पुनर्बीमा कम्पनीको बोनस पारित

0
Shares

नेपाल पुनर्बीमा कम्पनीको आठौं वार्षिक साधारण सभाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

कालिका स्थानस्थित अमृतभोग ब्याङक्वेटमा शुक्रबार सम्पन्न भएको सभाले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव अनुमोदन गरेको हो । बोनसपछि कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० कायम गर्दै सोही अनुसार प्रबन्धपत्रको दफा संशोधन गरेको छ।

सभाले आर्थिक वर्ष २०७८-७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

यस्तै बाह्य लेखापरीक्षकमा टिआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, लालदरबार, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा शेखर बराल र दिनुका पोख्रेललाई प्रतिनिधित्व गर्नेगरी सञ्चालक निर्वाचित गरेको छ ।

सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन, प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेर बदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।