरुलाई मल्टि–नेशनल एन्टी एबोइडेन्स नीतिमा भएका नीतिगत छुद्रका बारेमा जानकारी गराएको तथ्य सन् २०२२ को डिसेम्बरमा बाहिरिएको थियो ।

उक्त तथ्य बाहिरिएपछि अष्ट्रेलियाको ट्याक्स प्राक्टिसनर बोर्डले कोलिन्सको लाइसेन्स नै रद्द गरेको थियो । यस्तै सन् २०२३ को जनवरीमा अष्ट्रेलियन फाइनान्सियल रिभ्यूले पिडब्लुसी अष्ट्रेलियाले कसरी ठूला कम्पनीहरुलाई कर छल्न सिकाइरहेको छ भन्ने विषयमा प्रतिवेदन सार्वजनिक गरेको थियो । हाल उक्त मुद्दा अष्ट्रेलिया फेडरल पुलिसले अनुसन्धान गरिरहेको छ ।

अष्ट्रेलियाकी श्रम मन्त्री डेबोरा ओ’ निलले यस मुद्दामा सामेल भएका ५३ पार्टनर र १४ ठूला कम्पनीहरुलाई सार्वजनिक गर्नुपर्ने माग राखेकी छिन् । तथापि पिडब्लुसी ग्लोबलले पार्टनरहरुको नाम सार्वजनिक नगर्ने जनाउँदै करछली जस्तो अक्षम्य गतिविधिका लागि जति माफी मागे पनि अपुग हुने जनाएको छ । पिडब्लुसी ग्लोबलले पिडब्लुसी अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत क्रिष्टिन स्टुबिन्सलाई पदबाट बर्खास्त गरी केबिन बुरोसलाई नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।