भारतीय सेयरबजारमा हरियाली, सेन्सेक्स ६५ हजार विन्दुको नयाँ उचाइमा

0
Shares

साताको पहिलो दिनमा नै भारतीय लगानीकर्ताको मनोबल उच्च हुँदा सेयरबजारमा हरियाली छाएको छ । सोमबार भारतीय सेयरसूचांक ‘बीएसई सेन्सेक्स’ ६५ हजार १६८ को नयाँ उचाइमा पुगेको हो ।

आइतबार बिदा पछि सोमबार खुल्ला भएको भारतीय सेयर बजारको प्रि–ओपनिङ मै बीएसई सेन्सेक्स ६५ हजार १६८ विन्दु पुग्दै इतिहासकै नयाँ उचाइमा पुगेको हो । यसअघि सेन्सेक्स सूचांक सन् २०२३ जुन २१ तारिखमा भारतीय सेयरबजार ६३ हजार ५८३ विन्दुमा पुगेको थियो ।

यस्तै निफ्टी सूचांक पनि सेन्सेक्सकै लय समात्दै उकालो चढिरहेको छ । सोमबार प्रि–ओपनिङ मै निफ्टी सूचांक १९ हजार १८९ विन्दुमा पुगी कारोबार भइरहेको छ। २१६.९५ विन्दु बढेर निफ्टी सूचांक ऐतिहासिक उचाइमा पुगेको हो । वित्तीय कम्पनी, उर्जा कम्पनी तथा आइटी कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा सेन्सेक्स र निफ्टी दुवै सेयर सूचांकले नयाँ ऐतिहासिक उचाइमा पुगेका हुन् ।

भारतीय सेयरबजारमा अधिकांश लगानी बाह्य लगानीकर्ताले गर्दै आएका छन् । सन् २०२३ को पहिलो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि दर वल्र्ड बैंक तथा अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अनुमान गरेको भन्दा धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ ।

विश्व अर्थतन्त्र अन्यौलता तर्फ लम्किएकाृ समयमा अमेरिकाको पहिलो त्रैमासको आर्थिक वृद्धि दर २ प्रतिशत रहेको छ । अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले ब्याजदर बढाउने शिलशिला बन्द गरेको छ । हर्षित बनेका लगानीकर्ताहरुले लगानी बढाउँदा भारतीय सेयरबजारका दुवै सेयरसूचांक नयाँ विन्दुमा पुगेका हुन् ।

भारतीय सेयरबजार मात्र नभई सोमबार एशियाली सेयरबजारमा समेत हरियाली देखिएको छ । जापानको सेयर सूचांक निकेई १.७ प्रतिशत, हङकङको ह्याङस्याङ सूचांक २.०८ प्रतिशत र चीनको साङ्घाई कम्पोजीट सूचांक १.३१ प्रतिशतले बढेको छ । तथापि नेपालको सेयर सूचांक नेप्से ०.३५ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।