समस्याग्रस्त सुपर लघुवित्त सञ्चालनका लागी व्यवस्थापन समूह गठन गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था सञ्चालनका लागी व्यवस्थापन समूह गठन गर्ने भएको छ । राष्ट्र बैंकले गत माघमा उक्त संस्थालाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

राष्ट्र बैंकको नियन्त्रणमा रहेको उक्त लघुवित्त संचालनको लागि व्यवस्थापन समूह गठन गर्नका लागि राष्ट्र बैंकले एक जना संयोजक र एक जना सदस्यगरी दुई कर्मचारी माग गरेको छ । संयोजक पदको आवेदनका लागी तोकिएको विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा ५ बर्ष काम गरेकोे हुनुपर्ने छ ।

यस्तै सदस्य पदको आवेदन दिनेले तोकिएको विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा वा लेखासम्बन्धी कार्यमा न्यूनतम ३ वर्षको कार्य अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले साउन ३ गतेभित्र आवेदन दिन सक्नेछन् । दरखास्त फाराम छनोट समितिको सचिवालय, बालुवाटारमा पेस गर्नुपर्ने छ । दरखास्त दिने अन्तिम मितिमा उम्मेदवार ६५ वर्ष ननाघेको हुनु पर्नेछ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले लघुवित्तलाई २०७९ भदौ २२ गते समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी दिने संस्था तथा लगानीकर्तासमेत समस्यामा पर्ने देखिएपछि केन्द्रीय बैंकले २०७९ माघ २२ गते नियन्त्रणमा लिएको थियो ।

लघुवित्तमा राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०७८ साल कात्तिक ७ देखि कात्तिक १२ गतेसम्म समष्टिगत स्थलगत निरीक्षण र २०७८ मंसिर १३ गतेदेखि १६ गतेसम्म गरेको विशेष निरीक्षण गरेको थियो । उक्त निरीक्षण प्रतिवेदनको आधारमा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्न प्रस्ताव गरिएको थियो । लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्नुअघि किन समस्याग्रस्त घोषणा नगर्ने भनेर स्पष्टिकरण समेत सोधिएको थियो ।

स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त लघुवित्तलाई समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको थियो ।

संस्थाको बचतका साथै आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर छ । २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४ दशमलव ३० प्रतिशत र पुँजीकोष ३२ दशमलव ६५ प्रतिशतले ऋणात्मक रहेको देखिएको पनि बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।