ऋषिड गाउँपालिका–३ सोलुङका लालकुमार गरङ्जा मगरले मौरी सहितको घार र मह बिक्रीबाट ११ लाख रुपैयाँ आम्दानी गरेका छन् । आफूले एक वर्षको अवधिमा मौरीसहितको घारबाट १० लाख रुपैयाँ र मह बिक्रीबाट १ लाख बराबर रुपैयाँको आम्दानी गरेको उनले जनाए ।
तीन वर्षअघि मौरीपालन फर्म दर्ता गरी व्यवसायमा लाग्नुभएका किसान मगरले मौरीसहितको घार १० हजार रुपैयाँमा बिक्री गर्ने गरेको जानकारी दिए । यसवर्ष मह उत्पादन कार्यलाई भन्दा मौरीसहितको घार बिक्रीलाई प्राथामिकता दिइएका कारण मह उत्पादन घटेको भएको उनले बताए ।
मह प्रतिमाना १ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । फार्ममै आएर मानिसले मह लैजाने गर्दा बिक्रीका लागि बजारको कुनै समस्या छैन्, किसान मगरले भने “आउँदा वर्षमा मह उत्पादन कार्यलाई प्राथामिकता दिने सोच बनाएको छु ।” सुरुमा ३ लाख रुपैयाँ खर्च गरेर सेरेना जातको मौरी पाल्न थालेको उनले राम्रै आम्दानी गरी घरखर्च र बैकको किस्ता तिर्नसमेत सहज भएको बताए ।
यतिबेला किसान मगरकोे फार्ममा १०० हाराहारीमा मौरीका घार छन् । मौरीपालनबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले स्वदेशमै बसेर परिश्रम गर्न सक्ने हो भने पैसा कमाउन विदेशिनु पर्दैन भने । सदरमुकाम दमौलीमा करिब पन्ध्रवर्ष फर्निचरको शोरुम राखेर व्यापार गरेका कृषक मगर खासै उपलव्धि नभएपछि उक्त व्यवसाय छाडेर वैकल्पिक पेसाको रुपमा मौरीपालनतर्फ लागेको हो ।
मौरीपालन व्यवसायमा काम गर्न सजिलो हुने, थोरै लगानी भए पुग्ने, शारीरिक कसरत गर्न नपर्ने र थोरै जनशक्तिले काम गर्न सकिनेजस्ता कार्यले आफू यसतर्फ आर्कर्षित भएर लागेको उनले बताए । यसवर्ष लक्ष्यअनुसारको आम्दानी गर्न सफल भएको छु, किसान मगरले भने,“आगामी बर्ष अझ यस व्यवसायलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने योजनामा लागेको छु ।”
मौरीपालन व्यवसायमा घरपरिवारले पनि साथ दिँदा काम गर्न सहज हुनाका साथै अघि बढ्न थप हौसला मिलेको उनले जानकारी दिए । आफूले व्यवसाय थालेको तीन वर्ष वितिसक्दा पनि कुनै पनि निकायबाट अनुदान पाउन नसकेको हुँदा किसानलाई टिकाउन स्थानीय सरकारले अनुदान कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने किसान मगरको गुनासो थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया