नेपालको निर्यात क्षमता ४२ अर्बले घट्यो, आयात घट्दा ब्यापार घाटामा पनि सुधार

0
Shares

चालु आर्थिक वर्ष २०७९/८० को ११ महीनाको अवधिमा नेपालले विदेशमा निर्यात गर्ने वस्तु तथा सामानको निर्यात घटेको छ । भन्सार विभागको तथ्यांकलाई केलाउँदा गत आवको तुलनामा ४२ अर्ब २५ करोड धेरैले चालु आवमा निर्यात घटेको हो ।

नेपालले चालु आवको साउनदेखि जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँ बराबारको निर्यात गरेको छ । गत आवको साउनदेखि जेठ मसान्तसम्म विभिन्न देशहरुमा १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँ बराबारको सामान निर्यात गरेको थियो । पछिल्लो एक वर्षको अवधिमा ४२ अर्ब २५ करोड ४ लाख ७४ हजार रुपैयाँ कम वस्तु तथा सामान नेपालबाट निर्यात भएको हो ।

चालु आर्थिक वर्षको ११ महीनामा भएको निर्यात गत वर्षको सो अवधिको तुलनामा २२.७४ प्रतिशतले घटेको हो । चालु आवको कुल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँको वस्तु आयात भएको छ । एक वर्षको अवधिमा कतिपय वस्तुको निर्यात बढेको छ भने कतिपयको निर्यात घटेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महीना (साउनदेखि जेठसम्म ) अवधिमा जनावरको गलैँचा, अप्रशोधित पाम आयल, सोयाबिन तेल, अलैँची, प्रशोधित पाम आयल, मिक्स जुस, ऊनजन्य कपडा, ऊनी, फेल्ट, एक र पोलिस्टरबाट धागोबाट बनेका कपडा, रोल्ड स्टील/आइरन, चिया, टेक्सटाइल, कुकुर वा बिरालाको खाना र रौबाट निर्मित सल–स्कार्प र मफलर जस्ता वस्तुहरुको निर्यात बढी भएको देखिएको छ ।

अलैँची सहित यी प्रमुख वस्तुको निर्यात बढ्यो

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महीनामा अलैँची निर्यात गत आर्थिक वर्षको तुलनामा सबैभन्दा धेरैले वृद्धि भएको छ । गत आवको तुलामा अलैँची निर्यात ३ अर्ब १४ करोड ५३ लाख रुपैयाँले बढेको हो ।

गत आवको एघार महीनामा ४ अर्ब ५५ करोड ६६ लाख ५ हजार रुपैयाँ बराबरको निर्यात भएकोमा यो वर्ष ७ अर्ब ७० करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस्तै रोल्ड फलाम र इस्पातको निर्यात पनि यस अवधिमा २ अर्ब ३३ करोड ५९ लाख रुपैयाँ बढेर ३ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । साथै गलैँचाको निर्यात १ अर्ब ७३ करोड ९२ लाख ८० हजार रुपैयाँले बढेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा १० अर्ब ३२ करोड ४६ लाख ६६ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ८ अर्ब ५८ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कार्पेट निर्यात भएको थियो ।

यसैगरी साउनदेखि ३ अर्ब ३५ करोड ५४ लाख ४६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा चिया निर्यात ५४ करोड ३८ लाख ७२ हजारले बढेको हो । चियापछि २ अर्ब ९६ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको कुकुर वा विरालोका लागि खाना निर्यात भएको छ । अघिल्लो आवको तुलनामा चालु आवको एघार महीनामा ३८ करोड ६१ लाख रुपैयाँ धेरैको कुकुर वा विरालोका लागि खाना निर्यात भएको हो ।

चालु आवको जेठसम्ममा मिक्स जुसको निर्यात ३८ करोड ५३ लाख १४ हजार र जनावरको रौं वा ऊनबाट निर्मित सल–स्कार्प र मफलरको निर्यात ३६ करोड ८५ लाख ९४ हजार रुपैयाँले बढेको छ । जेठसम्म ४ अर्ब ३७ करोड ४६ लाखको मिक्स जुस र २ अर्ब ६९ करोड ९६ लाख रुपेयाँ बराबरको जनावरको रौबाट निर्मित सल–स्कार्प र मफलरको निर्यात भएको छ ।

सोयाबिन तेल सहित यी प्रमुख वस्तुको निर्यात घट्यो

चालु आर्थिक वर्षको एघार महीना अवधिमा सोयाबिन तेलको निर्यात सबैभन्दा धेरै ३८ अर्ब ११ करोड रुपैयाँले घटेको छ । चालु आवको जेठसम्म नेपालले ८ अर्ब ४७ करोड ५९ लाख ८४ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको निर्यात गरेको छ । गत आवको सोही अवधिमा ४६ अर्ब ५८ करोड ७० लाख ४७ हजार रुपैयाँको सोयाबिन तेल निर्यात भएको थियो ।

