स्ट्याण्डर्ड चार्टड बैंकको कर्पोरेट कार्यालयमा कर्मचारीका छोरा छोरी हेर्ने ‘डे केयर’ सञ्चालनमा


स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाण्डौको नयाँ बानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाहरुका लागि ‘डे केयर’ सुरु गरेको छ । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले डे केयर सुविधाको उद्घाटन गरेका हुन् ।

बैंकले सन् २०१३ देखि नै यस्तो सुविधा दिएकोमा कोरोना महामारीका कारण अस्थायी रुपमा सेवा बन्द गरेको थियो । सोही सेवालाई फुनः सुरु गरिएको बैंकले जनाएको छ ।

व्यवसायिक रुपमा काम गर्ने आमाहरुका लागि बैंकमा सहयोगी र समावेशी वातावरण सिर्जना गर्न डे केयर सुविधा सुरु गरिएको बैंकले जनाएको छ । कर्मचारीहरुको समयको बचत तथा ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकाका लागि सही हेरचाह खोज्ने तनाव कम गर्न डे केयरले सहयोग पुग्ने बैंकको विश्वास छ ।

क्रेच स्थापनादेखि लिएर मर्मत तथा मासिक खर्च बैंकले नै व्यहोर्नेछ । यो सुविधा नयाँ तरिकाले काम गर्ने वातावरण सिर्जना गर्न र उत्पादनशील काम गर्ने अभिभावकका लागि एउटा महत्वपूर्ण कदम हुने बैंकको बसझाई छ ।

महिला कर्मचारीलाई आफ्नो व्यावसायिक यात्रालाई निरन्तरता दिन यस किसिमको सुविधा सञ्चालन गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमै पहिलो बैंक रहेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकमा सञ्चालनमा ल्याइएको डे केयर सुविधा सबै कार्यदिनहरुमा खुला रहने र बालबालिकाहरुलाई सुरक्षित, प्रगतिशील र रमाइलो वातावरणमा विभिन्न गतिविधिमा संलग्न गराइने बैंकले जनाएको छ । उनीहरुलाई ग्याजेटहरुबाट टाढा रहन र खेल तथा अन्य गतिविधिमार्फत एक अर्कासँग थप अन्तरकृया गरी स्वतन्त्र र अनुशासित बनाउन जोड दिइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।