राष्ट्रिय वाणिज्य बैंकको ६४ औं एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्सालमा


राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक कार्यक्रमका बीच एक्सटेन्सन काउन्टरको मंगलबार सुरुवात गरेका हुन् ।
बैंकको शाखा कार्यालय नक्साल अन्तरगत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद तथा चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ्ग, एटिएम जस्ता सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ्ग सेवा लिन थप सहज हुने अपेक्षा गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ्ग सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे । उनले बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको जानकारी दिए ।

बैंकको हाल ७ प्रदेशका ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्गबाट सेवा दिँदै आएको छ । साथै क्यू आर भुक्तानी, पीओएस, क्रेडिट तथा डेबिट कार्ड, कनेक्ट आईपिएस, स्मार्ट क्यू आर टेलर, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत दिँदै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।