त्रिभुवन विमानस्थलमा यात्रुको स्वागत र विदाईमा ३ जनाभन्दा बढी नजान आग्रह


नागरिक उड्डयन प्राधिकरणले आन्तररिक तथा बाह्य उडानको चाप बढिरहेको अवस्थामा यात्रुको स्वागत तथा विदाईमा आउनेहरुलाई ३ जनाभन्दा बढीको संख्यामा नआउन आग्रह गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरुको संख्या बढ्दो क्रममा रहेको र आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिरको स्थानको सिमितताका कारण भिडभाड बढेको भन्दै यस्तो आग्रह गरेको हो ।

आन्तरिकतर्फ हवाई यात्रा गर्नेहरुको संख्या दिनहु बढिरहेको छ भने सेवा प्रदायकहरु पनि समय तालिका मिलाउने दवाबमा छन् । अन्तर्राष्ट्रिय उडानतर्फ पनि विदेशिनेको संख्या दिनहुँ बढिरहेको छ ।

ब्यस्त समयमा यात्रुलाई विदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको भिडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाई भएको कार्यालयको भनाई छ । साथै प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरुको सहज आवतजावतमा अवरोध सृजना भई यात्रु सेवा सुविधा प्रवाहमा समेत प्रतिकुल असर परिरहेको कार्यालयले जनाएको छ । यस्ता समस्या तथा चुनौतिलाई मध्यनजर गर्दै अब उप्रान्त विदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको प्रवेशलाई न्युनिकरण गर्न आवश्यक देखिएको भन्दै कार्यालयले एक जना यात्रुका लागि बढीमा ३ जना मात्र आफन्तजन आएर स्वागत तथा विदाई गरी भिडभाड नियन्त्रणमा सहयोग गरिदिन भनेको हो ।

विमानस्थल सुरक्षा समितिको निर्णय अनुसार विमानस्थलको हाताभित्र हुने भिडभाड नियन्त्रणमा सहयोग मागिएको कार्यालयले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।