बैंकिङ प्रणालीको निक्षेप ५६ खर्ब नाघ्यो, बढ्दो तरलताले ब्याजदर अझै घट्ने

0
Shares

बैंकिङ प्रणालीको निक्षेप हालसम्मकै उच्च ५६ खर्ब भन्दा माथि पुगेको छ । आर्थिक गतिविधिमा आएको सुस्ततासंगै बजारमा मागको कमी भएसंगै वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको हो ।

पछिल्लो समयमा व्यापारिक क्षेत्रको पैसा पनि बैंकिङ क्षेत्रमा आएको, रेमिट्यान्समा सुधार संगै सरकारी खर्च पनि बढ्न गएपछि बैंकिङ प्रणालीको निक्षेपमा सुधार आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्ममा बैंकिङ प्रणालीको कुल निक्षेप ५६ खर्ब ८ अर्ब पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ असारमसान्तमा बैंकिङ प्रणालीको कुल निक्षेप ५१ खर्ब ५९ अर्ब थियो । २०७९ साउन देखि असार १६ गतेसम्ममा बैंकिङ प्रणालीमा ४ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । यो निक्षेपको वृद्धि करिब ९ प्रतिशत हो । तर, यो अवधिमा कर्जा भने एक खर्ब ४८ अर्ब रुपैयाँले मात्र बढेको छ । यो कर्जा वृद्धिदर ३.१३ प्रतिशत हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत आर्थिक वर्ष २०७९÷८० मा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ८ प्रतिशतसम्मले वृद्धि हुने अनुमान गरेको छ । तर, चालु आर्थिक वर्षको असार १६ गतेसम्मको तथ्याङक हेर्दा कर्जा प्रबाह ८ प्रतिशत वृद्धि हुने अवस्था देखिदैन । बैंकिङ्ग क्षेत्रको कर्जा प्रवाह क्षमतामा केही सुधार भए पनि आर्थिक तथा गैरआर्थिक कारणले कर्जा माग प्रभावित हुँदा मौद्रिक विस्तारको तुलनामा कर्जा प्रवाह भने न्यून भएको केन्द्रीय बैंकले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले भने निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

असार महिनामा सामान्यतया बैंक वित्तीय संस्थाले कर्जा लगानी भन्दा पनि असुलीमा केन्द्रीत हुन्छन । त्यसैगरी सरकारी खर्च पनि आर्थिक वर्षको अन्तिम महिना असारमा धेरै हुने भएकाले पनि अहिले निक्षेप बढेको हो ।

चर्को ब्याजदरका कारण कर्जाको मागमा सुस्तता आएको छ भने ब्याजदरका कारण कर्जाको भुक्तानी समेत बढेको हुनाले पनि कर्जामा कमी आएको बैंकहरुको बुझाइ छ ।

चालु आर्थिक वर्षको असार १६ गतेसम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेप संकलन ५६ खर्ब ८ अर्ब रहेको छ । यो अवधिको कुल कर्जा ४८ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । असार १६ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ५१ अर्ब रहेको छ । त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६ खर्ब ५७ अर्ब रुपैयाँ छ ।

यो वाणिज्य बैंकहरुको मात्र कर्जा लगानी ४३ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी अन्य बैंक वित्तीय संस्थाको कर्जा लगानी ५ खर्ब ५८ अर्ब रुपैयाँ छ ।
वित्तीय प्रणालीमा निक्षेप बढेसंगै बैंक तथा वित्तीय संस्थाको औसत कजाृ निक्षेप अनुपात पनि घटेर ८३.५५ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपातको सीमा ९० प्रतिशत रहेको छ । यसलाइ हेर्दा पनि बैंक वित्तीय संस्थाको कर्जा लगानी गर्ने क्षमता प्रयाप्त रहेको देखिन्छ ।

त्यसैगरी बैंकिङ प्रणालीमा निक्षेप बढेसंगै अन्तर बैंक दर पनि घटेको छ । केही दिन अघि २.६५ प्रतिशतमा झरेको अन्तर बैंक दर गत साता बढेर ५ प्रतिशत पुगेको थियो । यो साताको सुरुवातीमा अन्तर बैंक दर पनि घटेर ३.५७ प्रतिशतमा झरेको छ । केन्द्रीय बैंकले ट्रेजरी बिल्स तथा रिभर्स रिपो मार्फत तरलता प्रसोचन गरेपछि अन्तर बैंक दर बढेको थियो । सरकारी खर्च बढेसंगै बैंकिङ प्रणालीमा पुन निक्षेपमा आएको सुधारले अन्तर बैंक दर घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।