फलफूलमा कोशी र मसलामा सुदूरपश्चिमको ‘लिड’, खाद्यान्नमा मधेश प्रदेश

0
Shares

चालु आर्थिक वर्षको पुससम्ममा फलफूल उत्पादनमा कोशी प्रदेशले नेतृत्व गरेको छ । यस प्रदेशले कुल फलफूल उत्पादनको साढे २२ प्रतिशत हिस्सा ओगट्दै ‘लिड’ गरेको हो ।

चालु आवको पुससम्ममा देशमा कुल ९ लाख ६६ हजार ३ सय ९८ मेट्रिक टन फलफूल उत्पादन भएको छ । उक्त उत्पादनमा कोशी प्रदेशको मात्र २२.५ प्रतिशत हिस्सा रहेको छ । सो अवधिमा कोशी प्रदेशमा मात्रै २ लाख १७ हजार ७ सय ४४ मेट्रिक टन फलफूल उत्पादन भएको छ ।

चालु आवको पहिलो ६ महिनामा मधेश प्रदेशमा २ लाख ६ हजार, जाग्मती प्रदेशमा एक लाख ४ हजार, गण्डकी प्रदेशमा एक लाख २० हजार, लुम्बिनी प्रदेशमा एक लाख २३ हजार, कर्णाली प्रदेशमा एक लाख १२ हजार र सुदुर पश्चिम प्रदेशमा ८१ हजार मेट्रिक टन फलफुल उत्पादन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी चालु आवको सो अवधिमा सातवटै प्रदेशबाट कुल ४ लाख ४ हजार ९ सय ८६ मेट्रिक टन मसला उत्पादन भएको छ । सो कुल उत्पादनमा सुदुर पश्चिम प्रदेशको मात्र १९.४ प्रतिशत हिस्सा रहेको छ । सो अवधिमा सुदुरपश्चिममा मात्र ७८ हजार ७ सय ६४ मेट्रिक टन मसला उत्पादन भएको छ ।

चालु आर्थिक वर्षको पुससम्ममा देशका सातवटै प्रदेशबाट कुल एक करोड ५८ लाख ८१ हजार मेट्रिक टन खाद्य तथा अन्य बालिको उत्पादन भएको छ । सो कुल उत्पादनमा मधेश प्रदेशको सबैभन्दा धेरै २३.४ प्रतिशत हिस्सा रहेको छ । सो अवधिमा मधेश प्रदेशबाट मात्रै ३७ लाख २० हजार मेट्रिक टन खद्य तथा अन्य बाली उत्पादन भएको छ ।

चालु आवको सो अवधिम कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी र फलपूmल तथा मसला) को कुल उत्पादन ४.३ प्रतिशतले बढेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । गत आवको सोही अवधिमा यस्ता बालीको उत्पादन ०.१ प्रतिशतले घटेको थियो ।

चालु आवमा खाद्य तथा अन्य बालीको उत्पादन ५.७ प्रतिशतले बढेको छ भने गत वर्ष यस्तो उत्पादन ०.४ प्रतिशतले घटेको थियो। समग्र कृषि बालीको उत्पादनमा धान बालीको उत्पादन हिस्सा सबैभन्दा बढी २६.८ प्रतिशत रहेको छ । यसैगरी मकै र धान बालीको उत्पादनको समग्र कृषि उत्पादनमा क्रमशः १५.६ र १०.२ प्रतिशत रहेको छ ।

खाद्य तथा अन्य बालीको उत्पादनमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २३.४ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.१ प्रतिशत रहेको छ । तरकारी तथा बागवानी उत्पादनमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २९.८ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.८ प्रतिशत रहेको छ ।

त्यस्तै, फलफूल बालीको उत्पादनमा कोशी प्रदेशको हिस्सा सबैभन्दा बढी २२.५ प्रतिशत रहेको छ भने सुदूर पश्चिम प्रदेशको हिस्सा सबैभन्दा कम ८.५ प्रतिशत रहेको छ । मसला बालीको उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा सबैभन्दा बढी १९.४ प्रतिशत रहेको छ भने गण्डकी प्रदेशको हिस्सा सबैभन्दा कम ८.४ प्रतिशत रहेको छ ।

सो अवधिमा तरकारी उत्पादन ४.५ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा तरकारी उत्पादन ०.९ प्रतिशतले घटेको थियो । त्यसैगरी फलफूल बालीको समग्र उत्पादन ५.२ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन ६.५ प्रतिशतले बढेको थियो । मसला बालीको समग्र उत्पादन पनि ८.४ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन ४.७ प्रतिशतले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।