यस्तै गत आर्थिक वर्ष २०७८–७९ को एघार महीनाको तुलनामा चालु आर्थिक वर्ष २०७९–८० को सोही अवधिमा पाम आयालको निर्यात पनि १५ अर्ब ३१ करोड ६८ लाख ३४ हजार रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको जेठसम्ममा २४ अर्ब ६४ करोड १९ लाख ९६ हजार रुपैयाँको बराबरको अप्रशोधित पाम आयालको निर्यात भएकोमा चालु आवको सोही अवधिमा घटेर ९ अर्ब ३२ करोड ५१ लाख ६२ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको हो ।

यस्तै प्रशोधित पाम आयालको निर्यात पनि ४ अर्ब २५ करोड २२ लाख ८ हजार रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा १४ अर्ब ४७ करोड ७ लाख १६ हजार रुपैयाँ बराबरको पाम आयल निर्यात भएकोमा चालु आवको सोही अवधिमा १० अर्ब २१ करोड ८५ लाख ८ हजार रुपैयाँ बराबरको मात्र प्रशोधित पाम आयल निर्यात भएको छ ।

भारत सरकारले सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य बनाएपछि नेपालबाट निर्यात हुने परिमाण घटेको हो । यसअघि अन्य अन्य देशबाट भारतमा खाने तेलको कच्चा पदार्थको आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन थियो । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शुन्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । तर हाल सबैतिरबाट शुन्य भन्सारमा आयात हुने बाटो खुलेसँगै यस्ता वस्तुहरुको निर्यात उच्च दरमा घटेको हो । भारतले सोयाबिन, पाम तेलमा भन्सार महसुल घटाएपछि निर्यातमा ठूलाे गिरावट आएको विज्ञहरु बताउँछन् ।

चालु आवको जेठसम्ममा टेक्साटाइलबाट निर्मित कपडाहरु निर्यात पनि १ अर्ब ९० करोड ६३ लाख ६ हजार रुपैयाँले घटेको छ । जेठसम्म ३ अर्ब ३३ करोड ६२ लाख ९५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा ५ अर्ब २४ करोड २६ लाख हजार रुपैयाँ बराबरको टेक्साटाइलबाट निर्मित कपडाहरुको निर्यात भएको थियो । यस्तै जेठसम्म ३ अर्ब ४७ करोड १ लाख रुपैयाँ बराबरको एकल धागोबाट बनेका कपडा निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४८ करोड २५ लाख रुपैयाँ कम हो ।

आयात घटेसँगै व्यापार घाटामा पनि सुधारउन्मुख

मुलुकभित्र भित्रने वस्तुको समग्र आयात घटेसँगै चालु आर्थिक वर्षको ११ महीनामा मुलुकको कुल व्यापार घाटामा पनि २ खर्ब ४० अर्ब रुपैयाँले सुधार भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १३ खर्ब ३७ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ ब्यापार घाटा रहेको छ । गत आर्थिक वर्षको पहिलो ११ महीनामा मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख रुपैयाँ थियो । आयात घटेसँगै ब्यापार घाटा पनि घटेको हो ।

गत वर्षको आर्थिक वर्ष २०७८/७९ को एघार महीनामा कुल १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रुपैयाँको वस्तु आयात भएकोमा चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँको वस्तु तथा सामान मात्र आयात भएको छ । गत आवको तुलनामा आयात २ खर्ब ८२ अर्ब २४ करोड १९ लाख रुपैयाँले घटेको तथ्याङ्क हो ।

व्यापार घाटा उच्च दरले बढेर विदेशी मुद्राको सञ्चिति निरन्तर घटेपछि नेपाल राष्ट्र बैंकले २०७९ बैशाख १५ देखि निजी सवारी साधनदेखि मोटरसाइकल, मोबाइल फोन, टेलिभिजन लगायत एक दर्जन वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो । उक्त समयमा सरकारले सबै प्रकारका तयारी मदिरा र कुरकुरे, लेज र यस्तै उत्पादनहरुमाथि पनि आयातमा प्रतिबन्ध लगाइएको थियो । उच्च आयातले वैदेशिक मुद्रा सञ्चिति घट्दै जान थालेपछि मदिरा र कुरकुरे, लेज आयात दशैंअघि र गाडी मोबाइल फोन, टेलिभिजन लगायतका वस्तुहरु २०७९ मंसिर मसान्त पश्चात खुला भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।