पहिरोले कान्तिलोकपथ अवरुद्ध


काठमाण्डौं–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाण्डौं–हेटौँडा यातायात अवरुद्ध भएको छ ।

मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

यता हेटौँडाबाट काठमाण्डौंका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेको छ । चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाण्डौं प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।